पेरिस कम्युन सर्वहारा वर्गको सत्ता स्थापित गर्ने पहिलो प्रयास थियो र यो श्रमिक वर्गका आन्दोलनको इतिहासमा एउटा अविस्मरणीय घटना थियो। यस प्रयासमा लामो वर्गसंघर्ष पश्चात १४ मे १८७१ का दिन पेरिसका मजदुरहरूले सत्ता आफ्नो हातमा लिएपछि विश्व मजदुर आन्दोलनले नयाँ ऐतिहासिक मोड लियो। यो परिघटना ‘पेरिस कम्युन’को नामले इतिहासमा अंकित छ। यसका सफलता र असफलता मजदुर आन्दोलनको लागि सधैं अध्ययनको विषय रहने छन्। युरोपमा १८४८-५० को दमनपछि शिथिल भएको मजदुर आन्दोलनको अर्को सशक्त लहर १८६०का दशकको अन्तिम चरणदेखी सुरु भयो। यी आन्दोलन र तिनका परिणामको लामो फेहरिस्त छ। यसको उत्कर्ष १८७१मा फेरिसमा भएको मजदुर विद्रोहबाट इतिहासमा पहिलो पटक सर्वहारा सत्ताको स्थापना गर्नु थियो। यो घटना मजदुर आन्दोलनको इतिहासमा कोषेढुंगाको रूपमा अभिलिखित छ। मार्क्सका शब्दमा भन्ने हो भने, ‘पेरिसको संघर्षबाट मजदुर वर्गको पूँजीपति वर्ग र यसका राज्यसत्ता विरुद्धको संघर्ष एउटा नयाँ चरणमा प्रवेश गरेको छ।’ (मार्क्स – चुनिएका पत्राचार, मस्को)।
पेरिस कम्युनको पूर्वाधार जर्मनको सबभन्दा बलियो राज्य प्रुसिया र फ्रान्स बीच १८७०मा सुरु भएको युद्धबाट निर्माण भएको थियो। फ्रान्समा सम्राट लुइस नेपोलियन बोनापार्ट शासक थियो। प्रुसियन सेनाबाट चाँडै पेरिस कब्जा हुने खतरा देखेपछि उ भागेर गयो। उसको ठाउँमा बुर्जुवा शासकीय वर्गको ‘नेशनल डिफेन्स’ले सत्ता हातमा लियो। तर, तिनीहरू फ्रान्सको रक्षा भन्दा त्यहाँको सशक्त मजदुर आन्दोलनलाई समाप्त गर्न बढी इच्छुक थिए। यो जमात चाडै राष्ट्रघातमा ओर्लियो र प्रुसियन शासक विस्मार्कसँग युद्धविराम समझोता गर्न पुग्यो। पेरिसमा देशको रक्षाका लागि मजदुर वर्गले गठन गरेको सशस्त्र बल ‘नेशनल गार्डल’ पेरिसको रक्षार्थ तम्तयार अवस्थामा थियो। त्यसले यस सम्झौतालाई रोक्न खोज्दा संघर्ष सुरु भयो र नेशनल गार्डले विद्रोह गरी पेरिस कब्जा गर्यो। यसमा पेरिसका श्रमजीवी महिलाहरूको अविस्मरणीय भूमिका रहेको छ। जब सरकारले मजदुर वर्गको हातबाट तोपखाना खोस्न खोजे महिलाहरू त्यसको प्रतिवादमा ओर्लिएर सरकारको त्यस प्रयासलाई विफल पारे। तर, आन्दोलनको नेतृत्व स्पष्ट रूपमा कुनै राजनैतिक संगठन वा व्यक्तिको हातमा नभएकोले नेशन गार्डले सत्ता निर्वाचित कम्युनको हातमा दियो।
पेरिस विद्रोहमा सर्वहाराको विजय मार्क्सका सैद्धान्तिक प्रस्थापनाहरूको मूर्त प्रकटीकरण थियो। यस घटनापछि राजनैतिक सत्ता मजदुर वर्गद्वारा निर्वाचित कम्युनको हातमा थियो। मार्क्सले भने यो श्रमजीवी वर्गको राज्यसत्ता हो र यसले श्रमजीवी वर्गलाई शोषणमुक्त गर्ने छ। बाकूनिन लगायतका अराजकतावादीहरूले ठिक यसको विपरीत- मजदुर वर्गले सरकार गठन गरी गल्ती गरेको निष्कर्ष निकाल्दै सम्पूर्ण