-शिवजी तिवारी
जीवन यात्रा,मेरा निम्ति यात्राभित्रको यात्रा निकै यादगार हुने गर्दछन्। यात्रा एक त घुम्न पाउने, त्यो पनि आफूले रोजेको ठाउँमा। भिन्न भिन्न उमेर समूहका साथीहरू। योभन्दा काइदाको कुरा के होला ? चैत्र ३ देखि ७ गतेसम्मको पश्चिमको यात्रा यस्तै यादगार बन्यो। बिहीबार बिहान ५:३० बजे माउन्ट एभरेस्ट आ.मा.बि बाट सुदूर पश्चिमको टनकपुर र यात्रामा आउने केही महत्त्वपूर्ण धार्मिक स्थलको भ्रमण सुरु गरियो। महाकाली सन्धि, एक विवादास्पद सम्झौता जसको कारण हाम्रो राज्यको भूमिमा छिमेकीले अतिक्रमण गरेको स्थान टनकपुरको यात्रा।
टनकपुरको नाम सुन्ने बित्तिकै मेरो शरीरमा अचम्मको ज्वालाले पोल्न थाल्यो। आफ्नो विद्यार्थी जीवनमा गरेका आन्दोलन र आन्दोलनको क्रममा भएका विभिन्न घटनाहरू मेरो मानसपटलमा गोलमटोल ढङ्गले छल्न थाले। देशमा असमान सन्धि सम्झौताले निम्ताउने क्रूर घटनाको शृङ्खला रोकिएका छैनन्। यस्तो बर्बरताविरुद्ध नागरिक समाज तथा विद्यार्थीको र्याली तथा जुलुस भइरहे पनि त्यसले मात्र केही भइरहेको छैन, जरुरी छ, राजनीतिकै पुरातन वादी सोच सुधार्न।
यही सोचले डेरा जमाएको मेरो मनमा ऐतिहासिक स्थानको भ्रमणले केही राहत महसुस त हुन्छ तर दीर्घकालीन समाधान त पक्कै पनि दिँदैन। यात्राको क्रममा फगत घुम्ने मात्रै नभएर त्यहाँको ऐतिहासिकताको बारेमा ज्ञान लिएर आम जनतामा वास्तविकताको आभास गराउने अठोट बोकेर हिँड्ने म, समूहमा पनि एक्लै र एक्लै हुँदा पनि समूह यस्तै अन्तरद्धन्द्धमा रुमाली रहेको थिए। युवा पुस्ता रोमाञ्चक विद्रोही यात्राको पारखी हुन्छन्। यही सोख सुहाउँदो स्थान हो, कञ्चनपुरको टनकपुर। सुदूरपश्चिम प्रदेशको भारतसँगको सीमाना टनकपुर खासमा , महाकाली संन्धी अघि नेपाल हो। यहाँको प्रमुख आकर्षण हो, महाकाली बाँध, त्यहाँबाट नष्ट गरिएको दशगजा सीमा स्तम्भ, नेपालतर्फ सिँचाइको निम्ति निर्माण गरिएको नहर आदि।
विं.सं.२०५२ साल माघ २९ गते भारतको राजधानी नयाँ दिल्लीमा नेपाल र भारत सरकारबीच विवादास्पद महाकाली सन्धि भएको थियो। शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई एकीकृत रूपमा विकास गर्ने गरी भएको द्वि देशीय यो सम्झौताले नेपालको राजनीतिमा राष्ट्रवादको खोल ओढ्ने सिवाय अरू केही भएको छैन। सम्झौता गर्दा बराबरीको सिद्धान्तअनुसार गरिएको भनिएको थियो। तर, सोही भूभागमा पुगेर अवलोकन गर्दा भारतले अहिलेसम्म बराबरी हैसियत दिएको देखिएन। बरु उल्टै भारतको ज्यादती नै ज्यादती रहेछ। शारदा बाँधमा दुवै देशतर्फ सिँचाइको निम्ति नहर निर्माण गरिएको रहेछ। नेपालतर्फ आउने नहरको उचाइ बढी भएको कारण धेरै पानी परेको बेला मात्रै नेपालतर्फ पानी आउने रहेछ। सुख्खा समयमा भारततर्फको मात्रै नहर खोलिने रहेछ।
यस कारण नेपालतर्फको सयौँ बिगाहा जमिन सुख्खा हुने समस्या विकराल रहेछ। स्थानीय बासिन्दासँग बुझ्दा,बर्खा याममा भारततर्फ जाने नहरको ढोका बन्द गरिदिँदा गड्ढा चौकी भन्दा केही तलबाट भारतसम्म महाकाली नदिको किनारमा निर्माण गरिएको, पर्यटकीय दृष्टिले निकै महत्त्व राख्ने नेपालको भाइरल रोड बगाएको रहेछ। भारतको मनोमानीको कारण बर्सेनि दोदरा चाँदनी डुबानमा पर्ने रहेछ। यति मात्रै नभएर नेपालका बालुवा गिट्टी लिन गएका भ्याकुर, ट्रक बगाउने रहेछ। थोरै पनि मानवीयता ख्याल नराखी बाँध खोल्ने बन्द गर्ने हुँदा शव जलाउन गएका मलामी हताहत हुने रहेछन्। प्रत्येक साल इन्डियन बोडर नेपालतर्फ सार्ने र ज्याजतिको बारेमा आवाज उठाउँदा इन्डियन अर्धसैनिकद्वारा हातपात हुने,वैदेशिक रोजगारबाट फर्किने नेपालीलाई लुट्ने, गाईबस्तु, भैँसी, बाख्रा रातको समयमा आएर लुटपाट गर्ने आदि हुँदै आएको रहेछ।
