दर्शनको इतिहासको एउटा चरण, जसको प्रतिनिधित्व कान्ट, फिख्टे, शेलिंग, हेगेल तथा फायरबाखका विचारहरूले गर्दछन्। जर्मन शास्त्रीय दर्शन १८औं शताब्दको अन्त तथा १९औं शताब्दीको पूर्वार्धमा सामन्ती सम्बन्धहरू भंग हुने अवधिमा प्रगतिशील बुर्जुवा वर्गका विचारहरूको अभिव्यक्ति हो। यो बुर्जुवा क्रान्तिहरूको अनुभवको विशिष्ट सामान्यीकरण थियो, जसले त्यस बेलासम्म आफ्नो उच्चतम शिखरलाई पछाडि छोडिसकेका थिए (अंग्रेजी तथा फ्रान्सेली क्रान्तिहरू)। यही जर्मन शास्त्रीय दर्शनको सुस्पष्ट रूपमा अभिव्यक्त सम्झौताका प्रवृत्तिहरूको कारण थियो, जसलाई जर्मनीमा त्यस बेलाका परिस्थितिहरूले तीक्ष्ण बनाएका थिए (सामन्ती फुट, बुर्जुवा वर्गको अपेक्षाकृत निर्बलता, आदि)।
यही विभिन्न जीवन्त समस्याहरूको समाधान या त सैद्धान्तिक-आत्मिक अथवा अमूर्त-संवेदनात्मक क्षेत्रका सीमाहरूभित्र खोज्ने आकांक्षाको कारण थियो। जर्मन शास्त्रीय दर्शनका सैद्धान्तिक स्रोतहरूमा मानव जातिको पूर्ववर्ती आत्मिक विकासका धेरै ठूला उपलब्धिहरू, विशेषगरी फ्रान्सेली तथा जर्मन ज्ञानप्रसारकहरुबाट धरोहरमा प्राप्त विचार, देकार्त, स्पीनोजा, लिब्निजको तर्कबुद्धिवाद, दर्शनमा भौतिकवादी प्रवृत्ति (बेकन, हब्स, स्पिनोजा, गास्सेंदी, आदि) सामेल थिए। जर्मन शास्त्रीय दर्शनमा सबै मुख्य धाराहरूको प्रतिनिधित्व छ : द्वैतवाद (कान्ट), आत्मगत आदर्शवाद (फिख्टे), वस्तुगत आदर्शवाद (शेलिंग, हेगेल) तथा भौतिकवाद (फायरबाख)। मुख्य दार्शनिक दृष्टिकोणहरूको सन्दर्भमा सम्पूर्ण विविधताको बाबजुद जर्मन शास्त्रीय दर्शन दर्शनको इतिहासमा एकीकृत, अपेक्षाकृत स्वतन्त्र चरण हो, किनभने यसका सम्पूर्ण प्रणालीहरू तार्किक दृष्टिले एक-अर्कोसँग सम्बन्धित छन्।
उदाहरणको लागि, कान्टको दार्शनिक प्रणालीका आन्तरिक अन्तर्विरोधको कारण, जुन वस्तुगत रूपले विद्यमान वस्तु-निजरुपहरुको स्वीकृति र तिनीहरूको ज्ञानको सम्भावनाको निषेधमा निहित छ, पहिले फिख्टेले आत्मगत आदर्शवादको र त्यसपछि शेलिंग र हेगेलले वस्तुगत आदर्शवादको ढाँचाभित्र यो अन्तर्विरोधमाथि नियन्त्रण प्राप्त गर्ने प्रयत्न गरे। शेलिंग र हेगेलका आदर्शवादी प्रणालीहरू कर्ता तथा विषय, वैचारिक तथा वास्तविकको समरुपताको सिद्धान्तमा आधारित छन्। हेगेलका अनुसार यथार्थ र त्यसका अवधारणा, आफ्ना प्रवर्गहरू तथा नियमहरूसँग समरूप छन्। यी प्रवर्गहरू तथा नियमहरूलाई तिनीहरूको गति तथा स्वविकासमा लिइन्छ। यो तथ्यले हेगेलको लागि अवधारणाहरूको द्वन्द्वात्मकतामा वस्तुहरूको द्वन्द्वात्मकता देख्न सम्भव बनायो। तर हेगेलको आदर्शवाद, चिन्तन तथा त्यसको इतिहासको उनीद्वारा निरपेक्षीकरण, अर्थात् चिन्तनलाई आफ्नो घेरामा बन्द गर्नु, यी सबैले अन्ततः उनको प्रणालीमा आधारभूत त्रुटिलाई जन्म दिए – द्वन्द्वात्मक विकास सारमा चक्रीय गतिमा बदलियो।
