उत्तर-आधुनिकतावाद के हो ?

Communists_Word_Shabda
लोकपाटी न्यूज

सामान्यतया संस्कृतिमा उत्तर-आधुनिकतावाद सतही शैली, आत्मसचेत उद्धरण तथा व्यंग्यको स्वीकृति र वक्रोक्ति, परिवर्तनशील देखावटी आकर्षणको प्रशंसासँग जोडिएको छ। यो सामान्यतया प्रगतिमा सरल तथा गम्भीर विश्वासको विरुद्ध र वस्तुगत वा वैज्ञानिक सत्यमा विश्वासको विरुद्ध प्रतिक्रियाको रुपमा देखिन्छ। त्यसकारण दर्शनमा यसले आधुनिकताका वृहत् संरचनाहरूको अविश्वासलाई संकेत गर्दछ : पश्चिमी समाजका वृहत् आकारका व्याख्याहरू र प्रगतिमा यसको विश्वास, जुन कांट, हेगेल वा मार्क्समा देखिन्छन्, वा जुन पूर्णताका काल्पनिक विचारहरूबाट उत्पन्न हुन्छन्। जुन विकास, सामाजिक सुधार, शिक्षा वा विज्ञानको उपयोगबाट प्राप्त गर्न सकिन्छ।

यसले आफ्ना उत्तर-संरचनावादी पक्षहरूमा कुनै पनि निश्चित अर्थलाई, वा भाषा र जगतको बीचमा कुनै पनि अनुरूपतालाई, वा कुनै पनि निश्चित वास्तविकता वा सत्य वा तथ्यको वस्तुगत खोजीलाई अस्वीकार गर्ने कुरा सामेल गर्दछ। यो प्रवृत्ति सम्भवतः अत्यन्तै बुद्धिमत्तापूर्ण ढंगले नित्शेद्वारा व्यक्त गरिएको थियो, जसको दृष्टिकोणवाद यो परिकल्पनाको खारेजीको लागि एउटा दार्शनिक विधिको रुपमा देखिन्छ कि वस्तुगत ज्ञान हुन सक्दछ। वस्तुगतता बौद्धिक क्षेत्रमा शक्ति वा प्राधिकारको लागि छद्मभेषको रुपमा व्यक्त हुन्छ। तार्किक वा बौद्धिक चिन्तन घटनाहरूको प्रवाहमाथि भ्रमपूर्ण भिन्नताहरूको स्थापनाको रुपमा व्यक्त हुन्छ। उत्तर-आधुनिकतावादी अवधारणाको विस्तृत चित्रण जी. एफ. ल्योटार्डको ‘उत्तर-आधुनिक अवस्था’ (१९८४) मा गरियो, जसमा मानव-प्रगतिको सिर्जनामा विज्ञानको सफलताको अस्वीकृति, मानवीय शास्त्रहरूमा ज्ञान प्राप्तिको कुनै पनि प्रयासको स्वीकृत अविश्वसनीयताको अतिशयोक्ति, र सामान्य सत्यको अस्वीकृति सामेल छन्।

उत्तरदायित्व – एउटा नैतिक तथा वैधानिक प्रवर्ग। यसले समाजप्रति (सम्पूर्ण मानव जातिप्रति) व्यक्तिको विशेष सामाजिक, नैतिक तथा वैधानिक दृष्टिकोणलाई परावर्तित गर्दछ, जुन उसद्वारा आफ्ना नैतिक कर्तव्य तथा वैधानिक मानकहरूको पूर्तिको विशेषता हो। आफ्नो क्रियाकलापको कर्ता हुनुको कारण मानिसका क्षमता तथा सम्भावनाका पारस्परिक सम्बन्धहरूका दार्शनिक समाजशास्त्रीय समस्याहरू तथा अझ बढी ठोस प्रश्न उत्तरदायित्वको परिधिमा आउँदछन् : कैयौं अपेक्षाहरूको सचेत ढंगले पूर्ति गर्ने, आफ्नोसामु निर्धारित कार्यभारहरूलाई मूर्त रुप दिने मानिसको क्षमता; सही नैतिक छनौट गर्ने, निश्चित परिणाम प्राप्त गर्ने उसको क्षमता। यसको साथसाथै व्यक्ति सही वा दोषी हुनुसँग, उसको कार्यको अनुमोदन हुने वा नहुने सम्भावनासँग, पुरस्कार वा दण्डसँग सम्बन्धित प्रश्न पनि उत्तरदायित्वको परिधिमा आउँदछन्। सम्पूर्ण नैतिक तथा वैधानिक मतहरूमा उत्तरदायित्वको समस्यालाई स्वतन्त्रताको दार्शनिक समस्याको प्रसंगमा हेरिन्छ। तर गैरमार्क्सवादी कृतिहरूमा यसलाई स्वाभाविक रुपमा अमूर्त कृत रुपबाट हल गरिन्छ र यो प्रश्नमाथि आधारित बनाइन्छ कि के मानिसलाई आफ्ना सम्पूर्ण कार्यहरूमा स्वतन्त्र मान्न सकिन्छ।

