सामाजिक संजालको दुरुपयोग : निम्तिन सक्छन् यस्ता खतरा

shivajit tiwari
लोकपाटी न्यूज

शिवजी तिवारी/पाेखरा । लेखन मेरो पेशा हाेइन।आफ्नो लेखाइबाट म सन्तुष्ट पनि हुन सक्दिनँ। जब आन्दोलनका ज्वारभाटा अन्तर्क्रियामा प्रकट भएर प्रस्फुटन हुने चाहाना राख्दै संघर्ष गर्दछन्, तब म त्यही आन्दोलनको ब्यवस्थापनका निम्ति लेख्ने गर्दछु। लेखन मेरो निम्ति आन्दोलनको अभिव्यक्तिको माध्यम नभेटिन्जेलसम्मको लागि वैकल्पिक माध्यम हो। म खोजीको तत्व नभेटेपछि लेख्ने गर्दछु। जब आफैंभित्र विचारमा द्वन्द्व हुन्छ, तब उपयुक्त शब्द चयन गरेर इच्छुकहरुले हेरुन् भनेर लेख्ने गर्छु।

म के लेखु लेखुँ भएर विचारशुन्य क्षणमा घोरिरहेको थिएँ। सधैंझैँ मेरो एकजना मित्रले मैले कोही साथीलाई म्यासेन्जरमा पठाएको म्यासेजको प्रसङ्ग तोडमोड गरेर अर्थको अनर्थ आउने गरि स्क्रिनसट लिएको फोटो देखायो। अरु समयमा हुन्थ्यो भने म उसको त्यस्तो कुरामा रमाइलो मान्दै गफगाफ गर्थें होला तर केही समयदेखि त्यो साथीको हर्कतले आजित, त्यो प्रसङ्गको आवगमनले मात्रै पनि विचलित हुने पुगें। आफ्नो सोचेको मान्छेले उल्टो बाटो लिएको देखेपछि जो कोही प्रति शंकाभाव पैदा भैहाल्ने । म आजको दुनियाँमा सकेसम्म अभ्यस्त बन्न खोजेको ब्यक्ति पनि यस्तो तनावमा पुग्नुपर्ने अवस्था आइपुग्यो भने अरु सामान्य मान्छेलाई सामाजिक संजालको दुरुपयोगले कुन अवस्थामा पुर्याएको होला ? सोच्दा मात्रै पनि मन झसङ्ग हुन्छ।

हुनत: सामाजिक संजालले विश्व भूगोललाई निकै साँघुरो बनाउँदै लगेको छ। विज्ञान प्रविधिले संचार क्षेत्रमा दिनप्रतिदिन फड्को मार्दै गईरहेको छ । अमेरिकामा भएको छोराछोरीलाई बेलुका खाना पकाएर खाँदै गर्दा हामीले त यस्तो तरकारी खाँदै छौं तिमीहरूको के छ ? भन्न पाइने होस् वा साउदीमा भएकाे श्रीमानलाइ हेर्नू न छोराले होमवर्क गरेन भन्दै कुरा लगाउन पाइने..! अझ आफूलाई भएको खुशी, दुख होस् या मञ्च नपाउनाले प्रस्तुत गर्न नपाएको आफ्नो भावना, सबै एकै ठाउँमा राख्न पाइने सामाजिक संजाल शब्दभेदी वाणभन्दा कम्ति छैन।

हाम्रो देशमा पनि प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारले पछिल्लो समय सामाजिक सञ्जाल लोकप्रीय बन्दै आएको छ। साथीसंगीसँग निकट हुन, आफ्ना भावना अरुसम्म पुर्‍याउन मात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रुपमा पनि फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालको भूमिका देखिएको छ। युवकयुवती मात्र नभई बालबालिका र प्रौढ अवस्थाका सर्वसाधारण पनि सामाजिक सञ्जालमा अभ्यस्त भइरहेका छन्।सामाजिक संजालको उपयोगले हामीलाई मानवता, सहिष्णुता लगायत ज्ञान-विज्ञान, सहरीकरण, पूर्वाधार विकासका धेरै कुरा सिकाएको छ। विज्ञान प्रविधिको उपयोगिता छर्लङ बनाएको छ। मुख्यतः सहयोग आह्वान र समायोजन गर्ने थलो पनि बनेको छ सामाजिक संजाल। यसले कति गरिब बिरामीलाई अस्पताल पुर्‍याएको छ, कति भोकालाई केही छाक खाना खुवाएको छ, केही बिचल्लीमा परेकाको ज्यान पनि जोगाएको छ। कैयाैंलाई सूचना पुर्‍याएको, घर-छर-छिमेकको खबर पुर्‍याएको छ त कैयाैंलाई हौसाएको पनि छ।

लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन्। सामाजिक संजाल दुरुपयोगका कारण धेरै समस्या निम्तिरहेको छ । सामाजिक संजालको बढ्दो दुरुपयोगका कारण धेरै विकासाेन्मुख देशका किशोरकिशोरी तथा युवाहरू निकै ठूला समस्यामा परिरहेका छन्। नेपालमा पनि युवा युवतीहरु जोखिममा परिरहेको छन्।

