‘म अरुले सोचेभन्दा अनौंठो छु’

shivajit tiwari
लोकपाटी न्यूज

-शिवजी तिवारी

रमाइलोमा धेरै रमाउन नसक्ने, दुःखमा त्यति साह्रै नहतारिने, नयाँ परिवेशमा झट्ट खुलेर बोल्न नसक्ने, जानेको कुरा सोधपुछ गर्दा निर्धक्क भन्न सक्ने म अरूले सोचेभन्दा अनौठो छु। लामो सङ्गतमा बसेकाहरूलाई पनि केही दिन केही महिना केही वर्षमा पुरापुर भुल्न सक्ने मान्छे म। सहयोगको अपिल गर्नेलाई आफ्नो बलिबुतेला सकेसम्म सहयोग गर्ने। हिजोमा राज गरेर आजबाट टाढा भएर भोलिदेखि विलीन हुने मान्छे तिमी ! मेरो भोलिमा अटाउन नसक्ने तिम्रो निर्णय सहर्ष स्विकार्दै बढा समझदार टोपल्ने मान्छे म ! कदममा कदम, बोलीमा शब्द मिलाउने सौभाग्यबाट वञ्चित भएको बिचरा म। मेरो मानसको हाकिम रहिसकेको तिमीलाई यो पल के भनेर सम्बोधन गरूँ ? तिमीलाई मेरो भन्ने हक समेत नपाएको मान्छे म’।

कहिल्यै आफ्नो नभएकी तिमीलाई आफ्नो ठानौँ कसरी ? मेरो हृदयको हर कोशिकामा राज गरिसकेकी तिमीलाई पराइ सोचूँ कसरी ? नदेखिएको भए, नचिनेको भए सम्झनाको अस्तित्व के नै हुन्थ्यो र ? समयको दुर्घटनाले सामीप्य निम्त्यायो र त्यही दुर्घटनाले दिलाएको परिचय, औपचारिकता नपाएको सम्बन्धको यस्तो परिचयको औचित्य कसरी पुष्टि गरूँ म ? धिपधिप दियो जस्तो हावाको झोका मा धिपिक्क गर्ने आसव पक्कै होइन यो मेरो ! मेरो मनको खण्डहरमा अङ्कुरण भएको पुष्पबृक्ष सानोतिनो खडेरीले नि मास पार्ने किसिमको पनि पक्कै होइन। यो त चैतमा सल्किएको बनको डढेलो जस्तै मच्चिएको छ। हुन त प्रकृतिको नियम नै छ,अजर अम्बर त के नै छ र ? त्यसैले निभ्नु त थियो नै कुनै पल। चाहाना हो मृत्यु भन्दा अरू प्रेम अन्त्यको कारण नबनोस् तर एकातर्फ जतिसुकै बारबेर पारेपनी अर्कोतिरबाट चिसो ओस पसे पछि कसको के लाग्दो रहेछ र ? भावनाको जतिसुकै आँधी उर्लिए पनि प्रमाणित भएको छ, मृत्यु अगावै डढेलो निभेर। दुई पात नहुँदै अङ्कुर निमोठिएर ।अब आफैँलाई विश्वास नगरेर पनि आफैँलाई एक्लै उभ्याउन बाध्य छ जीवन मेरो।

तर पनि तिमीप्रति कुनै गुनासो छैन मेरो। छन् त केवल आफै तिर तेर्सिएका दर्जनौँ अनुत्तरित प्रश्नका भाला। तिमीलाई राम्रो लाग्ने,तिमीलाई नमुना लाग्ने म किन आज तिम्रो त्यो विशाल हृदयको माली बन्न सकिनँ ? म तिम्रो नहुनु, तिम्रो लायक नबन्नु तिम्रो दोष हैन। यो त मेरै कमजोरी हो भन्ने बुझेको छु मैले। तिमीलाई मन पर्ने मेरो सादगी बिचार, नरम बोली र शान्त स्वभावमा तिमीलाई किन कैद गर्न सकिन मैले ? कहीँ कतै एक्लै हुँदा तिमै यादमा बग्ने अश्रु धारा सँगै तिमीलाई पनि बगाउँछु कि भन्ने डर लाग्छ मलाई। तिमीलाई जङ्ग र तार्नेको लागि बढाएका यी हातमा तिमीले आवश्यक शक्ति देखिनौ कि ? तिमीलाई शीतलता प्रदान गर्न उद्धत मेरो छातीमा कतै छहारी पो कमी महसुस भो कि ? हुनस् त्यो पनि मेरै दोष हो। कसैको मनमा नबसेको तिमीलाई कसरी दोषी भन्न सक्छु र म ? र म त्यस्तो सोच्न पनि कसरी सक्छु ? अह ! सक्दिनँ। मेरा हरेक व्यवहारको बयान गरेर कहिल्यै नथाक्ने तिमी ! यति निश्चल मन भएको मान्छे कसरी दोषी हुन्छौ र तिमी ?