फायरबाखले, जसले हेगेलको आदर्शवादको आलोचना गरेका थिए, निरपेक्ष विचार र त्यसको साथसाथै मानव जातिको आत्मिक विकासको द्वन्द्वात्मकतालाई अस्वीकार गरे। उनले चिन्तन, चेतनालाई इन्द्रियगत ज्ञान तथा मानिसको सारलाई प्राकृतिक इन्द्रियगत आधारमा सीमित गरिदिए। फायरबाखद्वारा विकासको विचारको अस्वीकृतिले, उनको भौतिकवादको चिन्तनात्मकताले उनको त्यो असंगतता निर्धारित गर्यो, जुन इतिहासको आदर्शवादी परिभाषामा प्रकट भयो। जर्मन शास्त्रीय दर्शनको सम्पूर्ण विकासले यो बताउँदछ कि जगत र मानिसको सर्वाधिक पूर्ण, गहनतम वैज्ञानिक तथा दार्शनिक ज्ञान जर्मन शास्त्रीय दर्शनका सम्पूर्ण उपलब्धिहरू, विशेषगरी यसको द्वन्द्ववादको उपयोगसहित केवल भौतिकवादी आधारमा मात्र सम्भव छ। यो परिस्थितिले नै जर्मन शास्त्रीय दर्शनलाई मार्क्सवादको एउटा मुख्य श्रोत बनायो।
जर्मन विचारधारा : कार्ल मार्क्स तथा फ्रेडरिख एंगेल्सको आरम्भिक दार्शनिक कृति, जुन १८४५-४६ मा लेखिएको थियो। यसमा युवाहेगेलवादीहरुको आदर्शवाद र फायरबाखको भौतिकवादको सीमित स्वरूपको आलोचना गरिएको थियो। यो पुस्तक मार्क्स तथा एंगेल्सको जीवनकालमा प्रकाशित हुन सकेको थिएन, यसको पहिलो पटक प्रकाशन सोभियत संघमा १९३२ मा भयो। ‘पवित्र परिवार’ मा प्रतिपादित विचारहरूलाई अगाडि विकास गर्दै मार्क्स तथा एंगेल्सले यो दर्शाए कि आदर्शवाद सर्वहारा वर्गप्रति शत्रुता राख्ने वर्गहरूको विचारधारा हो। फायरबाखको भौतिकवादको अधिभूतवादी तथा चिन्तनात्मक स्वरूपको आलोचना गर्दै उनीहरूले यो दर्शाए कि इतिहासको बारेमा आफ्ना विचारहरूको सन्दर्भमा फायरबाख आदर्शवादी थिए र त्यसैकारण युवाहेगेलवादीहरु जस्तै सामाजिक विकासका प्रेरक शक्तिहरूलाई बुझ्न असमर्थ थिए।
यो कृतिले श्टिर्नेरको बर्जुवा व्यक्तिवाद तथा अराजकतावादको र साथसाथै कार्ल ग्रुन, हेस्स र अन्यका प्रतिक्रियावादी, तथाकथित ‘वास्तविक समाजवाद’को गहन ढंगले समीक्षा गर्दछ। मार्क्स तथा एंगेल्सले जर्मन विचारधारामा वैज्ञानिक साम्यवादको सिद्धान्तको विकास गरे र यो सिद्ध गरे कि सर्वहारा वर्गले आफ्नो क्रियाकलाप सामाजिक विकासका वस्तुगत नियमहरूमा आधारित बनाउँदछ। उनीहरूले बुर्जुवा वर्गको विरुद्ध सर्वहारा वर्गको संघर्ष, साम्यवादी क्रान्ति तथा साम्यवादी व्यवस्थाको अवश्यम्भावी विजयमा आर्थिक नियमहरूको आवश्यक परिणाम देखे, जुन मानिसहरूको इच्छाबाट स्वतन्त्र रूपमा विद्यमान हुन्छन्।
यो कृतिमा उनीहरूले इतिहासको भौतिकवादी धारणाका मुख्य विचारहरूको – सामाजिक-आर्थिक संरचनाहरू, उत्पादक शक्तिहरू र उत्पादन सम्बन्धहरू (‘उत्पादन सम्बन्ध’ शब्दको अझै उपयोग गरिएको थिएन), सामाजिक सत्ता तथा सामाजिक चेतनाका परस्पर सम्बन्धहरूको प्रश्न, आदिको – पहिलो विस्तृत व्याख्या प्रस्तुत गरे। जर्मन विचारधारामा मार्क्स तथा एंगेल्सले आफ्नो विश्वदृष्टिकोणको प्रतिपादन गरे, जुन त्यस बेलासम्म मुख्यतया सुस्पष्ट रूपले निर्माण भइसकेको थियो। यो कृति सर्वहारा वर्गसँग शत्रुता राख्ने विचारधाराको जुझारु दार्शनिक आलोचना हो।
-रमेश सुनुवारको दर्शन विश्वकोशबाट



लोकपाटी न्यूज

