खिचडी राजनीति : बन्ला त समृद्ध नेपाल ?

Dr. Prem Aale
साम, दाम, दण्ड, भेदको ‘चाणक्य नीति’लाई शिरोधार्य गरी विपक्षको विरोध गर्छन्, विरोधका कारण जनताले भोग्नुपरेको समस्याको वास्ता गर्दैनन्, बरु छिमेकी देश तथा अन्तर्राष्ट्रिय संगठनको हारगुहार गर्नसम्म पुग्छन् । तर, चलायमानहरु बिना यिनीहरु एक डेग अघि बढ्न भने सक्दैनन् ।
लाेकपाटी न्यूज

डा. प्रेम आले

नेपालको राजनीतिलाई ‘खिचडी राजनीति’ भन्दा फरक नपर्ला । दाल चामललाई मिसाएर पकाई, विशेष अवसर पारेर खाने परिकार खिचडी हो । कसै कसैले त अझ सागसब्जी पनि मिसाएर पकाउने गर्दछ । स्वास्थ्यको लागि उत्तम पौष्टिक खाना भएकोले यसको प्रयोग परम्परादेखि चल्दै आएको छ । शुद्ध, मासुरहित, सजिलै पच्ने भएकाले खिचडीलाई बच्चाहरुका लागि पहिलो ठोस खानाको रुपमा पनि प्रयोग गरिन्छ । यस्तै विशेषता भएकाले होला, सर्वसाधारण मानिस नेपाली राजनीतिलाई ‘खिचडी राजनीति’ भन्न रुचाउँछन् ।

परम्परादेखि अनेकौ तन्त्र हुँदै, ढल्दै, बच्दै आएको नेपाली राजनीतिलाई नेपाली जनताले जसोतसो पचाइराखेको त छ । तर, खिचडीजस्तै शुद्ध र पौष्टिक भने पाएको छैन । राणातन्त्र, पञ्चायततन्त्र, राजतन्त्र हुँदै लोकतन्त्रसम्म आइपुग्दा केहीको लागि भने यो खिचडी राजनीति पहिलो ठोस आहरा भएको छ र परिणामतः बिस्तारै केही शक्तिमान र चलायमान देखिन थालेको छ । खिचडी पचाउन नसक्ने रोगी, बिरामी र कमजोरहरु भने पखाला लागेर पलायमान हुँदैछन् ।

खिचडी राजनीतिमा राजनीतिक पार्टीहरु, तिनका नेता तथा कार्यकर्ता जसरी भए पनि आफ्नो हात माथि पार्ने होडबाजीमा लाग्छन् । अनि राज्यसत्ताका संयन्त्रहरु, जस्तो कि सरकार, संसद, सुरक्षाकर्मी, कर्मचारी तथा न्यायकर्मी पनि आ–आफ्नो स्वार्थमा लिप्त हुन्छन् । अनुशासन, जवाफदेहिता, कानूनको सम्मान र पारदर्शिता कोही कसैसित हुँदैन । नातावाद र कृपावाद जहाँतहीं ब्याप्त हुन्छ । योग्यता, क्षमता र अनुभव पार्टीमा व्यक्तिले दिएको योगदानमा मापन गरिन्छ, अनि जेलनेल सांसद, मन्त्री बन्ने ‘क्राइटेरिया’ बन्दछ । जनताका लागि ल्याइने कार्यक्रम परिणाममूखीभन्दा पनि आश्वासन र भाषणमा सीमित हुन्छ ।

