समाजवादी गणतन्त्र भियतनामका राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा समितिका सभापति एवं लेफ्टिनेन्ट जनरल भो ट्रोंग भिएतको नेतृत्वमा आएको नौ सदस्यीय प्रतिनिधि मण्डलले आज काठमाडौँमा उच्चस्तरीय भेटघाट गरेको छ।
भियतनामका लागि अवैतानिक बाणिज्यदुत राजेशकाजी श्रेष्ठको पहलमा भएको भेटघाटका क्रममा संघीय संसदका सभामुख कृष्णबहादुर महराले दुई देशको संसदीय मामला सम्बन्धमा सहकार्य गर्न सकिने कुरा उल्लेख गरे। सभामुख महराको कार्यकक्षमा भएको सो भेटमा उनले दुई देशको संसदका सबल पक्षहरुबाट एक–अर्का देशले सिक्न सकिने र प्रतिनिधि मण्डल आदान–प्रदानलाई अगाडि बढाउन सकिने बताए।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठसँग भएको भेटमा उनले भियतनामको प्रतिनिधि मण्डललाई भेटेर आफू प्रशन्न भएको बताइन्। दुईपक्षीय छलफलबाट भियतनामको राज्य व्यवस्था लगायत सुरक्षा मामला सम्बन्धि आफू अपडेट हुन पाएको कुरा उनले बताइन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भएको एक अर्को भेटमा अध्यक्ष तिमिल्सिनाले भियतनामको शासकीय पद्दति तथा संसद्को व्यवस्था र नेपालको संघीय व्यवस्थाबाट एक–अर्का देशले सिक्नसक्ने कुरा उल्लेख गरे। उनले महाशक्तिसँगको युद्धबाट अघि बढेर भियतनामले अर्थतन्त्र, विकास र सुरक्षाको क्षेत्रमा हासिल गरेको प्रगति प्रशंसनीय रहेको कुरासमेत बताए।
त्यस्तै, गृहमन्त्री राम बहादुर थापाले उक्त प्रतिनिधि मण्डलसँग कुरा गर्दै नेपालमा भियतनामबाट गर्दै आएको लगानीमा वृद्धि हुने अपेक्षा राखे । दुई देशको सुरक्षा चासोमा अध्ययन, अनुसन्धान गर्न सकिने कुरा समेत उनले उल्लेख गरे।
मन्त्री थापा लगायत त्यसअघि भएका सबै भेटहरुमा नेपाल बुद्ध भूमि भएकाले धार्मिक पर्यटन प्रबर्दनका माध्यमबाट नेपालको अर्थतन्त्र मजबुत पार्न सकिने धारणा व्यक्त गरेका थिए।



लाेकपाटी न्यूज

