कस्तो हुनुपर्छ सर्वहारा वर्गको पार्टी ?

Communist Flag
लोकपाटी न्यूज

सन्तबहादुर नेपाली/कुनै पनि राजनीतिक दलको अन्तिम लक्ष्य भनेको राज्यसत्तामाथि कब्जा जमाउनु हो र हुनुपर्छ। राज्यसत्ता वर्गीय हुन्छ। एउटा निश्चित वर्गले आफ्नो वर्गको हितका निम्ति राज्यसत्ता आफ्नो हातमा लिनुपर्ने हुन्छ। पछिल्लो समयमा सर्वहारावर्गले पनि राज्यसत्ता हासिल गर्नको लागि शक्तिशाली र ऐतिहासिक भूमिका खेल्दै आएको छ। राज्यसत्ता प्राप्तिका निम्ति इतिहासमा ठूला–ठूला रक्तपातपूर्ण संघर्ष भएका छन्।

त्यसैले मार्क्सले अहिलेसम्मको इतिहासलाई वर्गसंघर्षको इतिहास बताउनुभएको छ। सर्वहारावर्गले राज्यसत्ता लिने प्रश्नमा दर्शन, साहित्य संस्कृति, कला, राजनीति थुप्रै विषयलाई पनि ठोस र वैज्ञानिक ढंगले लिँदै आएको छ। रूस तथा चीनका सर्वहारावर्गले राज्यसत्तामाथि कब्जा जमाएर सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत समाजवादी व्यवस्थाको निर्माण गरे। यो कुरा आधुनिक युगको लागि नवीनतम् र ऐतिहासिक घटना हुन्। यद्यपि आज ती देशहरूमा समाजवादी व्यवस्था विघटन भइसकेका छन्। तर पनि त्यही व्यवस्थाको जगमा पुँजीवादको उच्चतम विकास भएका छन्। सर्वहारावर्गका लागि राज्यसत्ता आफ्नो हातमा लिनु कति महत्वपूर्ण रहेछ भन्ने कुरा ती देशका परिवर्तनकारी घटनाहरूबाट पनि स्पष्ट हुन्छ।

हाम्रो देशमा हामीले ने.क.पा. (मसाल) लाई सर्वहारावर्गको पार्टी मान्दै आएका छाैं। तर आठौं महाधिवेशनले हाम्रो पार्टीलाई सर्वहारावर्गको पार्टी हो भन्ने कुरामा प्रश्नचिन्ह खडा गरिदिएको छ। दस्तावेजमा भनिएको छ, “सैद्धान्तिक रुपले हाम्रो पार्टी सर्वहारावर्गको पार्टी हो भन्ने कुरालार्ई पनि निरपेक्ष रूपमा लिनु सही हुने छैन।” (राजनैतिक प्रतिवेदन तथा संगठनात्मक प्रस्ताव पेज–३६) सातौं महाधिवेशनले स्पष्ट रूपमा राजनैतिक रूपले हाम्रो पार्टी सर्वहारा वर्गको पार्टी भनेको थियो। संगठनात्मक रूपमा निम्न पुँजीवादी बताएको थियो। सातौं महाधिवेशनले हाम्रो निम्न पुँजीवादी संगठनात्मक स्वरूपलाई परिवर्तन गरी क्रान्तिकारी स्वरूपमा लैजाने लक्ष्य लिएको थियो। तेह्र वर्षपछि हाम्रो पार्टी सर्वहारावर्गको पार्टी भन्ने लायक रहेन।

माथिको भनाइअनुसार अब हामी राजनीतिक रुपले पनि सर्वहारावर्गको पार्टी भनेर दावा गर्न नसक्ने भएछौं। त्यसका पछाडि दुईवटा कारण बताइएको छ : “किनभने एकातिर, संगठनात्मक रुपमा पार्टीमा निम्न पुँजीपतिवर्गको बाहुल्यता र अर्कातिर पार्टी सदस्यहरूको सैद्धान्तिक स्तरको कमी दुवैको असर पार्टी सदस्यहरूको चरित्र र चिन्तनमा पनि पर्दछ। त्यसैले त्यसको चरित्र र चिन्तन प्रणाली मुख्य रूपले निम्न पुँजीवादी प्रकारको नै हुन्छ।” यसरी आठौं महाधिवेशनले हाम्रो पार्टी सर्वहारावर्गको पार्टी हुन सक्दैन भनेर व्याख्या गरेको छ।

