तीस अंकभन्दा बढीले घट्यो नेप्से परिसूचक

लोकपाटी न्यूज

काठमाडौं। साताको चौथो दिन नेपाली बजारमा नेप्से परिसूचक घेटेको छ। बुधबार नेप्से ३०.२९ अंकले घटेर २५१४.६५ अंक कायम भएको छ।

बुधबार नेप्से सुरुवाती चरणमा केही सकारात्मक देखिए पनि दिनभर गिरावटमा आएको छ। विकास बैंक, बीमा, जलविद्युत् र व्यापार समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ।

नेपाली बजारमा बुधबार दुई सय २९ वटा कम्पनीका ४९ लाख ५९ हजार कित्ता शेयर दुई अर्ब ३५ करोड २३ लाख रुपैयाँमा कारोबार भएको छ। आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको १० करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बुधबार सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर झन्डै ६ प्रतिशत र सामुदायिक लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ। त्यस्तै, समग्र बजार राताम्मे हुँदा पनि माउन्टेन इनर्जी नेपालको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ।