‘छक्का पञ्जा ४’ को ट्रेलरमा अटाएनन् जितु, गरे फिल्ममा नरहने घोषणा

लोकपाटी न्यूज

काठमाडाैं। हास्य कलाकार जितु नेपालले फिल्म ‘छक्का पञ्जा ४’ मा आफू नरहने बताएका छन् । सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रममा बाेल्दै फिल्मको अहिले बनेको ट्रेलरमा आफू नअटाउनु भनेको फिल्ममा नरहने संकेत भएको बताएका हुन् ।

उनले भने, ‘हिन्दी फिल्मका दर्शकसम्म पुगेको ‘छक्का पञ्जा ४’ को ट्रेलर म अटेको छैन । यस्तो बेला नअटेको म, सायद फिल्ममा पनि रहन्न होला। म सामान्य कलाकारलाई दीपक दाई र दीपा दिदीले फिल्मको हिरो समेत बनाइसक्नु भएको छ । मेरो लागि उहाँहरुले धेरै गर्नु भएको छ । सधै उहाँहरुबाट मैले आस राख्नु पनि हुँदैन ।’

महानायक विवादका कारण ‘मुन्द्रेको कमेडी क्लब’ बाट निर्देशक दीपाश्री निरौला बाहिरिएसँगै जीतु र ‘छक्का पञ्जा’ टिमबीच मनमुटाव बढेको जनाइएकाे थियाे । तर, सार्वजनिक कार्यक्रममा भने उनीहरुले आफ्नो सम्बन्ध राम्रो रहेको सन्देश दिँदै आएका थिए ।

दीपक राज गिरी र दीपाश्री निरौलाले बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्न पुगेका दर्शकलाई ‘छक्का पञ्जा ४’ आउने जानकारी दिन एक ट्रेलर बनाएका छन् । सो ट्रेलर ‘छक्का पञ्जा’ सिरिजका कलाकार अटे पनि जितु भने अटेका छैनन् । यस अगाडि ‘छक्का पञ्जा’का तीनवटै सिरिजमा देखिएका उनी चौथो सिरिजमा नदेखिनुले उनी फिल्ममा नरहने संकेत गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्