यो बडो दुःख र आश्चर्यको कुरो छ कि हाम्रो पार्टी हिजोको जस्तो सर्वहारावर्गको पार्टी रहेन। निम्न पुुँजीवादी पार्टीको रुपमा ओर्लन पुग्यो। यो अवस्था आउनुमा गल्ती कमजोरी कसको हो ? नेतृत्वको हो कि कार्यकर्ता को ? नेतृत्वले दोष कार्यकर्तालाई दिएको छ। उसले भन्छ (१) पार्टीमा निम्न पुँजीपतिवर्गको बाहुल्यता रह्यो। (२) पार्टी सदस्यहरूको सैद्धान्तिक स्तरमा कमी आयो। पार्टीमा निम्न पुँजीपतिवर्गका व्यक्तिहरूलाई प्रवेश गराउने, बढुवा गरेर नेतृत्वमा लैजाने काम कसले गर्‍यो ? किन पार्टी सदस्यहरूलाई सर्वहाराकरण गर्न ध्यान दिइएन ? अनि पार्टी सदस्यहरूको सैद्धान्तिक स्तर उठाउनमा ध्यान नदिनु नेतृत्वको कमी हो कि कार्यकर्ता को ?

एक जना साथीले पार्टी स्कूल सञ्चालन गर्नका लागि दश लाख सहयोग गरेपछि पार्टी केन्द्रले स्कूलको व्यवस्थापन गर्‍यो। शुरु शुरुमा दुईदुई महिनाका लामा लामा क्लासहरू सञ्चालन भए। तर पैसा सकिँदै गएपछि १५ दिनेमा झर्न पुग्यो। शुरुका वर्षमा चार वटा क्लास सञ्चालन भए। तर पछि वर्षमा एउटासम्म पनि जेनतेन १५ दिन चल्न लाग्यो। कार्यकर्ताहरूले पार्टी स्कूलबाट सैद्धान्तिक, राजनैतिक, दार्शनिक, सामाजिक तथा संगठनात्मक कार्यशैली सम्बन्धी ज्ञान हासिल गर्ने सौभाग्य प्राप्त गरेका छन्। तर त्यसलाई निरन्तरता दिने र स्थानीयस्तरसम्म पुर्‍याउन पहल गरिएन। पुस्तकालयको व्यवस्था गरिएन। पार्टी सदस्यहरूको सैद्धान्तिकस्तर नउठाउनुमा पार्टी नेतृत्वको कमजोरी हो कि कार्यकर्ताको ? कार्यकर्तालाई दोष दिएर नेतृत्व पन्छिन मिल्दैन।

सर्वहारावर्गको पार्टीबाट निम्न बुर्जुवा पार्टीमा रुपान्तरण गर्नका लागि स्थानीय कार्यकर्ताहरू जिम्मेवार छन् भन्ने सन्देश दिन माथि उल्लेखित आरोप लगाएको हो भन्ने कुरामा कुनै सन्देह छैन। तर वास्तविकता भने बेग्लै छ। आठौं महाधिवेशनमा नयाँ जनवादी क्रान्तिका लागि जनाधार तयार पार्ने कुरा विरोध गरिएको छ। स्वयंसेवक दल, जो सातौं महाधिवेशनदेखि गठन गरिएको थियो, महाधिवेशन पूर्व नै केन्द्रीय समितिद्वारा विधिवत विघटन गरिएको छ। स्वयंसेवक दल गठन गर्न महाधिवेशनमा आएको प्रस्तावलाई ध्वनीमतले अस्वीकृत गरिएको छ।

निर्वाचनलाई कार्यनीतिक उपयोगको सट्टा रणनीतिक सहभागिताको नीति अपनाइएको छ। सरकारमा जाने प्रश्नलाई कार्यनीतिक मान्नुको सट्टा रणनीति मानिएको छ। जनवर्गीय संगठनहरूको संगठनलाई ध्वस्त पारिँदैछ। पार्टीलाई अनुशासित बनाउनुपर्नेमा स्वयं नेतृत्व तहबाट अनुशासनको धज्जी उडाउने काम भएको छ। कसैले नेतृत्वको गल्ती कमजोरी औल्यायो भने त्यसलाई मौका पर्खेर पार्टीबाट निस्काशन गरिन्छ। पार्टीलाई पुरै संसदवादमा विसर्जन गरिएको छ। यो अवस्थामा पार्टीलाई सर्वहारावर्गको पार्टीबाट निम्न बुर्जुवा पार्टीमा रुपान्तरण गर्ने थालनी कसले गरेको छ ? नेतृत्व त्यसबाट पन्छिन खोजेर अवश्य पनि पन्छिन मिल्दैन।

कुरा सर्वहारावर्गको पार्टीको मात्र होइन, राजनैतिक प्रतिवेदनमा मार्क्सवादका आधारभूत मान्यताहरूलाई नै अस्वीकार गरिएको छ र कुनै पार्टी सदस्यहरूले प्रश्न नउठाउन भन्न खातिर भाषालाई गोल मटोल गरिएको छ। आगामी लेखहरूमा क्रमशः प्रष्ट पार्न प्रयत्न गर्नेछु।

विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको कुरा उठाएर पार्टीलाई संसदवादी भासमा लैजान मसाल नेतृत्वले जुन प्रकारको भूमिका खेलेको छ, त्यो व्यवहारिक प्रश्नमा प्रष्ट नदेखिएको होइन। तर नेतृत्वले के भनेर झारा टार्ने गरेको छ भने अहिले हाम्रो अगाडि कुनै विकल्प छैन। अहिले अपनाइएका संसदवादी नीतिहरू कार्यनीति मात्र हुन्। हामी नयाँ जनवादी क्रान्तिको नीति छोडेका छैनौं। मसाल नेतृृत्व वडो योजनाबद्ध प्रकारले संसदवादतर्फ अगाडि बढिरहेको छ।

पहिलो चरणमा फोरम सञ्चालन गरेर कसको के विचार रहेछ भन्ने जानकारी प्राप्त गर्‍यो। त्यसअनुसार महाधिवेशनमा आफ्नो विचारसित सहमत हुनेहरूको केन्द्रीय समिति निर्माण गर्‍यो। हाँकलाई गोविन्दसिंह थापाले कम्पनी (प्रालि) लाई दिने छैनन् भन्ने कुरा आँकलन गरेपछि गोविन्द सिंह थापासित निहुँ खोज्यो। उनले प्रालिलाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि निस्कासन गर्‍यो। त्यति मात्र गरेन गोविन्द सिंह थापा प्रकाशक/सम्पादक रहेको हुँदा हाँक बन्द गर्‍यो।

हाँक बन्द नगरौं, दुइटै पत्रिकालाई पार्टी मातहत सञ्चालन गरौं वा पार्टीले नै पुनःप्रकाशन गरोस् भनेर अनुरोध गर्दागर्दै ४०/५० वर्षदेखि पार्टीमा काम गर्दै आएका नेता तथा कार्यकर्ताहरूको ठूलो पंक्तिलाई कार्वाही गरियो। गोविन्द सिंह थापा, जसले भारतमा नेपाली मजदुरहरूको संगठन एकता समाजको जग हाले र भारतभरि फैलाए, उनलाई जिरो प्रतिशत कम्युनिस्ट घोषणा गरे। त्यसपछि पनि बामपन्थी क्रान्तिकारीहरूलाई घोक्रेठ्याक लगाउन छाडेनन्।

शुद्धीकरण गर्ने भनेर विधान विपरीत गएर अनलाइन पी.बि.को बैठक बसेर शुद्धीकरण कार्यक्रम चलाइयो। त्यसको पहिलो शिकार भारत शाखा बन्न पुग्यो। त्यसबारे कुनै प्रसंगमा लेखिनेछ। कैयौं नेता कार्यकर्ताहरूलाई कार्वाही गरिएको छ। विधान विपरीत शुद्धिकरण कार्यक्रम सञ्चालन गरेकोमा जताततै र आफ्नै पंक्तिबाट समेत विरोध भएपछि आफू इमान्दार बन्न पार्टी नेतृत्वले गल्ती स्वीकार गर्न पुग्यो। तर त्यो गल्तीलाई बैठकबाट वैधानिकता दिने काम गरियो। र कार्वाहीको अभियान अगाडि बढाउन लकडाउनको बीचोबीचमा केन्द्रीय सदस्यहरूलाई काठमाडौंमा बोलाएर त्यो गल्तीलाई सच्चाउने काम गरियो र शुद्धीकरणको आगामी कार्यक्रम सञ्चालन गर्न केन्द्रीय समितिबाट पी.बी.ले अधिकार लिने काम भयो। केन्द्रीय समितिको बैठकले पनि विधान विपरीत निर्णय गरेको छ।

मसाल नेतृत्वले विधान मिचेर भए पनि अधिकार जति आफूले लिने प्राधिकारवादी सोंचाइअनुसार केन्द्रीय समितिले पनि निर्णय गरिदिएको छ। अब मसाल नेतृत्व यति शक्तिशाली भएको छ कि उसले कुनै पनि कमिटी भंग गर्न सक्छ, आफ्नो पक्षका व्यक्तिहरूलाई नेतृत्वमा लैजान जे पनि गर्न सक्छ। महाधिवेशनका संशोधनवादी नीतिसित असहमत जो कसैलाई पनि उसले कमिटिमा बस्न दिने छैन। जिल्ला समितिहरू पनि यदि संशोधनवादी लाइनसित असहमत छन् भने ती जिल्लाहरूलाई भंग गर्नेछ।

