माओवादी केन्द्रकाे प्रदेश १ अधिवेशन स्थगित

CPN-Maoist-Centre
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन स्थगित भएको छ । सोमबार दिनभर अध्यक्ष र पदाधिकारीमा सहमतिको प्रयास असफल भएपछि सोमबार र मंगलबार दुई दिनका लागि अधिवेशन स्थगित गरिएको हो ।

माओवादी केन्द्रको विधानमा चुनावी प्रकृयाबाट पदाधिकारी चयनका क्रममा उम्मेदवार भएर माथिल्लो कमिटीमा सहभागी हुन नपाउने भएपछि सहमतिबाटै अध्यक्ष र पदाधिकारी चयनका लागि प्रयास हुँदै आएको थियो । नयाँ नेतृत्वमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सहमतिको नाममा अधिवेशन लम्बिएको थियो ।

यसअघि नयाँ नेतृत्वका लागि २५९ सदस्यीय कमिटी बनाउने सहमति जुटेको थियो । तर अध्यक्ष र पदाधिकारीमा भने सहमति जुट्न सकेको थिएन । अब बन्ने अध्यक्ष र पदाधिकारीको चयन सदस्यहरुबाट गरिनेछ ।

प्रदेश अध्यक्षको दौडमा वर्तमान अध्यक्ष सुरेशकुमार राई, सचिव हेमराज भण्डारी, केन्द्रीय सदस्य इन्द्रबहादुर आङ्बो र सुदन किराँती छन् ।प्रदेश अधिवेशनले पार्टीको विधानअनुसार अध्यक्ष एक, उपाध्यक्ष महिलासहित तीन, सचिव एक, सहसचिव तीन र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित गर्नेछ ।

शनिबार मोरङको विराट चोकमा सुरु प्रदेश सम्मेलनले आइतबारसम्ममा नेतृत्व चयन गर्ने कार्य तालिका थियो । तर, नेतृत्वको आकांक्षी धेरै भएर सहमति हुन नसक्दा अधिवेशन लम्बिन पुगेको हाे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्