साहित्य तथा साहित्यकार : एक विवेचना

Milan Afanta
लोकपाटी न्यूज
  • मिलन आफन्त

आदरणीय साहित्य प्रेमी महानुभावहरू नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित र शिव कुमार प्रधानद्वारा लिखित पुस्तक ‘साहित्य र साहित्यकार’लाई आधार बनाएर हामीले यो लामो लेख लेख्ने प्रयास गरेका छौं। यो लेखले पाठकहरूलाई साहित्य र साहित्यकारको बारेमा सकारात्मक धारणा राख्न मद्दत पुर्‍याउँदछ भन्ने हामीले आशा गरेका छौं। यो लेखको उचित मूल्यांकन तपाई विश्ववासी साहित्य प्रेमी पाठकहरूबाट हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं… । -विश्व सन्देश परिवार

मानवको ज्ञान सञ्चित कोषको नाम नै साहित्य हो। प्रत्येक देशको शोभा, सम्पदा, परम्परा, मान मर्यादा साहित्यमा जीवन्त रहेको हुन्छ। साहित्यले युग युगदेखि मानव हृदयको सुकोमल तार झङ्कृत गरेको छ। यो झंकार मानवको पौष्टिक भोजन बनेको छ। यसले मानवको उत्कृष्ट अभिलाषा तृप्त गर्दछ, तन्द्रा मेट्दछ तथा मानवलाई बिभत्स रूपबाट बचाउँछ। साहित्य नै एक यस्तो शितल छाया हो, जुनमा बसेको र हामी संघर्ष जनित, सन्ताप र पारस्परिक घृणा द्वेष भुल्दछौं र सच्चा सुखको अनुभव गर्दछौं। साहित्यभित्रको सुगन्धले विश्व मग मगाउँदछ , यसले विश्व नै सिँगार्दछ। कविन्द्र रवीन्द्रनाथले साहित्यको विषयमा आफ्ना धारणा यसरी पोख्नु हुन्छ – ‘भगवदीय सृष्टिको आनन्द गीतको मधुर झङ्कारले हाम्रो उरबिणालाई निरन्तर स्पन्दित गरिरहन्छ। यस मानस संगीत भगवानको सृष्टिको प्रतिघातमा हाम्रो भित्री सृजनको आवेगको विकास नै साहित्य हो। साहित्य कुनै व्यक्ति विशेषको पेवा हुँदैन, न त्यो रचयिता हुन्छ, त्यो त अमृत वाणी हो। जसरी वाह सृष्टि शुभ अशुभ सम्पूर्ण लिएर चिरकाल देखि व्यक्त हुन खोज्दछ, त्यसरी यो वाणी पनि प्रत्येक देश र प्रत्येक भाषाकोमा मानवको अन्तस्करणबाट प्रकट हुन सदा प्रत्यत्नशिल छ।’ साहित्यमा विश्वको मौलिक चेहरा छ, भावुक कल्पना छ, तरल प्रवाह छ, सरस भावना छ, हृदय ग्राह कलाशिल्प छ, विश्वको मोहनी छ, काव्य कलाको टुना छ तथा रचनाको अनुपम प्रेरणा छ। यसको गतिमा सजीवता छ, जसमा दृश्यमान कला र भावका सांकेतिक रेखाहरू जन्मँदै, हुर्कँदै, बढ्दै, मेटिँदै जीवन पाउँदै गर्दछन्। यसरी साहित्य भाव जगत्मा आफ्नो शक्तिशाली महत्ता र जीवन दायी सत्ता राख्दछ। जसरी शरीर र आत्माको घनिष्ठ सम्बन्ध छ, त्यसरी नै जीवन र साहित्यको अन्योन्य सम्बन्ध