काठमाडौं। नेपाली काँग्रेसको जिल्ला कार्यसमितिहरूलाई आसन्न तीनै तहका निर्वाचन गतिविधि तीव्र बनाउन निर्देशन दिइएको छ। गत फागुन २३ गते ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नयाँ मतदाता यकिन गर्न निर्देशन दिएका हुन्।
परिपत्रमार्फत जिल्ला कार्यसमितिहरूलाई गाउँ-नगरपालिकाको निर्वाचन घोषणापत्र लेखनका लागि समन्वय र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ। महामन्त्रीद्वयले गत निर्वाचनमा पार्टीले पराजय भएका स्थानमा भएका भ्रष्टाचार, अनियमितता घटनाका साथमा जनतासँग गरिएका प्रतिबद्धता अनुसार काम भए/नभएको बारेमा सुसूचित बनाउन पनि भनेका छन्।
‘घोषणापत्र बनाउँदा नेपाली काँग्रेसले जितेका स्थानीय तहमा गत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएका सकारात्मक काम र उपलब्धिहरू र जहाँ गत निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको थियो, ती स्थानीय तहमा उनीहरूले जनताको हित विपरीत गरेका कामहरू, भ्रष्टाचार, अनियमितता उनीहरूले चुनावमा प्रतिबद्धता जनाएअनुसार नगरेका कामबारे जनतालाई सूचित गर्ने,’ परिपत्रमा उल्लेख गरिएको छ।




लोकपाटी न्यूज

