मोरङमा युवाहरूबीच ग्याङ फाइट, १ जनाको हत्या

लोकपाटी न्यूज

काठमाडाैं। युवाहरूबीच ग्याङ फाइट हुँदा मोरङमा एक जनाको हत्या भएको छ । मोरङको बूढीगंगा गाउँपालिका ६ स्थित कोयलपुरमा आइतबार राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो ।

२६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । बुढीगंगा ६ का नानु लिम्बूको भतिजीको बर्थ–डे (जन्मदिन) मनाउन रिजन आइतबार राती घर गएका थिए । बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका बुढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ/सात जनाको समूहसँग दाहालको विवाद भएको थियो ।

समूहमा विवाद बढ्दै गएपछि उनीहरुले रिजनलाई लिएर बुढीगंगा ६ डम्बर बाहदुर लिम्बुको बारीमा लगेर आक्रमण गरेका थिए । उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ ।  त्यसपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ ।घटनाबारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्