छ, दुवैको एकाकार सम्बन्ध छ। साहित्यमा जीवनको तरंग तरंगिन्छ भने जीवनमा साहित्यको प्रकाश प्रकाशिन्छ। दुवै एक लहर बनेर विश्वमा लहरिन्छ। साहित्य मानव र युगको चेतनाको प्रतिनिधित्व गर्दछ, यो दुवैको गतिविधि, समस्त जटिलता, समग्र समस्या र व्यापक कला निष्ठ भावलाई हाम्रो नजर सामु राखिदिन्छ। यसरी युग र मानव जीवनको अभिव्यक्तिको माध्यम नै साहित्य हो।

साहित्य मानव प्रकृतिको विम्ब हो, जुन महान् छ, विशाल छ, उज्ज्वल छ, जहाँ हामी सत्यको आह्वान, चैतन्यको मोहनी तथा मानवको ढुकढुकी पाउँदछौं। गोर्कीका शब्दमा- ‘साहित्यकारलाई साहित्यको इतिहास ज्ञान हुनु आवश्यक छ।’ जब मानवहरू जंगली अवस्थामा थिए, आफ्नो भाव परिव्यक्त गर्न भाषाको सृष्टि गरे, अनि आनन्द र शिक्षा लिन साहित्यको रचना गरे। क्रिस्टोफर काडवेलको विचारमा- ‘साहित्य मानव मनको अदिम सौन्दर्य परक क्रिया हो।’ आर्नल्डको भनाई छ – ‘साहित्यिक प्रतिभाको भव्य कार्य संश्लेषण र अभिव्यक्ति नै साहित्य हो, विश्लेषण र अन्वेषण हैन। मानवको भावना प्रवाह जब समस्त लोकको कल्याणको निम्ति प्रवाहित हुन्छ, सर्जन शक्तिलाई सञ्जीवन, प्रेरणा, सम्बल र पोषण प्राप्त हुन्छ र मानव समाज नवीन बिचार धाराले ओत प्रोत हुन्छ, तब युग युग सभ्य अमर बनिरहने साहित्य जन्मन्छ। साहित्यिक महत्कार्यको सम्पादन गर्न यो समुचित भूमिका हो।’ वाल्टर पेटरको बिचारमा – ‘साहित्य र कला जीवनको अखण्डताका आन्तरिक अनुभव र प्रकाशन हुन। साहित्यको निर्मल गात्रमा चिर शारदीय शुभ्रात्माको बास छ, त्यहाँ सामयिक प्रकृतिको नैसर्गिक वातावरण अलङ्कृत छ, मानवको जन्मसिद्ध मार्मिक प्रकृति चमत्कृत छ।’ ओस्कर वाइल्डका शब्दमा – ‘साहित्यले भावना र रचना शक्तिलाई प्रेरणा दिन्छ। शैली तथा उपयुक्त विषय बस्तु मिल्नाले श्रेष्ठ साहित्यको रचना हुन्छ।’ महाकवि कालिदासको शब्दमा – ‘साहित्य आत्माको सुमन हो।’ जसरी पुष्प वृक्ष समस्त रसको स्वाद लिँदै, हावामा सास फेर्दै, जल पिउँदै एक नवीन उज्ज्वल अहदमय रूपमा फुल्दछ, त्यसरी नै साहित्य पनि मानव हृदयको समस्त रस आफूमा खिँचेर, प्रकृतिको स्वागत गर्दै नवीन, उज्ज्वल र आनन्दमय रूपमा विकशित हुन्छ। अंग्रेजी कवि मिल्टनको भनाइ छ – ‘श्रेष्ठ साहित्य मानौं कुनै महान् आत्माको अनमोल सञ्जीवनी रक्त शक्ति हो।’

