काठमाडाैं। लसुन एक महत्वपूर्ण घरेलु औषधी हो । त्यसैले यसलाई घरायसी रुपमा प्रयोग समेत गर्ने गरिएको छ । प्राचिन समयदेखि नै विभिन्न भोजन र तरकारीमा मसलाको रुपमा लसुनको प्रयोग हुँदै आएकाे पाइन्छ । लसुनले शरिरभित्र पैदा हुने अनेकौं रोगहरुको नाश गर्दछ ।
लसुनले पाचन शक्तिलाई बढाउँछ । हृदय र कलेजोलाई उत्तेजक पार्न, महिलाहरुको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्दछ । पिसावको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ ।
गर्भावस्थामा भने यसको प्रयोग गर्नु राम्रो हुँदैन ।लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका विभिन्न भागलाई नियमित रुपमा काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका विभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ । क्यान्सरको समस्यामा पनि लसुन लाभदायक देखिएको चिकित्सकहरुकाे अनुसन्धानले पुष्टि गरेको छ ।
यी हुन् लसुन खानुका फाइदाहरुः
ग्याष्टिकः विहान उठ्ने वित्तिकै नियमित एक केस्रा लसुनलाई मनतातो पानीसँग खाने गर्नले ग्याष्टिकको समस्या कम हुँदै जान्छ । त्यसैगरी भाेक जगाउनुका साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ । पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा विहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २/३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ ।
उच्च रक्तचापः लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न र मुटु सम्बन्धि समस्याबाट जोगाउन सहयोग पुर्याउँछ । उच्च रक्तचापका लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा भने एकै पटक नभएर पटकपटकको खानासँग खानु राम्रो हुन्छ ।
कोलेस्टेरोलः दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडितहरुका लागि समेत निकै फाइदा गर्दछ । लसुनले रगत पातलो बनाउने र रगत प्रबाहलाई सहयोग पुर्याउने गर्छ ।
रुघाखोकीः लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डडाउने । उक्त तेललाई मन तातो भएपछि रुघा लागेको बच्चाको नाकको प्वाल बाहिर दल्ने, तेल छाती, घाटी, ढाडमा सेकाउँदै मालिस गर्ने । निधार र नाक वरिपरि या तेल लगाउने गर्दा स–साना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ । यो प्रयोगले ठुला व्यक्तिलाई पनि फाइदा गर्दछ ।
पाचनः लसुनले आन्द्रा सफा राख्न मद्दत पुर्याउँछ । यसले पाचन प्रक्रियालाई उत्तेजित पार्ने काम गर्छ । जसका कारण भोक बढाउने काम गर्दछ । खानासँगै ३÷४ केस्रा लसुन विहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ । यसो गर्नाले पाचन प्रक्रिया बलियो हुन्छ र अरुची हट्छ । पेटमा हुने एसिड उत्पादनलाई पनि लसुनले बन्द गरिदिन्छ । लसुनले तपाईको तनाव पनि कम गरिदिन्छ । तपाईलाई जतिबेला डर लाग्छ, पेटमा एसिड बन्ने गर्छ । लसुनले यस्तो प्रकारको एसिड बन्नबाट रोक्छ ।
स्वास प्रणालीः लसुन स्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले आस्मा, निमोनिया, ब्रोन्काइटिस, ट्युबरक्लोसिस,फोक्सोमा जमेको कफ आदि रोकथाममा र उपचारमा पनि निकै प्रभावकारी हुन्छ ।
जोर्नी दुखाईः एक पाउ लसुन थिचेर एक चौथाई जति तेल र चार चौथाई जति पानी एउटै भाडोमा राखेर घोल्ने । त्यस घोललाई मन्द आगोमा पकाउने । पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भएपछि तेललाई छानेर शिशीमा राख्ने । यो तेल दिनको ३÷४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने र मालिस गर्ने गर्दा आराम हुने गर्दछ ।
हृदयघातः लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्ने थुप्रै मानिसहरुको विस्वास छ । लसुनले मानिसको रक्त सञ्चारलाई नियमित राख्नुका साथै यसले हृदयसम्बन्धि समस्याहरुबाट पनि टाढा राख्दछ । यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्छ ।
कपाल दुखाइः कपाल दुखेमा दुवै कनपारामा लसुन पिसेर लगाएमा कपाल दुख्ने समस्या हट्छ ।
वैकल्पिक उपचारः लसुनमा शक्तिशाली तत्व पाइन्छ । यसमा पाइने तत्वले शरीरमा परजीवी र किराहरुबाट बचाउँछ । विभिन्न रोगहरु जस्तै डाइबटिज, डिप्रेसन तथा केही प्रकारको क्यान्सरको रोकथाममा पनि लसुन सहायोगी हुन्छ । यदि तपाईले काँचो लसुनको सेवन गर्न सक्नुहुन्न भने यसलाई पोलेर वा भुटेर पनि खान सक्नुहुन्छ ।



लोकपाटी न्यूज

