काठमाडौं। बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’को रिलिज मिति तय भएको छ। यो फिल्म आगामी वर्षको इद अर्थात् अप्रिल २१ मा रिलिज हुनेछ।
सलमानले शुक्रबार ‘टाइगर ३’को टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन्। यो फिल्मलाई लिएर प्रशंसकहरु निकै उत्साहित देखिएका छन् भने सलमानका साथमा कट्रिनाले पनि फिल्ममा कडा मेहनत गरेकी छन्। सार्वजनिक गरिएको टिजरमा कट्रिनाको जबरजस्त एक्सन देख्न सकिन्छ।
यो फिल्म सलमानको एक्सन टाइगर सिरिजको तेस्रो भाग हो। ‘टाइगर ३’लाई मनिष शर्माले निर्देशन गरेका हुन्। फिल्मको छायांकन हालै दिल्ली र आसपासका क्षेत्रमा पूरा गरिएको हो। यसअघि यो फिल्मलाई रुस र टर्कीमा पनि खिचिएको छ।
‘टाइगर ३’मा अभिनेता इमरान हासमी पनि मुख्य भूमिकामा देखिंदैछन्। यसका अघिल्ला सिरिज सन् २०१२ मा एक था टाइगर’ र त्यसपछि ‘टाइगर जिन्दा है’ रिलिज भएका थिए।



लोकपाटी न्यूज