साहित्य, साहित्यकारको कल्पना जन्य वा कल्पना प्रस्तुत मात्र हुँदैन, त्यो त लेखकका आँसु, पसिना, भावना, रक्त, मांस र आत्मावाद निःश्रीत हुन्छ। अनि आकर्षक शोभायुक्त साहित्यले जीवन्त रूप लिन्छ। प्रेम चन्दका शब्दमा – ‘मानवले जगत्मा ज जस्तो सत्य सौन्दर्य पाएको छ, पाइरहने छ त्यो साहित्य भनिन्छ। मनौ वैज्ञानिकको विचारमा साहित्य आत्म प्रकटीकरण भावनाबाट प्रेरित भएर जन्मन्छ।’ ब्रडंलेको मतमा- ‘साहित्य स्वयम् आफ्नो साध्य हो। साहित्यमा साहित्यकारको प्रतिभा अनुभूतिजन्य गम्भीरता र व्यापकताको सम्मिश्रण हुन्छ। त्यस साहित्यले आफ्नो युगको प्रतिनिधित्व गर्दछ।’ विश्व चर्चित युवा लेखक शिशिर श्रेष्ठ साहित्यको बारेमा प्रष्ट पार्दै आफ्नो भावना यसरी पोख्नु हुन्छ – ‘मनुष्य एक सामाजिक प्राणी हो। त्यसको पालन पोषण समाजमा नै हुन्छ, आफ्नो सामाजिक भोजन पनि समाजबाट नै लिन्छ। साहित्य समाज को दर्पण हो, प्रत्येक युगको श्रेष्ठ साहित्य आफ्नो युगको विचारबाट कुनै न कुनै रूपमा प्रभावित हुन्छ। त्यस साहित्यमा युगको वाणी स्पष्ट रूपले सुन्न सकिन्न। साहित्यको आधार भूमि र प्रसार भूमि समाज हो, यसरी साहित्य र समाजको अविच्छिन्न सम्बन्ध छ।’

साहित्यमा नवीनता, सदाशयता, कलात्मकता र भावनात्मक एकता छ। यहाँ प्रकृतिबाट मानवलाई जीवन प्रवाहको सम्बल मिल्दछ। जुन मानवको कृतज्ञ मानसमा सजीव छ, साहित्यले युग युग देखि जडतामा चेतनाको सञ्चार गरेको छ, अन्धकारमा उज्यालो दिएको छ। जहा आत्मा परमात्माको बास छ। जसरी सृष्टि प्रपञ्च अनन्त छ, त्यसरी नै साहित्य पनि असीम छ, अनन्त छ। यसको अनुभूति र अभिव्यक्ति अनन्य छ। साहित्य ज्योति धर्म रूपमा विश्वमा प्रकाशमान छ, युगको मापदण्डको रूपमा शोभायमान छ। यसको पार्थिव धारा साहित्य गंगा बनेर देवस्थान बाट भूलोकमा प्रवाहित छ, जड र चेतनमा व्यापक छ सभ्यक जीवनको रूपक छ। साहित्यमा अविनाशी आत्मज्योतिको अन्तर्दर्शन मिल्दछ। यसले मानवीय दृष्टि, अनुभूति र मुग्धतालाई तृप्त गर्दछ, विशाल विश्वको परिचय दिन्छ, भावानुरुप विविध द्रष्टा देखाउँछ। साहित्यमा जुन आंकारिक चित्रण हुन्छ, जुन शृंगारिक वर्णन हुन्छ, प्रकृतिका जुन रुपांकन हुन्छ तथा प्रतिभा र कल्पनाको जुन संयोजन हुन्छ, सो भावात्मक चन्दी्रकोज्वल हुन्छ, जुन युग युगसम्म जीवन्त रहन्छ। साहित्य विशाल विश्व बोक्छ, इतिहास भर्दछ, युग रंगाउँछ। विश्व मोहनको मुस्कान लिन्छ, अनि मानव जीवनलाई उज्यालो देखाइदिन्छ। मानव निरन्तर साधना र तपस्या गर्दै साहित्यको सर्वोच्च चुलीमा पुग्न कोसिस गरिरहन्छ, साहित्यमा जीवन ज्योति छ, जसले विश्व