यी कुरा जान्दा त्यहाँका स्थानीयसँग नेपालका प्रमुख भनिएका दल चुनावमा कुन नाक लिएर भोट माग्लान्रु अहिलेका नेकपा एमाले अध्यक्ष केपी ओलीको संयोजकत्वमा महाकाली सन्धिको ड्राफ्ट नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, नेकपा एमालेका माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पशुपति शमशेर राणा सम्मिलित टिमले तयार पारेको थियो। अहिलेको लिपुलेक र लिम्पियाधुराको विवाद पनि यही सम्झौताबाट सुरु हुन्छ। भारत जस्तो महत्त्वाकाङ्क्षी र उदाउँदो शक्ति राष्ट्रले छिमेकबाट फाइदा लिइहालूँ भन्ने आकाङ्क्षा राख्नु अनौठो होइन। महाकाली सन्धि गर्दा भारतले लिपुलेक, कालापानी तलतिरबाट खनेको खाल्डोबाट निस्कने नक्कली खोल्सालाई महाकाली नदिको मुहान स्वीकार गरेर महाकाली सन्धि गरेपछि इन्डियाले अहिले निहुँ खोज्ने कारण यही नै हो। यो सन्धि भन्दा अगाडि ईण्डियनहरूले सो क्षेत्र अतिक्रमण गरे पनि आफ्नो भनेर दाबी गरेको रेकर्ड छैन। मातृका कोइरालाले कोसी, बिपीले गण्डकी, गिरिजाबाबुले टनकपुर भारतलाई दिएर आफ्नो मुलुकलाई नोक्सानी पुर्याए। महाकाली सम्झौता गरेर घात गरेका केपी ओलीले चुच्चे नक्साको प्रवक्ता बन्नु हास्यास्पद सिवाय अरू केही होइन।
अझै गहिरिएर भन्दा विं.सं.२०५४ मा यही महाकाली सम्झौता राष्ट्रघाती हो भन्दै एमाले फुटाएर माले बनाएका वामदेव, सिपीहरूलाई काँग्रेससँगको मिलेमतोमा पत्ता साप गरेकोबाट नै एमालेको वास्तविक राष्ट्रवादको मुखुण्डो उदाङ्गो हुन्छ। ओलीले अर्घेल्याई गरेर महाकाली सम्झौतामा एमालेलाई नधकेलेको भए सायदै सांसदबाट महाकाली सम्झौता पारित हुने थिएन। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय दबाब र नेपाली जनताको सचेत प्रयत्नबाट भारत अवश्य पनि पछाडि हट्ने थियो। समग्रमा भन्दा टनकपुरको राष्ट्रघातीलाई वैधानिक मान्यता दिने ‘महाकाली प्याकेज’ को अवधारणा ल्याई राष्ट्रियता जस्तो संवेदनशील विषयसँग भारतीयहरूको वचनको पक्का देखिन। १ खर्ब २० अर्ब बर्सेनि आम्दानी हुने र सेट लाइटबाट विदेशीलाई बिजुली बेच्नेजस्ता हावादारी कुराबाट जनता र कार्यकर्तालाई झुक्क्याउन खोज्दै नेपाललाई अहित हुने राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गर्ने केपी ओलीलाई जनताले कहिल्यै माफ गर्ने छैनन्। यो र यस्तै सम्झौता गर्ने छेपारा प्रवृत्तिका नेता कार्यकर्तालाई सामाजिक बहिष्कार गर्नुपर्छ।
अन्त्यमा, साना राष्ट्रले कुशल कूटनीतिको अनुसरण र सञ्चालन गरेमा नै राष्ट्रले बिना युद्ध र क्षति आफ्नो राष्ट्रिय हितलाई प्राप्त गर्न सक्छ। यसको सबैभन्दा बढी महत्त्व पनि यसै कुरामा निर्भर गर्दछ। कुशल कूटनीति नभएमा कि युद्धको सहारा लिनुपर्छ वा आफ्नो राष्ट्रिय हितलाई नै परित्याग गर्नु पर्ने स्थिति उत्पन्न हुन जान्छ।वर्तमान अवस्थामा परमाणु हतियारहरूको उपस्थितिले यसको खतराबाट मुक्त हुनु पनि रहेको छ। यसको साथै पर्यावरणीय सङ्कटको महाविनाशको स्थितिबाट विश्वलाई जोगाउन पनि कुशल कूटनीतिको आवश्यक कार्य भएको छ।त्यसैले कुशल कूटनीतिको अवलम्बन गरौँ, राष्ट्रको हितमा सबै लागि परौँ। सबैलाई शुभकामना।



लोकपाटी न्यूज

