फुटकाे संघारमा विवेकशील साझा : मिश्र र पाण्डे पक्षले बोलाए अलग-अलग बैठक

लोकपाटी न्यूज

काठमाडौं। विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले अलग-अलग केन्द्रीय समितिको बैठक बोलाएसँगै पार्टी फुटकाे संघारमा पुगेकाे छ।

अध्यक्ष मिश्र पक्षको बिहीबारको बैठकमा हालै सार्वजनिक गरिएको ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ लाई अंगीकार गर्ने निर्णय गरेपछि पार्टी फुटको दिशामा गएको बुझिएकाे छ ।  संयोजक पाण्डेले भने शुक्रबार आफू पक्षको केन्द्रीय समिति बैठक बोलाएका छन् ।

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ । पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकले निकालेको पाठकले जनाए ।

अध्यक्ष मिश्रले आफ्नो पक्षको सबै शक्ति आफूमा केन्द्रित गर्ने, आफ्नो व्यवस्थाविरोधी दस्तावेज पारित गर्ने र संवाद समिति आफू अनुकूल बनाएर पश्चगामी शक्तिहरुसँग तालमेल गर्ने बाटोमा हिँडेको संयोजक पाण्डेले आरोप लगाएका छन् । एकता महाधिवेशनअगावै मिश्रले गणतन्त्रमाथि प्रश्न गर्दै संघीयता खारेजी र धार्मिक द्वन्द्व फैलाउने विचार व्यक्त गरेको पनि पाण्डेको आरोप छ ।