लोक जनवाद (जनताको जनवाद) – सर्वहारा वर्गको अधिनायकत्वको एउटा रूप, जसले साम्राज्यवाद निर्बल हुँदै जाने तथा शक्तिहरूको पक्ष समाजवादतिर झुक्ने परिस्थितिहरूमा समाजवादी क्रान्तिको विशिष्ट विकासलाई प्रतिबिम्बित गर्दछ। यसले विभिन्न देशहरूका ऐतिहासिक तथा राष्ट्रिय विशेषताहरूलाई पनि प्रतिबिम्बित गर्दछ। लोक जनवादको उत्पत्ति अधिकांश पूर्वी यूरोपेली एशियाली देशहरूमा लोक जनवादी क्रान्तिहरूको क्रममा भएको थियो। यी क्रान्तिहरूले एकातिर, विदेशी साम्राज्यवादीहरू, आन्तरिक ठूला बुर्जुवाहरू र जमिन्दारहरु तथा अर्कोतिर, अन्य वर्गहरूको व्यापक गठबन्धनको बीचमा अन्तर्विरोधहरूलाई समाप्त गरे।
यिनीहरू मजदुर वर्ग र त्यसका अग्रदस्ता कम्युनिष्ट पार्टीहरूको नेतृत्वमा सम्पन्न भए। क्रान्ति जब-जब गहन हुँदै गयो, त्यसले पूँजीवादी अर्थव्यवस्थामाथि त्यति नै बढ्दो मात्रामा आक्रमण गर्दै गयो (उत्पादनका साधनहरूको राष्ट्रियकरण) र साथसाथै त्यसले बुर्जुवा वर्गको राजनीतिक प्रभावलाई सीमित गरिदियो। भूमिसुधारहरूको, जसले सामन्ती अवशेषहरूको अन्त गरेका थिए र श्रमजीवी किसान समुदायसँग सर्वहारा वर्गको संघबद्धतालाई सुदृढ बनाए, लोक जनवादी क्रान्तिहरूको विकासको लागि धेरै महत्त्व थियो। सम्पन्न गरिएका गहन जनवादी रुपान्तरणहरुले यी क्रान्तिहरूको समाजवादी क्रान्तिहरूमा विकासलाई सुनिश्चित गरे।
परिणामस्वरूप लोक जनवादले, जुन आरम्भमा जनताको जनवादी अधिनायकत्वको रूपमा अगाडि आयो, सर्वहारा वर्गको अधिनायकत्वको कार्य पूरा लाग्यो। क्रान्तिको यो सामान्य प्रवाहका विभिन्न देशहरूमा आफ्ना ठोस विशेषताहरू थिए। लोक जनवादको रूपलाई लोक जनवादी क्रान्तिको व्यापक वर्गीय आधार (जसमा केवल सर्वहारा वर्ग तथा किसान समुदाय मात्र होइन, बरु बुर्जुवा वर्गका निश्चित श्रेणीहरू पनि थिए) तथा लोक जनवादी क्रान्तिको समाजवादी क्रान्तिमा शान्तिपूर्ण विकासले पनि निर्धातिर गर्यो, जसले प्रतिनिधिमूलक प्रणालीका केही पुराना रूपहरू (संसद) को उपयोग पनि सम्भव बनायो। लोक-जनवादका विशिष्ट लक्षणहरू हुन् : बहुदलीय प्रणालीको अस्तित्व (कम्युनिष्ट पार्टीको अतिरिक्त कैयौं अन्य जनवादी पार्टीहरू पनि रहन्छन्, जसले समाजवादको स्थिति अपनाउँदछन् र मजदुर वर्गको अग्रणी भूमिकालाई स्वीकार गर्दछन्); जनमोर्चाको स्वरूपको संगठनको अस्तित्व, जसले राजनीतिक पार्टीहरू र जनसंगठनहरुलाई एकताबद्ध गर्दछ।
जुन अवधिमा लोक जनवादको गठन हुन्छ, त्यसका अन्य विशेषताहरू हुन् – राजनीतिक अधिकारहरूमाथि अंकुशहरुको अभाव, पुरानो राजकीय यन्त्र ध्वस्त हुने लामो अवधि, आदि। इतिहासको अनुभवले यो प्रदर्शित गर्यो कि लोक जनवादले समाजवादको निर्माणमा सशक्त भूमिका निर्वाह गर्दछ। आजभोलि लोक जनवादी देशहरूको, जसले समाजवादी समाजका आधारशीलाहरुको निर्माण गरिसकेका छन्, लक्ष्य विकसित समाजवादको निर्माण गर्नु हो। -रमेश सुनुवारको दर्शन विश्वकोशबाट



लोकपाटी न्यूज

