स्याङ्जा। लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि स्याङ्जाको आँधी खोला गाउँपालिकाले पालिका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ।
विभिन्न शुभ कार्यका शुभ साइतका रूपमा लिइने बाजालाई लोप हुन नदिन पञ्चेबाजा संरक्षणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पञ्चेबाजा बजाउन सक्रिय दलित समुदायलाई पञ्चेबाजाको दुई वटा नरसिंह, दुई वटा सनही, दुई वटा दमाहा, एउटा ढोलकी, एउटा ट्याम्को र एउटा झ्याली वितरण गरेको गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले जानकारी दिए। पञ्चेबाजाको धुनले पर्यटकलाई आकर्षण गर्ने र यसबाट आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित बाजा वितरण गरिएको अध्यक्ष पौडेलले जानकारी दिए।
करिब ८ लाख रुपैयाँ लागतमा खरिद गरिएका बाजा विभिन्न वडामा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो। सिरुवारी बाजा समूह आँधी खोला १ ,माझकटेरी बाजा समूह आँधी खोला १, उखुबारी बाजा समूह आँधी खोला २, मडुवा नौमती बाजा समूह आधी खोला २, पाख्रीबोट बाजा समूह आँधी खोला ३, पचासे बाजा समूह आँधी खोला ४, सेपत बाजा समूह आँधी खोला ४, अरिङ्गाले बाजा समूह आँधी खोला ५ लाई बाजा उपलब्ध गराइएको हो।
अरिङ्गाले बाजा समूह आँधी खोला ५ का अध्यक्ष ठाकुर परियारले बर्सौँ पहिले खरिद गरेका बाजालाई मर्मत गरेर चलाउने गरिएको र नयाँ बाजा महँगो पर्ने भएकाले धेरै बाजा समूहले किन्न नसक्ने अवस्थामा रहेकोमा पालिकाले बाजा दिएपछि खुसी भएको व्यक्त गरे।
कार्यक्रममा बाजा वितरणसँगै प्रथम कार्यकालमा सम्पादित कार्यहरूको सङालो श्वेतपत्र बिमोचन तथा सार्वजनिक करण,विद्यालय स्वच्छ खानेपानी कार्यक्रम अन्तर्गत सम्पूर्ण विद्यार्थीहरूको लागि युरो गार्ड र पानी ट्याङ्की हस्तान्तरण साथै गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताए।



लोकपाटी न्यूज