शुरुमा उनीहरूलाई फकाउने फुलाउने गर्नेछन्। नमानेमा धम्काउने छन्, त्यति गर्दा पनि नमानेमा कार्वाही गर्नेछन् र जिल्ला समिति अल्पमतमा परेर भंग गरिनेछन्। त्यसपछि पुनर्गठन गर्नेछन्। केन्द्रीय समिति आम कार्यकर्ताहरूको लागि नेतृत्वदायी निकाय हो। चाहे त्यो पूर्व अल्पमत होस् चाहे त्यो पूर्वबहुमत। तर आज केन्द्रीय समिति पनि मसाल नेतृत्वको लाचार छायाँ बन्न पुगेको छ। विधान मिचेकोलाई मान्यता दिएको छ। मसाल नेतृत्वलाई प्राधिकार बनाएको छ। इतिहासमा यो ठूलो भूल भएको छ।

बिसौं पार्टी कांग्रेसमा निकिता ख्रुश्चेभले जुन ढंगको नीति अपनाएका थिए, आज हाम्रो नेतृत्वले त्यही नीति अपनाएको छ। ख्रुश्चेभले बिसौं पार्टी कांग्रेसमा सम्पूर्ण जनताको पार्टी समेतका प्रस्तावहरू पारित गराएका थिए। रूसको बोल्शेविक पार्टीलाई सम्पूर्ण जनताको पार्टी भनिदिँदा त्यतिबेला खासै प्रश्न उठेन। तर कालान्तरमा रसियन कम्युनिस्ट पार्टी पुँजीवादी पार्टीको रुपमा देखा पर्‍यो। संसारका कैयौं पार्टीहरूले पहिले मुख खोल्न सकेका थिएनन्। चीनले त्यसको विरोध गरेपछि मात्र सबैका आँखा खुलेका थिए। तर त्यतिबेलासम्म धेरै नै ढिलो भइसकेको थियो।

वामपन्थी कमरेडहरूलाई अराजक, अनुशासनविहिन, घुसपैठिया, दुश्मनका एजेन्ट, सिआईडी, “रअ”बाट संचालित, राजापरस्त, भारतपरस्त जस्ता अराजनीतिक आरोप लगाएको छ। यी सबै राजनीतिक विचारसित सम्बन्धित लेभल होइन। एकाध व्यक्ति, जसले आक्रोश र आवेशपूर्ण अभिव्यक्तिका साथ स्टाटस, कमेन्ट वा लेख लेख्यो भनेर सम्पूर्ण वामपन्थी साथीहरूलाई तथानाम बिल्ला लगाउने र कार्वाहीको अभियान चलाउनुको तात्पर्य के हो ? कुनै व्यक्तिले छद्म नाममा केही लेख्छ भने त्यसको खोज अनुसन्धान गर्नु पार्टीको काम हो। कसैका नीजि र चारित्रिक कुरा लेख्छ भने हामी त्यस्ता सामग्रीलाई सही मान्दैनौं। त्यसबाट हाम्रो पार्टीको छविलाई झन् मैलो बनाउँछ। तर त्यो काम एकतर्फी मात्र भएको छ भन्ने अवस्था छैन। दोहोरो चलेको छ।

नेतृत्वको पक्षधरता देखाउने सिलसिलामा एकाध साथीहरूका उत्ताउला स्टाटस वा कमेन्टले हामी उत्तेजित हुँदैनौं। केही समयपछि उहाँहरूले पनि आफै बुझ्दै जानु हुनेछ। हाम्रो मुख्य विवाद भनेको संशोधनवादी नीतिसितको हो। त्यो नीतिलाई पार्टीभित्रै बसेर सच्चाउन खोजेका छौं।

अल्पमतको पक्षमा समर्थन जनाएकै कारण नेतृत्वले हामीलाई “घुसपैठिया, दुश्मनका एजेन्ट, छद्मभेषी” जस्ता लेभलहरू लगाएर पार्टीबाट भगाउन खोजिएको छ। राजनैतिक विवादलाई ओझेल पार्नकै निम्ति यसप्रकारका पदावलीहरू प्रयोग गरेर पार्टीले अराजनैतिक विवाद सिर्जना गर्न खोजेको छ।

नेतृत्वले यदि पार्टीलाई सही कार्यदिशातर्फ डोर्‍याउन चाहन्छ भने अहिलेका राजनीतिक विवादको सही र उचित समाधान खोज्नुपर्छ। यदि यही तरिकाले मसाल नेतृत्व संशोधनवादमा रमाउन खोज्छ भने अब पार्टीभित्रका साथीहरूले पनि नेतृत्वलाई साथ दिने कि नदिने ? त्यसबारे पनि सोच्नु आवश्यक छ।

(नेकपा (मसाल) भित्र चलेको अन्तरसंघर्ष र आठाैं महाधिवेशनकाे राजनीतिक दस्तावेजमा केन्द्रित रहेर नेता नेपालीले एक वर्षअघि लेखेको लेख।) 
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्