जो कोहीलाई आफ्नो वाक पटुताको चक्र ब्युमा सजिलै फसाउन सक्ने, कहीँ कसैको बयान नै गरेर उसैलाई कायल पार्न सक्ने सामर्थ्य आज निष्काम भएको छ। सबैका लागि कति जाति बनिदिने। मनमा रिसको आँधी नै भए नि नम्रताको घुम्टोले सपक्कै छोपेर सबैको मनको प्रिय मान्छे बनिदिने नाटकीय चेहरा पनि कस्सिएको बारुद जस्तै भएको छ। हतपत कसैको कुरामा नबहकिने म तिमीप्रतिको प्रेममा यति लुप्त भएँ। तिमी को हो ? जान्ने जरुरत पनि गरिन मैले। आज फर्केर हेर्दा हर सोचाइको घुम्ती र चोकमा तिमीसँगको अनुनयको अतीतसँग ठेस लाग्छ, पाइला पिच्छे। त्यो पनि मेरै दोष किन कि हामीबिच ढुङ्गा जस्तो साँध निर्माण गरिसकेकी तिमीलाई खेलाँची सम्झिएँ ! कुहिनोले साँधमा जतिसुकै प्रहार गरे पनि साँधलाई के नै लाग्ने रहेछ र ? मलाई के थाहा ? एक्लै सुरु गरेको यात्राको एकतर्फी अन्त्य हुन्छ ! फर्कँदा एक्लै हुन्छु ! त्यति बेला आफ्नै अतीतले यसरी बाटो छेकी छेकी गिज्याउँछन्। सबै मेरै गल्ती, मेरै दोष।

म्यासेज गर्दिन अब ! किनकि तिमीलाई मन पर्दैन। गल्ती यहाँ निर पनि गरे मैले। तिमीलाई मन पर्ने काम गर्नु या नगर्नुको कुनै असर नै रहँदैन। मेरो एकोहोरो लगावबाट तिमी छुटकारा चाहन्थ्यौ, चाल पाएकै बेला त्यो गन्तव्यहीन यात्रामा पूर्णविराम लगाउनु पर्ने मैले। अपसोच तिमीले त्यसलाई झेली रहनु पर्‍यो। अब साह्रै नम्र नि बन्दिन किनकि जुन कुराले तिम्रो ध्यान केन्द्रित गर्न सकेन त्यसको के अर्थ ? कूटनीति मिसिएको सरल बोली नि बोल्दिन अब जुन भावमा तिमीलाई आफ्नो भनेर बोलाउन पाउँदिन, तिम्रो सामीप्य पाउँदिन भने यो हार्दिकतामा पनि कुनै रस रहेन अब। बारम्बार आँसुले रुझ्ने ओठमा मुस्कानले शोभा दिँदैनन्। मौनता नै सुहाए जस्तो लाग्नेछ अब। समग्रमा कुनै पनि कुराले कुनै माइन राख्दैन अब मेरो जीवनमा।

आफ्नो मनले सोचेको मान्छेको हुन सकिनँ, अब किन र कसको लागि आफ्नो बन्नु म ? तिमीलाई आकर्षण दिन असमर्थ यी दारीको अब राख्नुको के अर्थ रह्यो र ? यसै त्यागी बनेर, फुङ्ङ गेरु भेष धारण गरी नफर्किने गरी कतै दूरको यात्रा तय गर्न मन लाग्छ। श्वास र शरीरले साथ दिँदा सम्म हिँडूँ जस्तो, कतै जमिनमा भासिएर हराऊ जस्तो। जति सम्झिन्छु उति ढुकढुकी बढेर मुटुले छाती चिरेर बाहिर निस्किएला जस्तो हुन्छ, त कति बेला हिउँ परे झैँ चिसो भए जस्तो भान हुन्छ। मलाई याद छ। कहिले हाँकी तिमीलाई पिर पर्दा अफ्ठेरो जवाफ लगाएर मन शान्त पार्थ्यौ। तर तिमी झैँ रिसाउन पनि त सक्दिन म’। तिमिले मेरो मायाको अनुनयलाई उडाए जस्तै बुङ्ग चुरोटको धुवाँ जस्तै तिम्रो यादलाई उडाउन पनि असमर्थ छु म”।

अब त यो जिन्दगी यादमा मात्रै पनि काट्न सक्छु भन्ने विश्वास गरी सकेको छु। जस्तै तिमी सधैँ हाँसेर कटाउन सक्छौँ। कामना छ। सधैँ हाँस्नु सधैँ खुसी रहनु यसै गरी। अतीतका सम्झना र भविष्यको चिन्ताले कहिल्यै नपिरोलोस् तिमीलाई। भोलि जो सँग हुनेछौं त्यहाँ तिम्रो खुसी निश्चित होस्। स्थिर र थाई होस्। म जस्तै कसैको अघि भिक्षु बनेर भविष्य र खुसीको खोजी गर्ने कष्ट उठाउन नपरोस् तिमीलाई। समयसँगै चल्दा आकर्षण र प्रेमको तराजुले समान नाप देखाइरहोस् जीवनमा। शुभकामना ! !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्