‘दुई तिहाई बहुमतको सरकार ढल्दैन’

Kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई तिहाई बहुमतको भएकाले यो नढल्ने बताएका छन् ।

नेपाल प्रहरीको १७८ औँ समूहका तालिम सकेका प्रहरी निरीक्षकलाई शपथ ग्रहण गराउने कार्यक्रममा प्रधानमन्त्री ओलीले केही शक्ति सरकार ढाल्छ कि भन्ने आशमा रहेको बताउँदै दुई तिहाई बहुमतको सरकार नढल्ने बताएका हुन् ।

उनले भने ‘कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छ भन्ने लागेको होला, तर यो सरकार हट्नुभन्दा अगाडि धेरै कुरा थितिमा ल्याउँछ ।’ उनले अब राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्न नहुने उल्लेख गरे ।

बम पड्काउने, मान्छे मार्ने, अपराध गर्ने, चन्दाका नाममा लुटपाट गर्ने, त्रासको वतावरण सिर्जना गर्ने कामलाई राजनीतिको खोल ओढाएर उम्कन नदिँइने उनको भनाई छ । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण मान्य हुने छैन उनले भने ‘सुशासन र विकासलाई केन्द्रित गरेर सरकारले काम अगाडि बढाएको छ । हामीले राजनीतक अधिकारको लाडाइ सिध्याएका छौँ । संविधान निर्माणका काम र आधार निर्माण गरिसकेका छौँ । सुशासन र विकासको बाटोबाट हामी साझा उद्येश्यका साथ अगाडि बढ्न लागेका छौँ ।’

कार्यक्रममा उनले नेपाल प्रहरीमा बढुवाका लागि र कार्यसम्पादनमा राम्रो देखिनका लागि कसैको पनि दलाली गर्नुपर्ने अवस्थाको अन्त्य हुने समेत बताएका छन् । ओलीले उच्च प्रहरी अधिकारीहरूलाई आफू पनि अनुशासनमा बस्न र मातहतका दर्जालाई पनि अनुशासनमा राख्न समेत निर्देशन दिए ।

नेपाल प्रहरीको तालिम केन्द्र काभ्रेको पनौती सार्नका लागि सरकारले तयारी गरिरहेको पनि उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्