दर्शन विश्वकोश : के हो समाजवादी यथार्थवाद ?

Communists_Word_Shabda
लोकपाटी न्यूज

 एउटा कलात्मक विधि, जसको सार यथार्थतालाई त्यसको क्रान्तिकारी विकासमा वास्तविक, ऐतिहासिक दृष्टिले मूर्त ढंगबाट प्रतिबिम्बित गर्नु तथा साम्यवादी सौन्दर्यात्मक आदर्शको प्रकाशमा प्रस्तुत गर्नु हो। समाजवादी यथार्थवादको कलाको उत्पत्ति तथा यसको गठन विश्व रंगमञ्चमा एउटा नयाँ प्रगतिशील, क्रान्तिकारी सामाजिक शक्तिको रूपमा मजदुर वर्गको उत्पत्तिसँग जोडिएका छन्, जुन मानव-मूल्यहरूको वास्तविक उत्पादक हो।

समाजवादी यथार्थवादका प्रथम कृतिहरूको रचना २०औं शताब्दीको आरम्भमा, रुसमा पूँजीवादको संकट, सर्वहारा वर्गसंघर्षको विकास तथा समाजवादी क्रान्तिको तयारी परिस्थितिहरुमा भएको थियो (म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ तथा उनका नाटक ‘शत्रु’, डी. बेद्नी तथा अन्य सर्वहारा कविहरूका कविताहरू)। समाजवादी यथार्थवादको विधि, जसको १९१७ पछि सोभियत कलाका सम्पूर्ण क्षेत्रहरूमा विकास भयो (भी. मयाकोव्स्की, एम. सोलोखोभ, एस. एइजेन्स्टेइन, के. स्तानिस्लाव्स्की, ए. देइनेका, डी. शोस्ताकोभिच तथा धेरै अन्य), विश्वव्यापी परिघटना बन्यो र त्यसलाई बुर्जुवा देशहरू तथा समाजवादी देशहरूमा धेरै शीर्षस्थ प्रगतिशील कलाकर्मीहरूले अपनाए (एच. बाब्र्यूस, एम. एंडरसन-नेक्से, बी. ब्रेख्त, एल. आरागों, पी. नेरुदा, एन. हिकमत, जे. अमादु, जे. एल्ड्रिज, जे. फूचिक, आदि)।

अतीतको कलाका सर्वोत्तम यथार्थवादी परम्पराहरूको नियमसंगत निरन्तरता भएकोले समाजवादी यथार्थवाद मानवको कलात्मक प्रगतिमा एउटा नयाँ चरण हो। यसको सार हो जीवनको सत्यप्रति निष्ठा, जसको अभिव्यक्ति साम्यवादी विश्व दृष्टिकोणको स्थितिबाट प्रस्तुत कलात्मक विम्बहरूमा हुन्छ। यो दृष्टिकोण कलाकारहरूको लागि चित्रित घटनाहरूको अर्थ बुझ्न, अतीत तथा वर्तमानको र साथसाथै सामाजिक विकासका प्रवृत्तिहरूको कलामा सही ढंगबाट पुनर्सिजन गर्न सम्भव बनाउँदछ। साम्यवादी सौन्दर्यात्मक आदर्श नयाँ प्रकारका सकारात्मक नायकमा, श्रमजीवी मानव, योद्धा, साम्यवादी समाजका निर्मातामा मूर्त हुन्छ।

समाजवादी यथार्थवादका मुख्य विचारधारात्मक र सौन्दर्यात्मक सिद्धान्त हुन् साम्यवादी विचारधाराप्रति निष्ठा, जनताको सेवा, पक्षधरता, श्रमजीवीहरूको संघर्षसँग घनिष्ठ सम्बन्ध समाजवादी मानवतावाद, अन्तर्राष्ट्रियतावाद, ऐतिहासिक आशावाद; आकारवाद, आत्मगतवाद तथा प्रकृतिवादी आदिमवादको अस्वीकृति। आफ्नो विकासको क्रममा समाजवादी यथार्थवादले कलाकृतिहरूको कलात्मक रूप र विचारधारात्मक-सौन्दर्यात्मक अन्तर्वस्तुसँग सम्बन्धित अनेकौं विशेषताहरूको विस्तार गरेको छ।

ती विशेषताहरू जीवनको प्रगतिशील विकासमा हर्ष अनुभव गर्ने, नयाँ समाजका निर्माताहरूका महान उद्देश्यहरू र उनीहरूको सामु उद्घाटित भइरहेका उदात्त परिप्रेक्ष्यहरूबाट आनन्द प्राप्त गर्नेजस्ता सौन्दर्यात्मक अनुभूतिहरूको स्रोत हुन्। यसको आधारमा समाजवादी यथार्थवाद कम्युनिष्ट शिक्षा-दीक्षाको सशक्त साधन बनेको छ। समाजवादी यथार्थवादले कलाकारहरूलाई आफ्ना प्रवृत्तिहरूअनुसार विविध रूपहरू तथा शैलीहरूको छनौटमा आफ्नो सृजनशील पहललाई व्यापक रूपमा उद्घाटन गर्नमा साहयता गर्दछ।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्