मोटरसाइकल हराउने क्रम बढ्दो

bike_theft02
लाेकपाटी न्यूज

काठमाडौं, २८ माघ । फुटुङमा निवासी रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि मात्र उक्त मोटरसाइकल फेला प¥यो ।

त्यसैगरि पिटर तामाङको प्र ३–०२–००१ प ९९७० नं को मोटरसाइकल सुन्धारामा पार्किङ गरेरे राखेको अवस्थामा पार्किङस्थलबाटै हरायो । उक्त मोटसाइकल पनि भर्खरै ट्राफिक प्रहरीले फेला पारेको छ ।

पछिल्लो समय अव्यवस्थित रुपमा जथाभावी पार्किङ गर्दा उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मात्र उपत्यकाका विभिन्न स्थानबाट हराएका १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । हराएका मोटरसाइकलमध्ये धेरैजसो नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङमा फेला पर्ने गरेको पाइएको छ ।

व्यक्ति सचेत बन्न नसक्दा धेरै सवारी साधन उपत्यकाबाट हराउने गरेको महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्त बताउँछन् । उपत्यकाबाट हराएका सवारी साधनमध्ये सबैभन्दा धेरै काठमाडौंका छिमेकी जिल्लामा पुग्ने गरेको उनी बताउँछन् ।
सवारी साधन हराएमा तत्काल ट्राफिक प्रहरीलाई खबर गर्नुका साथै १०३ मा उजुरी टिपाउन पनि प्रमुख पन्त अनुरोध गर्छन् ।

हराएका मोटरसाइकलका बिमित रकम सम्बन्धित कम्पनीबाट लिइसकेको हुँदा मोटरसाइकल लिन नआउने गरेको पाइएको छ । यस्तै पुराना मोटरसाइकल नवीकरण गर्न धेरै पैसा लाग्ने हुँदा पनि फिर्ता लिन नआउने गरेको समेत महाशाखाले जनाएको छ ।

रातको समयमा धेरै सवारी साधन चोरी हुन्छ । पल्सर, बुलेट, अपाचेजस्ता मोटरसाइकल भने बढी चोरी हुने गरेको छ । पछिल्लो समय नयाँ मोटरसाइकल चोरी गरेर पुराना सवारी साधनमा इञ्जिन र चेसिस हालेर बेच्ने समेत गरिएको पाइएको छ ।

चालू आर्थिक वर्षमा ६४७ मोटरसाइकल हराएका निवेदन महाशाखामा परेका छन् । हराएका मोटरसाइकलमध्ये २३३ मोटरसाइकल चोरलाई पक्राउ गरी कारबाही गरिसकिएको छ ।

यस्तै मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा अहिले २९ मोटरसाइकललाई नियन्त्रणमा लिनाका साथै ४८ जनालाई कारवाहीका लागि मुद्दा प्राप्त भएको महानगरीय ट्राफिक महाशाखा पीडित सहायता ईकाइ प्रमूख रुद्रबहादुर शाहीले जानकारी दिए ।
महाशाखाले चालू आर्थिक वर्षमा पाँचवटा हराएका चारपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिइ कारवाहीका लागि भन्सार कार्यालय पठाएको छ भने एउटा चारपाङ्ग्रे सवारी साधनलाई सम्बन्धित व्यक्तिको जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका व्यक्तिमध्ये कैयौं पटके चोरसमेत रहेको अनुसन्धानबाट खुलेको छ । फौजदारी संहिता ऐनको परिच्छेद २० मा चोरी गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षदेखि सात वर्षसम्म कैद र बीस हजारदेखि ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्