दुष्टताको जड नै सरकार हो। त्यसकारण कम्युनले सरकार गठन गरेर गल्ती गरेको छ भनेर त्यसको विरोध गरे। मजदुर वर्गमा बाकूनिन, प्रुधौ समूहको बढी प्रभाव थियो जसको भनाई थियो- श्रमजीवी वर्गले कसमाथि शासन गर्ने ? श्रमिक जनताले आफैले आफैमाथि राज्य गर्ने हो, त्यहाँ कुनै सरकारको आवश्यकता हुँदैन। यस मतभिन्नताले गर्दा उत्पन्न अन्योलमा सम्पूर्ण क्रान्तिकारी मजदुर क्रान्तिको रक्षाका लागि एकजुट हुन सकेनन्। यसबाट मजदुर आन्दोलन र त्यसको लक्ष्य तथा मजदुर सत्ताबारे त्यसवेला मजदुर आन्दोलनभित्र रहेका परस्पर विरोधी अवधारणा स्पष्ट हुन्छन्।
दुइटै विचार मजदुर वर्गको मुक्तिको लक्ष लिएका थिए। तर, प्राप्तिको बाटो मार्क्सको विचारमा सर्वहाराको मुक्तिका लागि उसकै सत्ता हुनुपर्छ भन्ने थियो भने अराजकतावादीहरू राज्यसत्ता समाप्त गर्न त मजदुर आन्दोलन नभई हुँदैन। तर, राज्यसत्ता फालिसकेपछि जनताले आ-आफ्नो स्थानमा आफ्नै किसिमले गर्नु पर्छ, कुनै केन्द्रीय सत्ता चाहिँदैन। यसले के देखाउँछ भने क्रान्तिकारी वर्ग र आन्दोलनको रूप उही भएपनि चिन्तनको भिन्नताले क्रान्तिको लक्ष्य र सारमा नै फरक हुन जान्छ।
पेरिस कम्युन मात्र ७२ दिन बाँच्यो। तर, यस छोटो अवधिमा पनि त्यसले प्राप्त गरेका उपलब्धि तथा आम श्रमजीवी जनताको मुक्तिका लागि अपनाइएका कार्ययोजना व्यापक महत्त्वका थिए। जननिर्वाचित पदाधिकारीहरूले सही काम नगरेको खण्डमा पदभार मुक्त गरी फिर्ता बोलाउन सकिने प्रावधान लागू गरियो। तिनको पारिश्रमिक सामान्य कामदार सरह नै कायम गरियो। न्यायाधीशहरू, आवश्यक परे तिनलाई फिर्ता बोलाउन सकिने प्रावधानसहित, जननिर्वाचित थिए। प्रहरीलाई शासक होइन जनसेवकको रूपमा रूपान्तरित गरियो।
जनतामाथि लादिएका अतिरिक्त कर खारेज गरिए। अति आवश्यक बस्तु तथा सेवाको मूल्य निश्चित गरियो। श्रम व्यवस्थापन सहित बेरोजगार भत्ताको व्यवस्था गरियो। लाखौं मानिसलाई आपत्कालीन अवस्थामा गाँसबासको व्यवस्था गरियो। बन्द कलकारखानाहरूलाई मजदुरहरूको स्वामित्वमा हस्तान्तरण गरी पुनः सञ्चालन गर्ने योजना बनाइयो र रोजगार दाताले कामदारलाई जरिवाना गर्ने व्यवस्था खारेज गरियो। तर, दुःखद कुरा, तिनले बैंकहरूको सम्पत्ति अधिकरण गर्न सकेनन् र त्यसको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन सकेनन्। जसको भरपुर फायदा प्रतिक्रान्तिकारी पूँजीपतिहरूले उठाए र क्रान्तिको दमन गर्नमा प्रयोग गरे। अर्को गल्ती पेरिसबाट भागेर भर्सेलमा बसेको थेयरसको सरकारलाई समाप्त गरेनन्। उसले विस्मार्कसँग कम्युनलाई समाप्त गर्न सम्झौता गरी जर्मनीमा बन्दी बनाइएका फ्रान्सेली सैनिकहरूलाई मुक्त गर्न अनुरोध गर्यो र तिनै सैनिकको बलमा १ अप्रिल १८७१मा मजदुर सत्तामाथि आक्रमण गरेर कम्युन समाप्त गरियो।



लोकपाटी न्यूज