भ्रष्टाचार सिण्डिकेटमा मिलेर गरिन्छ, ताकि कसैका विरुद्ध कोही बोल्न नसकोस् । धेरैले अहिले नेपाली राजनीति यस्तै भएको अनुभव गरेका छन् । यस्तो राजनीतिले मूख्यतः ३ प्रकारको शक्ति वर्ग उत्पादन गरेको छ । पहिलो वर्गमा पर्नेहरु सर्वशक्तिमान् हुन्छन् । शक्तिमानहरु राजनीतिको माथिल्लो तहमा हुने नेतृत्व वर्ग पर्दछ । उनीहरु राज्यको सुविधामा जहिले पनि रमाउँछन्, चाहे सांसद हुन् या मन्त्री होउन् । तलब, भत्ता र अन्य सुविधासहित खिचडी राजनीतिको रसोश्वादन गर्दैमा यिनीहरुको दिनचर्या बित्छ ।

सांसद, मन्त्री मात्र होइन, यो तहको शक्ति राज्यको अन्य अंगमा पनि हुन्छ । निजामती सेवाका माथिल्ला कर्मचारी, न्यायाधीश, आयोगका हाकिम, सुरक्षा फौजका माथिल्लो तहको अधिकृत सबै यस वर्गमा पर्दछन् । सत्ताको स्वाद चाखी सकेकाले सत्तामा होउन् या नहोउन् प्रतिपक्ष पनि आफ्नो पालो पर्खेर बसेका हुन्छन् र सधै राजनीतिमा हावी भइरहन चाहन्छन् । राज्य संयन्त्रमा हुने सबै कर्मचारी उनीहरुको शक्ति बुझेकाले उनीहरुदेखि सधैं डराई रहन्छन्, चाहे तिनीहरु सत्तामा होउन् या नहोउन् । यिनै शक्तिको स्वार्थ मिल्दा देशमा सबै प्रकारको योजनाहरु बन्छन्, कमिसन बाँडीचुंडी खान्छन् र केही प्रतिशत मात्र योजनामा लगाउँछन् ।

सबै राजनीतिक नियुक्ति, बढुवा तथा सरुवा यिनीहरुको मिलेमतोमा हुन्छ । स्वार्थ नमिल्दा यिनीहरु एकअर्काको उछितो काढ्छन् र आफ्ना चलायमानहरुको सहाराले सडक र सदनमा उफ्रन्छन् । साम, दाम, दण्ड, भेदको ‘चाणक्य नीति’लाई शिरोधार्य गरी विपक्षको विरोध गर्छन्, विरोधका कारण जनताले भोग्नुपरेको समस्याको वास्ता गर्दैनन्, बरु छिमेकी देश तथा अन्तर्राष्ट्रिय संगठनको हारगुहार गर्नसम्म पुग्छन् । तर, चलायमानहरु बिना यिनीहरु एक डेग अघि बढ्न भने सक्दैनन् ।

चलायमान शक्ति खिचडी राजनीतिको मेरुदण्ड हो । यिनीहरु बुढाहरु कहिले राजनीतिबाट बिश्राम गर्छन् र आफ्नो पालो आउँला भनी धैर्य गरी बसेका हुन्छन् । यिनीहरु शक्तिमानको नजिक हुने मौका खोजी राख्छन्न् । अनि, चाप्लुसी, मोलमाल र दलाली गर्न पछि हट्दैनन् । कुनै एक जना शक्तिमानको पूजा गरेर आफ्नो भक्ति जाहेर गर्न कुनै कसुर राख्दैनन् । शक्तिमानहरुको स्वार्थ मिल्दा पाउने ‘भाग’ आफ्नो पोल्टोमा पार्न यिनीहरु आफ्नो मालिक शक्तिमानको फेरो समातेर झुण्डिरहन रुचाउँछन् । लाज, आत्मस्वाभिमान तथा स्वअनुशासन यिनीहरुका लागि गौण हुन्छ । मालिक शक्तिमानलाई रिझाउन यिनीहरु अन्धभक्त जे पनि गर्न तयार हुन्छन् । अनि, भनेजस्तो भएन भने मालिक फेरेर अर्को मालिकको शरणमा पुग्छन् ।