प्रपञ्चको रहस्य तथा व्यक्तको अन्तरालमा अव्यक्तको मेल देखाइदिन्छ। यसै सन्धानबाट मानवलाई साहित्य रचना गर्ने प्रेरणा मिल्दछ। भिन्न भिन्न युगमा, भिन्न भिन्न देशमा, भिन्न भिन्न भावनामा साहित्य अभिव्यक्त हुन्छ। साहित्य मानवको सर्वोत्तम भाव रचना हो, जहाँ भावहरू हृदयलाई सोधी सोधी निस्कन्छन्, लवजहरू आफै बोल्दछन्, भावनाहरू हृदयमा भुल भलाउँछन्, कल्पनाका लहरहरू लहराई रहन्छन्, स्वानुभवको चमत्कार चम्कन्छ, हावाको झुलौनामा फूलहरू र लहराहरू नाच्छन्, चराचुरुंगी मिठो बोल्दछन्, पवनले अमृत बर्साउँछ, प्रकृतिकला छर्छिन् तथा साहित्यिक सौन्दर्यले चमत्कार युक्त हुन्छ।

आज विश्वमा साहित्यको सुनौलो ज्योति हिमचुलीमा पुगेको छ, जहाँ स्वर्गको मोहनी छ, सत्यको कान्ति छ, साहित्यको मोहनीले साहित्यकारको आत्मलाई कलापूर्ण इन्द्रेणीको धागोले तानेर हिमचुली लंघन गराउँदै छ, स्वर्गलोक र मत्र्यलोक मिलाउँदै छ। मानवका साहित्य रच्ने तिर्सनाहरू सभ्यता र विकासका प्राकृतिक प्रेरणाहरू हुन्। मानवहरू स्वभावतः भावनाशील, रचना शिल, सृजनशील र स्पन्दनशील छन्। बाह्य प्रकृतिको दृष्य देखेर तिनको मन तरंगशिल हुन्छ, कल्पनाको तरंगमा तरंगिन्छ, अनि कता हो कता भावनाको लहरमा लहरिन्छ। तिनीहरू आफ्नो मनोभावको प्रकाशन गर्न चाहन्छन् तथा विश्वको सौन्दर्यबोध, कलाबोध र रसबोधको परिचय पाउन खोज्दछन्। तिनको अन्तचेतना नै प्रतिभाको आदि स्रोत हो, जुन प्राणाधारको रूपमा साहित्य प्रवाहमा बग्दै भवसागरमा प्रकाशमान र अमर बनी रहन्छ। साहित्य जीवन युग र भावनाको मिलन विन्दु हो। निरन्तर साहित्यको चिन्तन र तपस्याले साहित्यिक पुष्प पुल्दछ, बास्ना डुल्दछ, सिद्धि मिल्दछ। अतः साहित्यको मूल्य नै सारा सभ्यताको आधार हो, दुःखले पीडित सारा संसारको आशा हो। मानवलाई केवल साहित्यले उज्ज्वल भविष्यको दिग्दर्शन गर्न सक्दछ, मानवलाई शान्ति र आत्म विश्रान्ति दिलाउन सक्दछ, अनत्त प्रेरणाद्वारा कल्याणमय पथ प्रदर्शन गर्न सक्दछ। यसैले साहित्य सदा मानवको पथप्रदर्शक रहेको छ। यसले परम्परागत ज्ञानको विकाश गर्दछ, मानवको लागि नवीन दृष्टिकोण प्रस्तुत गर्छ र गूढभन्दा गूढ धार्मिक सिद्धान्तको उद्घाटन गर्दछ। साहित्यले जुन दीप प्रज्वलित गर्दछ, सो अमर बन्दछ, युग युग सम्म विश्वलाई आलोकित गर्दछ। यसैले साहित्य विविध विभूति सम्पन्न छ, मानव जनजीवनको मनोरम आदर्श छ, यहीँबाट आत्मचेतनाको विकास हुन्छ, बिचार शक्तिको संवर्धन