काठमाडौं। नेपाली सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका नुसार आज परिसूचक नेप्से १९.६५ अंकले घटेर २ हजार ६३१.३२ बिन्दुमा झरेको छ। त्यस्तै, बुधबार सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले घटेको छ।
नेपाली बजारमा बुधबार कारोबारमा आएका २३१ कम्पनीका ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ लेनदेज भएको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकमसमेत घटेको छ। नेपाली बजारमा मंगलबार ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी २.०९ प्रतिशत बढेको छ। निर्जीवन बीमा उपसमूह ०.६४ प्रतिशतले बढेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै २.४७ प्रतिशतले घटेको छ। व्यापार, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक एक प्रतिशतले घटेको छ।
बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि इमर्जिङ्ग नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, मैलुङखोला जलविद्युत कम्पनी, सोल्टी होटल र राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर मूल्य बढेको छ।
तर, युनाइटेड इदी मार्दीको शेयर मूल्यमा ५ प्रतिशतले गिरावट आएको छ। कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। गरिमा विकास बैंकको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।



लोकपाटी न्यूज

