भाेजपुरे दुई प्रतिभा अन्तर्राष्ट्रिय अवार्डबाट दुबईमा सम्मानित

लोकपाटी न्यूज

काठमाडौं। ग्लोबल इन्टरनेश्नल अवार्डबाट भाेजपुरका दुई प्रतिभा सम्मानित भएका छन्। वल्डवाइड मिडिया नेटवर्क र इनास युनाइटेड अरब इमिरेट्सद्वारा संयुक्त रूपमा हालै दुबईमा आयोजित दोस्रो ग्लोबल इन्टरनेशनल अवार्ड वितरण समारोहमा साे अवार्डबाट अभिनेता, स्क्रीप्ट राइटर एवम् निर्देशक जीवन थापा ‘क्षितिज’ र र‌ंगकर्मी, लेखक तथा निर्देशक किशाेर अनुराग सम्मानित भएका हुन् ।

भाेजपुरमा जन्मिएर हाल काठमाडाैंलाई कर्मथलाे बनाइरहेका यी दुवै प्रतिभाले अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड जित्न सफल भएका छन्।

अवार्ड जित्न सफल थापाले विभिन्न फिल्मकाे स्क्रिप्ट लेखन, दर्जनाैं म्युजिक भिडियाेमा माेडलिङ तथा दर्जनाैं नाटकमा लेखन, निर्देशन र अभिनय गरिसकेका छन्। सानै उमेरदेखि कलाकारीता क्षेत्रमा तल्लिन उनले पछिल्लाे समय फिल्म निर्देशनमा समेत हात हालिसकेका छन्।

उनले चलचित्र ‘अन्तिम पाना’ को स्क्रिप्टबाट उत्कृष्ट स्क्रिप्ट लेखनका निम्ति साे अवार्ड प्राप्त गरेका हुन् । उनी चलचित्र ‘अन्तिम पाना’ का निर्देशकसमेत हुन् । दुई घन्टा समयावधिको सो चलचित्र एकल पात्रद्वारा अभिनित सम्भवतः विश्वकै पहिलो चलचित्र हुने विश्वास गरिएको छ ।

त्यस्तै, अवार्ड जित्न सफल अर्का भाेजपुरे प्रतिभा किशाेर अनुरागले र‌ंगमञ्च, टेलि सिरियल  र चलचित्रकाे क्षेत्रमा लामाे अनुभव संगालिसकेका छन्। उनले नाटककाे क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पारिसकेका छन्।

सानै उमेरदेखि कलाकारीता क्षेत्रमा तल्लिन अनुरागले कयाैं नाटकमा लेखन, निर्देशन र अभिनय तथा विभिन्न टेलि सिरियलकाे लेखन तथा निर्देशन गरिसकेका छन्। उनले टेलि सिरियल ‘मादलकाे खरी’बाट उत्कृष्ट निर्देशनका निम्ति साे अवार्ड प्राप्त गरेका हुन्।

दुबईका राजपरिवार सचिव खलिफा साइत मुसेफाको प्रमुख आतिथ्यतामा आयोजना भएको साे कार्यक्रममा विभिन्न देशका नोमिनेट विधासँगै थापा उत्कृष्ट स्क्रीप्ट राइटर अवार्ड र अनुराग उत्कृष्ट निर्देशक अवार्डद्वारा सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्