काठमाडौं, १० फागुन । विद्यार्थी नेता विजय थापाले डाक्टर गोविन्द केसीको नाममा जारी प्रेस विज्ञप्तिप्रति आफ्नो गम्भिर आपत्ति रहेको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले डा. केसी फेरि पनि अनशनको चेतावनी दिए अनसनका विरुद्धमा आफू पनि अनसन बस्ने चेतावनी दिए ।
उनले भने, ‘डाक्टर केसी अनसन बस्छन् भने म पनि केसीको बाटो रोज्न पछि हट्दिनँ ।’ उनले कार्यान्वयनको चरणमा रहेको चिकित्सा शिक्षा ऐनविरुद्ध केसीको चर्काे विरोध रहेको भन्दै त्यसमा पनि आपत्ति जनाए । उनले भने, ‘सरकारी मापदण्ड पूरा गरी आशयपत्र लिइसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियामा केसी छटपटाइरहेका छन्, यसबाट नै नेपालको चिकित्सा शिक्षा क्षेत्रमा अघोषित सिण्डिकेट रहेको स्पष्ट हुन्छ ।’
विदेशमा रहेका कयौं नेपाली विद्यार्थीहरुलाई देशमा बिद्यमान दलाल कन्सल्टेन्सीमार्फत बेचिरहँदा कमिशनको लोभमा डा. केसी र उनका समर्थकहरुले कागजको टोपी लगाएर माइतीघरमा नाटकमात्र गर्ने गरेको पनि उनले गम्भिर आरोप लगाए । ‘अष्ट्रेलियाको एआइबिटी कलेजमा अध्ययनरत एक हजारभन्दा बढी नेपाली विद्यार्थी अलपत्र परेको खबरप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ’, उनले भने ।
नेपालमा मेडिकल कलेज खोल्न नदिने षडयन्त्रमा कन्सल्टेन्सीहरु लागिपरेको पनि उनले आरोप लगाए । उनले अलपत्र नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गरि ती दलाल कन्सल्टेन्सीहरुमाथि कारवाहीको पहल अगाडि बढाउन सरकारसँग जोडदार माग गरे । उनले अष्ट्रेलियामा बिचल्लीमा रहेका नेपाली विद्यार्थीको घटनालाई लुकाउने प्रयास भइरहेको बताए ।
तत्काल अलपत्रमा परेका बिद्यार्थीहरुको उद्धार गरि दोषीहरुमाथि कारवाहीको प्रक्रिया अगाडि नबढाइए आफूहरुले कारवाही गर्ने थापाले चेतावनी दिए । उनले भने, ‘ती दलालहरुलाई कारवाही गर्नकै लागि हामीलाई सडकमा जान बाध्य नपारियोस्।’ उनले बंगलादेशबाट डाक्टर पढेर नेपाल फर्कने क्रममा त्रिभूवन बिमानस्थलमा बिमान दुर्घटनामा परि ज्यान गुमाएका घर परिवारलाई तत्काल क्षतिपूर्तिको ब्यवस्था गर्न पनि माग गरे ।
उनले बंगलादेशको कालोसूचिमा परेका त्यहाँको मेडिकल कलेजबाट ठगिएका छ सयभन्दा बढी विद्यार्थीको उद्धार तथा दोषीमाथि कडा कारवाही गर्नपनि सरकारसँग माग गरेका छन् । काठमाडौँ बाहिर खोलिन लागेका मेडिकल कलेजहरुको निर्माण चाँडै होस् भन्दै उनले नेपालमा नै अध्ययन गर्ने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘नेपालमा एम.डी. तथा पिजी क्लासको कोटा बढाउन पनि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
हिजो काठमाडौँ बाहिर मेडिकल कलेज खोल्नेलाई तथानाम गाली गर्दै गोविन्द केसीले अनसनको नाटकमञ्चन गरेको उनको आरोप छ । उनले भने, ‘गोविन्द केसी र विवेकशिल साझाहरु आज नेपाली विद्यार्थीहरु विदेशमा अलपत्र बनि रुँदै चिच्याउँदै सञ्चार माध्ययमबाट गुहार माग्दा किन मौन बसेका छन् ? म प्रश्न गर्न चाहन्छु।’
यो देशको शैक्षिक माफियाहरु को–को हुन् भन्ने कुरासमेत प्रष्ट भइसकेको उनले बताए । उनले नेपालमा मेडिकल कलेज खोल्न नदिने, नेपालको समस्त स्वास्थ क्षेत्रलाई लथालिङग बनाई भाँडभैलो मच्चाउने अभिप्राय राखेर बस्ने कुनै पनि आमरण अनसनबिरुद्ध आफू अनसन बस्न कुनै पनि हालतमा पछि नहट्नेसमेत स्पष्ट पारे । डा. केसीको धम्की र आमरण अनसनको नाटक मञ्चनलाई फेरि पनि देशको जुनसुकै कुनाबाट चुनौती दिन आफू तम्तयार रहेकोे उनको भनाइ थियो ।



लाेकपाटी न्यूज