हुन्छ। प्राचीन कालदेखि विश्वमा साहित्यको एक महत्त्व पूर्ण योगदान रहेको छ। यसमा विश्वको विचार धारा प्राकृतिक जीवन र मानव जीवनको अध्ययनमा केन्द्रित छ। चीनमा लाओत्से र कन्फ्युसियस, नेपाल र भारतमा उपनिषत्का ऋषि महर्षिहरू, इरानमा जरथुस्त्र, ज्युडियामा महान् नबी, युनानमा पाइथागोरस, सुकरात र अफलातुन आदि महापुरुषहरू ठाडो उकालोमा साहित्यका खुट्किला काटी काटी धर्मका सुनौला पर्वत चुलीमा पुगे तथा मनुष्यको आत्माको गहिरो अध्ययन गरे। ती आत्मा ज्ञानीहरूले तपस्या, अनुशासन, आत्मशुद्धि र विवेकको पथमा अप्रति हत भएर साहित्यिक परिवेश निर्माण गरे। धर्मको चुलीमा पुगे तथा देवत्व प्राप्ति गरे।

निराकारको नीरव एकान्तमा साहित्य जन्मन्छ, विश्व घाम झैँ उज्यालो हुन्छ, जीवनको सबै क्षेत्र र पथमा जाज्वल्यमान प्रदीपको काम गर्दछ तथा मानव समाजमा सुख, शान्ति र समृद्धि बर्साउँदछ। साहित्यको युक्तिपूर्ण निर्माण वाणी चन्द्र किरण झैँ निर्मल, सुखकर, अन्तः करण शीतल गर्ने तथा अज्ञातरुप अन्धकार हटाउने हुन्छ। मनुषानन्दा लिएर हिरण्य गर्भ आनन्द पर्यन्त आनन्दका स्तरहरू छन्, किन्तु साहित्यमा जुन आनन्द छ, सो श्रेष्ठ, अनुपत्र, रसमय, गरिमा म य मुहान र अपूर्ण छ। भाषा साधन हो, साध्य छैन। साहित्य भाषिक समुदायको सशक्त उद्गार हो, जहाँ अभिव्यक्ति, भावना र कल्पनाको संयोजन हुन्छ। यसले भाषालाई जीवन दिन्छ, भावलाई चहक दिन्छ,ओजस्वी बनाउँछ तथा सृजनशील गराउँछ। मानसिक संस्कार, परिष्कार र पौष्टिक व्यञ्जनमा साहित्य अल्पावश्यक ठहर्छ। ज्ञानकोष समृद्ध पार्न, यसको गरिमा बढाउन साहित्यको महत्त्वपूर्ण भूमिका हुन्छ। साहित्यमा प्रभातको पहिलो ज्योति बोल्दछ, सूर्य किरण सुनौलिन्छ, स्वार्णीम किरणले हिमालमा नूतन भावको उद्घाटन गर्दछ, अति प्रकृतिमा प्रथम सिर्जनको रहस्य खुल्दछ। प्राकृतिक कलाको विश्वको मुटुको धड्कन छामी छामी पाकृत भाषामा मुर्तिमान् मिठास प्रकट गर्दछ। यहाँ सिर्जना, भावना र कल्पना क्रीडा गर्दछन्। साहित्य रसको माधुर्य अनुपम छ। दृश्यमान भू मण्डलमा टप्केर, आत्मीय स्रोतमा तरल बनेर रसको जुन मधुपति तरल धारा बगेको छ, त्यसको तुलना जगतमा त के विश्व व्रम्हाण्डमा नै छैन। साहित्यको अमृत रसमा मानव जीवन स्पन्दन पाउँदछ, मानव भावना सृजनशील बन्दछ, प्रकृति सजीव लाग्न आउँछ। साहित्यमा विश्व स्वरूपको दर्शन मिल्दछ, मानव महिमाको विलक्षण वर्णन हुन्छ, विश्व जीवनको मार्मिक तथा हार्द