सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने भएका छन्। मुख्यमन्त्री शाहीले आज बिहान सामाजिक सञ्जालमार्फत सरकारलाई पूर्णता दिने संकेत गरेका छन्। उनले आफूलाई सोधिरहनेहरुले आइतबार जवाफ पाउने बताएका छन्। शाहीले भनेका छन्, ‘बारम्बार बारम्बार मलाई सोधिरहने प्रश्नको जवाफ आइतबारसम्म पाउनुहुनेछ महोदयहरु।’
मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिनासम्ममा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै उनको आलोचना भइरहेको छ। स्रोतका अनुसार मुख्यमन्त्री शाहीले माओवादीबाट गैरसांसद कार्चेन लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंहलाई मन्त्री बनाउने तयारी गरेका छन्। त्यस्तै एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया मन्त्री बन्ने भएका छन्।
नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन्। यससँगै कर्णाली मन्त्रिपरिषद् ८ सदस्यीय हुने भएको छ। शाहीले कात्तिक १६ गते सरकारको नेतृत्व सम्हालेका थिए। यसअघि भागबण्डा नमिलेका कारण मन्त्री परिषद्ले पूर्णता नपाएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेको थियो।
नेकपा माओवादीले चार मन्त्रालय र समाजवादीले तीन मन्त्रालयमा दाबी नछोडेपछि भागबण्डा मिलाउन सकस भएको थियो। यसअघिको मन्त्री मण्डलमा माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन्। माओवादी केन्द्रमा भने गैरसांसदलाई मन्त्री बनाउन नहुने भन्दै आलोचना हुन सुरु भएको छ।



लोकपाटी न्यूज
