प्रकाश सपुतको स्पष्टीकरण : मिडियामा स्वीकारिएका विषय गीतमा समेटेको मात्र हुँ

prakash saput
लोकपाटी न्यूज
  • प्रकाश सपुत

‘पीर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यबाद ! सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत ‘पिर’का कारण केही दर्शक श्रोतालाई मर्का परेको मैले महशुस गरेको छु!

गीतले भन्न चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ। मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईँहरुका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि? तपाईंहरु (केही)ले गलत बुझ्नुभएको हो, समिक्षा गर्दैछु।

‘पिर’बाट मैले युद्धकै जग र बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो। समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हो। एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हो। मलाई लागेको (यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूले त्यसबारे लेखिँदै र पढिँदै आएको होइन र? छर्लंगै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?

जसरी यसअघिका गीतहरू ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’, ‘मेरो पनि हैन र यो देश’, ‘कुरा बुझ्न पर्छ’ गीतहरूमा कथा बुन्थेँ, पात्र बनाउँथे, टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड तथा छायांकन गर्थें। यसमा पनि त्यही प्रक्रिया छ।

गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु। ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने र बजाउने र पकाउने र पस्कने मध्यका थुप्रै सहकर्मीहरू पुर्व लडाकु थिए। उनीहरु चरम निराशावादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो।

यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु। प्रतीकात्मक रुपमा दृश्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’। यो बिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरें। केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरेँ। केहि पात्रहरू पढें। आम मानिसका भोगाई र संवेदनाहरु बुने र भिडियो बनाएँ। मेरो पेशा र पहिचान यहि हो।

एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिदैन। पूरै बुझाइ आउँदैन। त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौँला। अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो। प्रतीकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु। यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु। माफी मागेको छु। अब यस्ता पात्रहरू छन् वा छैनन् भन्नेतर्फ नजाऊँ।

त्यसो हो भने मुना र मदन छन् कि छैनन् ? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगवीर र सकम्बरी कहाँ होलान् ? कहाँ होला घुम्ने मेच माथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अक्षरश हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ।

भिडिओमा देखिएका पात्रहरू जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यती धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युद्ध र आन्दोलन र गणतन्त्र र स्वतन्त्रताको अपमान हुने हो कि ? म अत्यन्त अन्तर्मुखी र शान्त मनुवा हुँ। म सर्जक हुँ, सिर्जना नै मेरो विचार हो ! आवाज हो। विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन। मैले कसैसँग पनि यो विषयमा सहयोग र सल्लाह लिएको छैन। त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु। मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु। मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला।

कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ। पक्ष र विपक्षमा एकोहोरो भइन्छ। नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ। विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ। गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौँ। तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौँ। समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ।

त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो। भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सम्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यस प्रति म फेरि पनि क्षमा चाहन्छु। यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु कसैले नियतवश उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई द्विविधामा नपारौँ। न अल्झाऊँ। किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन। गाउनुपर्ने कयौं, गित छन्। र, तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन्। प्रश्नहरूलाई निरुत्साहित नगरिदिनुस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्