तनहुँ, ४ फागुन । दमौलीमा आगामी चैत ६ गते दोस्रो होली महोत्सव हुने भएको छ । फागुपुर्णिमाको अवसरमा रोटरी क्लब अफ दमौली , रोट्रायाक्ट क्लब अफ दमौली र युनि क्याम्पस ग्लोबल ‘वैदेशिक शिक्षा परामर्शदाता’ को संयुक्त आयोजनामा दमौलीमा होली महोत्सव हुन लागेको हो ।
होली महोत्सवका बारेमा जानकारी गराउन शनिवार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी चैत ६ गते हुने होली महोत्सवका बारेमा जानकारी गराइयो ।
रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले एक आपसमा रंग आदानप्रदान गर्दै फागुपुर्णिमाको शुभकामना आदान प्रदान गर्ने र सामाजिक सद्भावलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।
मनोरञ्जनको माध्यमबाट समेत स्थानीय व्यापार व्यवसायको प्रवद्र्धनमा टेवा पुग्ने हुँदा होली महोत्सव आयोजना गर्न लागिएको उनको भनाई छ ।
सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ । होलीको दिन रंगसँगै घइटो फुटाई, डोरी तान्ने, बास्केट बल लगायतका खेलहरु पनि महोत्सवमा समावेश गरिने छन् ।
होलीलाई विशेष बनाउन स्थानीय जातजातीका सांस्कृतिक कार्यक्रमलाई पनि समावेश गर्ने श्रेष्ठले बताए । १४ घण्टा सम्म चल्ने यस कार्यक्रममा पुरै डिजेको म्युजिक दिनै भरि हुनेछ । पानीको फोहोरा समय समयमा ठाउँ ठाउँमा आउने हुँदा महोत्सवमा थप आकर्षण बढने आयोजकको दाबी छ ।
कार्यक्रम सम्पन्न गर्न करीब ७ देखी ८ लाख लाग्ने अनुमान गरिएको रोट्रयाक्ट क्लब अफ दमौली अध्यक्ष बिपिन श्रेष्ठ जानकारी दिए । अघिल्लो वर्ष होली महोत्सव रोट्रयाक्ट क्लब अफ दमौलीले मात्र गरेको थियो भने यस वर्ष रोटरी र रोट्रयाक्टले संयुक्त रुपमा गर्ने भएको हो ।
दोस्रो रोटरी रोट्रयाक्ट होली महोत्सवमा नि शुल्क प्रवेशको व्यवस्था रहेको बताइएको छ ।



लाेकपाटी न्यूज