उदाहरणको लागि केही समय अगाडि रुकुमका दुईजना युवती फेसबुक मार्फत् एक युवकको माया जालमा परेछन्। उनीहरुको फेसबुक मार्फत नै चिनजान भएछ । उनीहरुको दैनिकजसो नै फेसबुकमा कुरा हुन थालेछ । युवकले ती युवतीको कमजोर पक्ष पत्ता लगाएपछि ती युवतीलाई घुम्न भनेर महेन्द्रनगर बोलाएछन् । तर उनीहरुले महेन्द्रनगर आएपछि मात्र आफूहरु बेचबिखनको जोखिममा परेको थाहा पाएको बताएका थिए (श्रोत: हिमशिखर टिभीको वेबसाईट ) ।

माइती नेपाल नामको संस्थाको तथ्यांक हेर्दा १ वर्षको अवधिमा ४० भन्दा वढी युवतीहरु समाजिक संजाल फेसबुक र मोवाईल फोनबाट सम्वन्ध बढाएर अर्काको प्रलोभनमा परि भारततिर गइरहेका भेटिएको उल्लेख छ।

यसैको पछिल्लो उदाहरणको रुपमा देखिएको छ सामाखुसीमा रहेको प्रहरी विद्यालयका छात्र कुन्दन थापाको मृत्यु प्रकरण। उनको मृत्युको कारण सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग देखिएको छ। घटनाको छानबिन गर्न गठित समितिले सहपाठीसँग बदला लिन १४ वर्षीय कुन्दनले फेसबुकमा नक्कली खाता खोलेर अश्लील सामग्री राखेको घटना खुलेपछि आत्तिएर ‘आत्महत्या’ गरेको निष्कर्ष निकालेको थियो( श्रोत: हिमाल खवर)।

माथि उल्लेखित उदाहरणहरुलाइ मात्रै केलाउने हो भने पनि सामाजिक संजालको हाम्रो समाजमा दुरुपयोग कसरी भैरहेको छ र यसको प्रभाव कस्तो परिरहेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।

संसारमा अरु जीव त्यतिको अधैर्य छैनन्, जत्तिको शिक्षित मानवहरु छन् । बुझिने भाषामा भन्ने हो भने मानिसहरूमा बुर्जुवा शिक्षाले मानिसको निम्ति प्रकृतिले बनाएको सीमाहरु भत्काइरहेको छ । अब शिक्षित मनहरुको कुनाबाट सत्यध्वनि निक्लन सम्भव छ र म स्वयम् त्यसको मतियार बनिरहेको छु । मलाई कहिलेकाहीँ लाग्दछ मानिसको विफलता आधुनिक बुर्जुवा शिक्षा हो र शिक्षाको विफलता पैसा हो । सत्य पैसा ओकल्न सक्तैन अर्थात् शिक्षा पूर्णतः असत्यको मार्गमा छ। शिक्षित मानिसहरू शासन गर्न चाहन्छन् ।

मानिसमा जति शासन गर्ने चाहाना उत्प्रेरित हुन्छ, त्यसपछि कसैको केही लाग्ने रहेनछ । जब शासनको भोक जाग्दछ तब आफू अग्लो भएर मात्रै उनीहरुको चित्त नभरिने रहेछ । उनीहरु अरुलाइ झन् कसरी थेचार्ने भनेर बढी कसरत गर्ने रहेछन्। आज यिनै शासन गर्ने चाहाना बोकेकाहरुको कब्जामा पुगेको छ सामाजिक संजाल । कसलाई लगाएर कुनलाई साइजमा ल्याउने भन्ने कुटील चालमा सामाजिक संजाल दुरुपयोग भइरहेको छ । कतिपय अवस्थामा भएको सामाजिक संजालको दुरुपयोगले भ्रामक सूचना/समाचार/खबर फैलिन कत्ति पनि बेर लाग्दो रहेनछ र यस्ता खबरले मान्छेलाई क्षणभरमै उत्तेजित र निस्तेजित पार्दोरहेछ।

त्यसैले सामाजिक संजाल मार्फत् आनाहकमा मान्छे त्रसित बनाउनेदेखि आधारहिन कुरा उचालेर मान्छेलाई सत्य/ असत्यको भ्रम सृजना गर्ने जस्ता गलत परिपाटी हटाउन आवश्यक छ। यस्तो परिस्थितिमा हामी प्रत्येक सामाजिक सञ्जाल प्रयोगकर्ताको के जिम्मेवारी हुन्छ त्यो बुझ्नु जरूरी हुन्छ। त्यसैले कुनै पनि कुरा प्रसारित वा सेयर गर्नु पूर्व सबैले त्यो कुरा सत्य हो-होइन आफैं बुझ्ने प्रयास गर्नुहोला। सबैलाई शुभकामना !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्