विवेकशील साझाका १२ नेताले गरे पार्टी परित्याग (सूचीसहित)

Rabindra-Misra_Milan-Pandya
लोकपाटी न्यूज

काठमाडौं। विवेकशील साझा पार्टीका १२ जना नेताले एकै पटक पार्टी परित्याग गरेको घोषणा गरेका छन्। स‌ंयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्। अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी गरेकोले आफूहरूले पार्टी परित्याग गर्नुपरेको भन्दै उनीहरूले आजैका दिनदेखि पार्टीको पदीय जिम्मेवारी र सामान्य सदस्यसमेत त्याग गरेको घोषणा गरेका हुन्।

पार्टी परित्याग गर्नेमा नेताहरू दीपक पौडेल, प्रकाश आचार्य, अशोक खड्का लगायत छन्। उनीहरूले वैकल्पिक राजनीतिलाई विवेकशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्यु शैय्यामा पुर्‍याएको आरोप पनि लगाएका छन्। दुई फरक पार्टीलाई एक ठाउँमा ल्याएर तोकिएको समयमा एकता महाधिवेशन गर्न लाग्नुको साटो अध्यक्ष मिश्रले एकताको मर्म विपरीत एकल दस्तावेज सार्वजनिक गरेको वक्तव्यमा उल्लेख छ।

‘एकता महाधिवेशन छाडेर अनावश्यक र पार्टीको लाइन विपरीतका मुद्दाहरूलाई बहसमा ल्याएर पार्टी अध्यक्षले वैकल्पिक राजनीतिको गलत व्याख्या गरेको हाम्रो बुझाई हो। मिश्रको यो कदमले देशको अवस्था परिवर्तन गर्ने सपना साँचेर वैकल्पिक राजनीतिमा लागेका युवाहरूको घोर अपमान भएको छ,’ वक्तव्यमा भनिएको छ। अध्यक्ष मिश्रको एकलौटी निर्णयहरू र लाइन विपरीतका बहसहरू देखिसकेपछि उनीबाट वैकल्पिक राजनीतिको यात्रा सम्भव नभएको ठहर आफूहरूले गरेको पनि उनीहरूले बताएका छन्।

‘नेतृत्वबाट पार्टीभित्रको समस्या समाधान गर्नेभन्दा पनि पार्टीलाई कसरी हुन्छ टुक्राउने भन्ने खालको अस्वाभाविक हर्कहरू हुन थालेपछि हामीले अब उपरान्त आफ्नो समय र ऊर्जा विवेकशील साझा पार्टीको लागि खर्च गर्नु बरबादीतर्फ होमिनु हो भन्ने ठान्यौं। र, आजैका दिनदेखि विवेकशील साझा पार्टीको पदीय जिम्मेवारी र सामान्य सदस्य समेत त्याग गरेको घोषणा गरेका छौं,’ वक्तव्यमा भनिएको छ, ‘यद्यपि देशको अवस्था परिवर्तन गर्न हामी विभिन्न ठाउँबाट प्रयत्नशील रहिरहनेछौं।’

यी हुन् विवेकशील साझा परित्याग गरेका नेताहरू

१. दीपक पौडेल (केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी तथा केन्द्रीय अभियान विभाग सदस्य), २. प्रकाश आचार्य (केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी तथा युवा संगठन), ३. अशोक खड्का (गण्डकी प्रदेश सदस्य तथा अभियान विभाग प्रमुख), ४. सुदिप ओझा (गण्डकी प्रदेश सदस्य तथा कार्यालय व्यवस्थापन प्रमुख), ५. पदम न्यौपाने (गण्डकी प्रदेश सदस्य तथा संगठन विभाग प्रमुख )

६. सागर घिमिरे (तनहुँ जिल्ला संयोजक तथा गण्डकी प्रदेश सदस्य), ७. मनिषा मगर (केन्द्रीय सदस्य युवा संघठन), ८. सलमान अलि (व्यास नगर संयोजक), ९. महेन्द्र आचार्य (केन्द्रीय सदस्य, विवेकशील साझा युवा संगठन), १०. भिमनारायण कोईरला (स्यांजा जिल्ला संयोजक तथा गण्डकी प्रदेश समिति), ११. विश्वराज अछामे (म्याग्दी गाउँपालिका संयोजक, तनहुँ), १२. बिप्लटा ढुंगाना ( व्यास नगर सह-संयोजक )

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्