चलायमान शक्तिहरु खिचडी राजनीतिमा हावी भइरहन्छन् । आफ्ना कार्यकर्ता तथा जनताका नाममा शक्तिमानहरुबाट आफ्नो काम गराउन यिनीहरु खप्पिस हुन्छन् । ठूला शक्तिमानको नाम लिएर यिनीहरु ठेक्कापट्टा, कर्मचारी सरुवा बढुवा तथा नियुक्तिको सिफारिस मात्र गर्दैनन् । बरु आफ्ना आफन्तका लागि भविष्य सुनिश्चित गर्नसके आफ्नो राजनीति सुरक्षित हुने देख्छन् । नेम–फेम र मनि–मशलका लागि मरिहत्ते गर्छन् । त्यसो त यिनीहरु बिना आफ्नो स्वार्थ पूरा हुन नसक्ने भएकाले शक्तिमानहरु पनि यिनीहरुलाई महत्व दिन चाहन्छन् या यसो भनौं एकअर्काको आपसी तालमेल बिना शक्तिमान र चलायमान खिचडी राजनीतिमा रमाउन सक्दैनन् । यिनीहरु आफूलाई मात्र राज्यको मालिक सम्झन्छन् र राज्यको सुबिधा बाँडीचुँडी लिन्छन् ।

खिचडी राजनीतिको मारमा पर्ने समूह पलायमानहरु हुन् । यिनीहरु निरीह हुन्छन्, अशक्त हुन्छन् र पलायमान हुन्छन् । शक्तिमान र चलायमानले थोपरेको अभाव, आहत र असुविधाको मार यिनीहरुले भोग्नुपर्छ । चुनावको बेला शक्तिमान र चलायमानहरुले यिनीहरुलाई जोश र हौसला भरिदिएको हुन्छ अनि मनभरि आशा र भरोसा फुलाई दिएको हुन्छ । जब चुनाव सकिन्छ, यिनीहरु पाखामा फ्याँकिन्छन् । अनि, यिनीहरु भौतारिएर हिंड्न बाध्य हुन्छन् । अथवा यसो भनौ यिनीहरु आफ्नो आशा र भरोसाबाट पलायन हुन्छन् ।

नेपालको राजनीति यसरी हेर्दा ‘खिचडी’ बनेको छ, जहाँ शक्तिमान र चलायमानहरु हावी भएका छन् । यो खिचडी अहिले पाकेको भने होइन । यो परम्परादेखि यसरी नै पाक्दै आएको थियो र पाक्दै आइरहेछ । परम्परादेखि नै शक्तिमान र चलायमानले चाख्दै आएका थिए र चाख्दै आएका छन् । अनि, हरेक कथित राजनीतिक परिवर्तनले नयाँ–नयाँ पलायमानहरु जन्माइरहेका छन्, जो राज्यको सेवासुबिधा र अवसरबाट सधैं बञ्चित भएका छन्, हुँदैछन् ।

यसो हुनुको मुख्य कारण हाम्रो भान्सामा खिचडी मात्र पाकेकाले हो, खीर या अरु नै परिकार नपाकेर हो । पकाउने भाँडो या चुल्हो मात्र फेरेर हुँदैन, परम्परागत पकाउने विधि, संस्कार र संस्कृतिलाई पनि फेर्नुपर्छ । जबसम्म हामीले खाना पकाउँदा परम्परागत विधि र तरिकालाई तोडेर वैज्ञानिक र ब्यवहारिक ढंगले खाना पकाएर तल्लो तहको जनतासम्म खुवाउन सक्दैनौं, तबसम्म जति नै चुलो फेरे पनि नेपाली समाजमा शक्तिमान र चलायमान जन्मिरहनेछन् । अनि, पलायमानहरु अभाव, आहत र असुविधामा बाँच्न बाध्य भइरहनेछन् । अनि खिचडी राजनीतिको परिणाम नेपाली जनताले लामो समयसम्म भोगी रहनुपर्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्