विवेचना हुन्छ। साहित्यमा सदैव आत्मोज्ज्वलता, मानव साधना, उपासना र भावनाको प्रकाश हुन्छ। मानव जीवन र विश्व जीवनको परस्पर पूरकको रूपमा साहित्य प्रसिद्ध छ। साहित्यको अध्ययन गर्नाले मानवलाई आनन्द लाभ, ज्ञान वर्धन र मानसिक विश्रान्ति मिल्दछ। यसको बीजारोपण मानव समाजमा हुन्छ। लेखकले आफ्नो त्याग, तपस्या र बलिदानले आफ्ना मार्मिक भावनात्मक उद्गारहरू साहित्य रूपमा विकसित गर्दछन्। साहित्य मानवको निम्ति वरदानसिद्ध हुन्छ। यसमा जति व्यापक अध्ययन गम्भीर चिन्तन र गहन अनुशीलन गरिन्छ, उति मानवलाई मानसिक पुष्टि र सन्तुष्टि मिल्दछ।

साहित्यकारहरू पनि मानवरत्न हुन्। ती विश्वका युग युगका वाङमय स्वर्णकलाका प्रकाश स्तम्भहरू हुन। जसरी शरीचिरन्तन आत्माको प्रतिनिधित्व गर्दछ, त्यसरी नै साहित्यकारहरू एक युगमा जन्मर अनन्त युगको प्रतिनिधित्व गर्दछन्। यद्यपि यो भौतिक शरीर नाशवान् छ, क्षण भङ्गुर छ, यो नश्वर, अनित्य शरीरबाट साहित्यको जुन संस्कृतिको सिर्जन हुन्छ, सो मानव समाजको सत्सम्पति बन्दछ, विश्वको सतनिधि बन्दछ। यसैले साहित्यकारको सत्कृति विश्वमा सदैव अजर, अमर र अखण्ड छ। विश्वका शौर्य ऐश्वर्य र सौन्दर्यको रहस्यको उद्घाटन गर्ने साहित्यकार नै हुन्। साहित्यकारहरू विश्वका पथ पर्दशक तथा मानव समाजका दिग्दर्शक हुन। ती आदर्श ज्ञानका प्रकाशक, मानवका उपकारक तथा मानवताका प्रवर्तक हुन्, जो आदर्श गुणका निर्देशक, युगका प्रतिपादक तथा ज्ञान विज्ञानका कारक रूपमा प्रसिद्ध छन्। ती सदा जागरूक, सिर्जनाका सञ्चालक, विश्व व्यवस्थापक, विश्व विधायक, कल्याण सम्पादक तथा भावनाका उत्पादक रूपमा प्रसिद्ध छन्। साहित्यकारको भावना र कल्पना जति फराकिलो हुन्छ, उति उनको सृजनात्मक प्रतिभा प्रकाशिलो बन्दछ। तिनका रचनाहरू युगको पुनर्जागरण जति प्रगतिशील र सृजनाशील हुन्छन्, उति हार्द अनुभूतिबाट प्रवाहशील र तरंगशील बन्दछन्। यस्ता शाश्वत रचनाहरू स्वभावतः भावनाशील, स्पदनशील र संवेदनशिल हुन्छन्। साहित्यकार आकाश र बादलमा सौन्दर्यकला देख्छन्, हावामा मग मग सुवास पाउँछन्। प्रकृतिको सजीव र सशक्त रसस्तिग्ध कलाकारितामा नित्य नवीनता र दिव्यता राख्नु तिनको कल्पनाको सृजनात्मक र सौन्दर्यात्मक चेत हो जुन साहित्यसँग रसात्मक आत्मैक्य हुन्छ, जुनको प्रसार र सञ्चार अनत्त युगबाट विश्वमा अविच्छिन्न भइरहेछ। साहित्यकारको रचनामा स्वर्गको बास्ना हुन्छ, गंगाको प्रवाह हुन्छ, जुन