लमजुङमा तीस हजार बढीले लगाए कोरोना खोप

_Khop
लोकपाटी न्यूज

लमजुङ। लमजुङमा ३० हजार ५ सय २० जनाले कोरोनाविरुद्धको बुस्टर खोप लगाएका छन्। कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिले बुस्टर खोप लगाएका हुन्। जिल्लामा हालसम्म १ लाख २४ हजार ७ सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। जसमध्ये पूर्ण खोप तथा दोस्रो मात्रा खोप लगाउनेको संख्या १ लाख १९ हजार ९ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ। स्वास्थ्य कार्यालयले कूल १ लाख ३२ हजार ८ सय ७० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो।

पहिलो खोप ९४ दशमलव ३६ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए। उनका अनुसार दोस्रो मात्र खोप ९० दशमलव ७५ प्रतिशतले लगाएका छन्।

कार्यालयले १८ वर्षमाथिका १ लाख १३ हजार ४ सय ८२ र १२ देखि १७ वर्षका १९ हजार ३ सय ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो। १२ देखि १७ वर्षसम्मका १६ हजार ९ सय ४६ जनालाई मोर्डनाको पहिलो डोज खोप लगाइएको छ भने दोस्रो मात्रा लगाउनेको संख्या १५ हजार २ सय ९ रहेको स्वास्थ्य कार्यायले जनाएको छ। जिल्लामा शुरुमा अभियानकै क्रममा खोप लगाइएकोमा पछिल्लो समय जिल्ला अस्पताल लमजुङबाट प्रत्येक साताको सोमबार र बिहीबार नियमित रूपमा खोप दिइँदै आएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए।

उनका अनुसार कोरोनाको तेस्रो लहर फैलिएसँगै शुरुआती अवस्थामा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी कर्मचारीलगायतलाई बुस्टर डोज दिइएको थियो। पछिल्लो समय दोस्रो मात्र खोप लगाएको ६ महिना पूरा भएका सबैलाई बुस्टर डोज दिइएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्