मार्क्सवादमा उत्तरदायित्वको समस्याले ठोस ऐतिहासिक स्वरूप ग्रहण गर्दछ र यसलाई सम्बद्ध ऐतिहासिक परिस्थितिहरूमा मानिसको यथार्थ स्वतन्त्रताको विश्लेषणको आधारमा समाधान गरिन्छ। शोषण र शत्रुतापूर्ण वर्गविहीन समाजको निर्माण, सामाजिक जीवनमा सचेत नियोजनको प्रचलन, समाजको स्वशासन तथा इतिहासको निर्माणमा जनताको सहभागिता – यी सबैले वैयक्तिक स्वतन्त्रता तथा साथसाथै सामाजिक र नैतिक उत्तरदायित्वमा अत्यधिक वृद्धि गर्दछन्। समाजवादी न्यायशास्त्रमा कानूनको उल्लंघनकर्ताको देवानी, प्रशासनिक तथा फौजदारी उत्तरदायित्वलाई कानूनको उल्लंघनको आधारभूत तथ्यको व्याख्या गरेर कोरा औपचारिक ढंगले होइन, बरु उसको शिक्षा-दीक्षा, क्रियाकलाप, अपराधको अनुभूति, भविष्यमा सही मार्गमा लाग्ने सम्भावनालाई ध्यानमा राखेर निर्धारण गरिन्छ। यो कुराले कानूनी उत्तरदायित्वलाई नैतिक उत्तरदायित्वको नजिक ल्याउँदछ। कम्युनिष्ट नैतिकतामा केवल गरिएको कार्यमात्र होइन, बरु समग्र समाजका हितहरूको जानकारी, अर्थात् अन्ततः इतिहासको प्रगतिशील अग्रगतिका नियमहरूको ज्ञान पनि सामेल छ।

उत्तर-संरचनावाद – उत्तर-आधुनिकवादको एउटा प्रकार, जुन फ्रान्समा संरचनावादको विरुद्ध प्रतिक्रियाको रुपमा परिभाषित गरियो, र जुन डेरिडा, फूको र क्रिस्टेभा जस्ता लेखकहरूसँग सम्बन्धित थियो। शब्दहरूले बाह्य भाषिक वास्तविकतासँग आफ्नो सम्बन्धद्वारा होइन, बरु तिनीहरूको आपसी सम्बन्धद्वारा अर्थ दिन्छन् भन्ने सस्यूरको दृष्टिकोणबाट व्युत्पादन गरेर उत्तर-संरचनावादले शक्तिका सम्बन्धहरूमा वा अचेतनमा तिनीहरूका मूलहरूमा स्वार्थलाई थप्दछ। तर पनि यो संरचनावादी दृष्टिकोणलाई ग्रहण गर्दैन कि अचेतन वा समाजका रूपहरूले संरचनात्मक नियमहरूलाई स्वयं पालन गर्दैनन्, जुन पछि खोज गरिन्छन्। बरु यसले नित्शेको मानवीय परिघटनाहरूको नियमसदृश सामान्यीकरणहरूमा रूपान्तरणको विरोधलाई प्रतिध्वनित गर्दछ, जसले यस्ता दृष्टिकोणहरूलाई मार्क्सवादजस्ता निर्धारणवादी प्रणालीहरूका दार्शनिक आधारहरूसँग जोड्दछ। आत्माको मनोविश्लेषणात्मक विघटनतिर अत्यधिक झुकेर यसले उत्तर-आधुनिकवादको संदेहात्मक स्थितिको एउटा अभिव्यक्ति प्रदान गर्दछ, विशेषगरी वस्तुगतता, यथार्थता र सत्यका कुनै पनि अवधारणाहरूलाई अस्वीकृतिद्वारा।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्