देवस्थानबाट भूलोकमा प्रवाहित छ, विश्वको अन्त : स्वरूपको स्कुरण हुन्छ तथा अविनाशी आत्मज्योतिको अन्तदर्शन मिल्दछ। जसरी सुन्दर प्रभाव काल गुलाबको फुल झैँ फुल्दछ, त्यसरी नै सुरम्य साहित्यको चित्रपटमा साहित्यकारको प्रतिभा, भावना र कल्पना जीवन्त रूपमा विकशित हुन्छ। तिनले आफ्नो कल्पनाद्वारा उन्मुक्त भावले मनो विहार गर्दछन्, उषाको सोडिम कला कुँद्दछन्, तारामण्डलमा दिव्य बत्ती बाल्दछन्, विश्वलाई नवीन प्रभातको जागरणमा झक झिकाउँछन्, भाषालाई अनुहार र अलङकार दिन्छन् तथा साहित्यका रसिला रसिला फलहरू फलाउँछन् यस्तो साहित्य पढेर पाठक पाठिकाहरू छक्क परेर सबै टोलाउँदछन्।

विश्वको प्रत्येक देशमा, सबै युगहरूमा साहित्यकारहरू ढिलो सन्देश लिएर जन्मन्छन्, तिनले देश कालको पर्खाल देखि पर रहेर विश्व जननी सार्वभौम सत्यको प्रतिष्ठा ठान्दछन्। युग युगको मानवता पथ आलोकित गर्न दिव्य ज्योति झुल्काउँछन् अनि मानव समाजलाई झकझकाएर ब्युँझाउँछन्। साहित्यकारहरू देश र कालदेखि माथि उठेर कल्पनाद्वारा त्यस स्वर्गीय भावभूमिको निर्माण गर्दछन्, जुनको माटो मुछेर, भावनाका ढुंगा कुँदेर, आफ्नो सहज स्वभाव भुलेर ती स्वर्गीय क्षेत्रमा प्रवेश गर्दछन्। जुन जल थलबाट तिनको शरीर बनेको छ जुन देशको वातावरणमा ती हुर्केका छन्, जुन सांस्कृतिक परम्परामा तिनको ज्ञान विज्ञानको संस्कार पाएका छन्, जुन धार्मिक वातावरणमा प्राकृतिक छटामा तिनको मत परिष्कृत र संस्कृत छ, तिनबाट ती कसरी अलग्गिन्छन् ? यद्यपि ती पन्छन खोजे पनि तिनका रक्त विन्दुमा, आँसुमा, पसिनामा , सोरमा, भावमा, चालमा त्यस देशको प्रशस्त छाया परिरहेको हुन्छ, जन हृदय बोलिरहेको हुन्छ, जन भावना खुलिरहेको हुन्छ। साहित्यकारको ज्ञान, अध्ययन, मनन चिन्तन, अनुशीलन र लेखन कलाको फर्म कहिल्यै पनि टुंगिने विषय होइन। कुनै पनि साहित्यकारले यस असीम र अपार विषयलाई सम्पूर्ण रूपले अवगाहन गर्ने, संगल्ने र बुझाउन सक्ने दावा गर्न सक्दैनन्। व्यक्ति व्यक्ति, पुस्ता पुस्ता का लेखकहरूको परिश्रमले, लेखनले, त्यागले, तपस्याले, बलिदानले मानव ज्ञानकोशको साहित्य संगालिन्छ, कुनै उपासना र अनुष्ठान परिपूर्ण हुन्छ। यो रहस्यमय खोजमा तन्मय आत्मवान साहित्यकारको साहित्यमा जुन रहस्यमय सौन्दर्यको आभा सल्कन्छ, त्यसले सबैलाई मुग्ध गर्दछ। साहित्यकारहरू समाजको, देशका, विश्वका दर्पण हुन्। उनीहरूका रचनामा मानवको र विश्वको भावका गतिविधिहरू प्रतिविसम्बन्धी हुन्छन्। साहित्यबाट मानवलाई असीमबाट असीमको आनन्दानु भूमि हुन्छ, साहित्यमा नवीन प्राणको र नवजीवनको सृजन हुन्छ यसैले साहित्यकारहरू युगसम्म अमर रहन्छन्, ती एक युगमा अग्न्त युगको प्रतिनिधित्व गरिरहन्छन्। तिनको साहित्यमा विश्वको शौर्यऐश्वर्य र सौन्दर्यको रहस्यको उद्घाटन हुन्छ, श्री र सम्पन्नताको अनन्त निधिको प्रकाशन हुन्छ तथा युग युगको वाङमय चेतना र सान्वित हुन्छ।

साहित्यकार विश्व सुखमय गाउँदछन् जनहिताय बोल्दछन् तथा युगवाणी लेख्दछन्। तिनी विश्वको उर्वर भूमिमा भावी सभ्यता र संस्कृतिको बीजारोपण गर्दछन्। आफ्नो सूक्ष्म निरीक्षण शक्तिले विशुद्ध वर्णन गर्दछन्। संसारको जुन आदर्श सपना छ, जुन उन्नत भावना छ, त्यसलाई साकाररूपमा परिणत गर्न तिनी ठोस काम गर्दछन्। त्यसैले साहित्यकारलाई विश्वमा पूजा गरिएको हो। सही त्यसकारहरुले युगको हाँक, स्थानको बोलावट, परिस्थितिको आमन्त्रण तथा भावनात्मा आह्वान सुन्दछ, तिनलाई साहित्यिक रङ्गले रङ गाउँछन्, अनि आफ्नै धुनमा गुनगुनाउन थाल्दछन्। ती मानव भावनासँग लुकामारी खेल्दछन्, प्रकृतिसँग नाच्दछन् र नदी झरनासँग गाउँछन्। साहित्यकार देश देशान्तरमा स्वतन्त्रताको, समानताको, मानवताको इतिहासको रचना गर्दछन्, समयको, स्थानको, बन्धनको फलामे तार तोटदछन्, जातिपाति र अन्य अवस्था विशेषणको भेदभावको पर्खाल भत्काउँछन्। साहित्यकारहरू जति महान् छन्, उति विशाल र अटल छन् तिनमा चिरयुगीन नवीनता छ, अनन्त साधना र अनुपम प्रेरणा छ, साहित्यको विन्दु विन्दुले विश्वको साहित्य सिन्धु अनन्त प्रवहमान छ। अति प्राचीन कालदेखि साहित्यकारहरू मानव कल्याण र विश्व कल्याणको निम्ति अमृतमय सन्देश दिँदै आइरहेछन्। यो साहित्यिक मंगलमय सन्देश जलभारले अवनत जल थर झैँ विश्वमा अजस्त्र बर्सेको छ, विश्वको उपर मानसिक भूमिलाई उर्वर बनाएको छ। साहित्यकारहरू सदैव आदरणीय छन्, विश्व बन्दनिय तथा विश्व जीवनलाई जीवन तत्त्व र पोषण तत्त्व मिली रहेछ। साहित्यकारहरू आफ्नै रंगमा, आफ्नै कलामा आफ्नै कल्पनामा, आफ्नै भाव भावनामा जीवनका घाम छाया, आँसु पसिना, योग वियोग, सुख दुःखका अनुभवहरूको चित्रण गर्दछन्, साहित्यको माध्यमबाट पाठकसँग बेलिबिस्तार गरेर आत्म प्रकाशनको व्याख्या गर्दछन्। साहित्य र साहित्यकार विश्वमा अमर छन्, प्रकाशमान छन्, भावी पुस्ता ती प्रति सदैव श्रद्धानत छन्,.. धन्यवाद

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्