‘पञ्चायतका मालिक गणतन्त्रमा मोही बन्न सक्दैनन्’

dilman pakhrin
लाेकपाटी न्यूज

काठमाडौं, २६ माघ । वायुदेवता गुठी संघर्ष समिति, ज्यामरुङ –धादिङले सनातन कालदेखि जग्गाधनी प्रमाण पुर्जा पाएकोमा अहिले आएर गणतान्त्रिक सरकारले मोही कायम गरेकोमा कडा आपत्ति जनाएको छ । समितिले सरकारलाई उक्त गलत निर्णयबाट तत्काल ब्याक हुन पनि आग्रह गरेको छ ।

शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै सरकारलाई उक्त गलत निर्णय तत्काल नसच्याए आफूहरु बाध्य भएर चरणबद्ध आन्दोलन तथा संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ । समितिका तर्फबाट संयोजक ईश्वरी बहादुर लम्सालले सरकारले जग्गाधनी पुर्जा पाएकोमा अहिले आएर मोही कायम गरिनु सरासर अन्याय भएको भन्दै उक्त कदम तत्काल सच्याउन आग्रह गरे ।

उनले भने, ‘सरकारले यो निर्णय तत्काल सच्याएन भने हामी बाध्य भएर सरकारविरुद्ध आन्दोलनमा उत्रिनेछौं ।’ लम्सालले सरकारको यो कदमले आफूहरु सुकुम्बासी भएको पनि बताए । उनले भने,‘सरकारले हामीलाई नयाँ नापी कालदेखि नै जग्गाधनी भएको ठाउँमा अहिले श्री ५ को वायुदेवता गुठी बनाएर बास्तविक जग्गाधनीलाई मोही कायम गरेको छ । यो बदनियतपूर्ण र हामीलाई सुकुम्वासी बनाउने षड्यन्त्र हो । सरकारले यो निर्णय नसच्याए हामी सिंहदबार र गुठी संस्थान घेर्न बाध्य हुनेछौं ।’

कार्यक्रममा धादिङ क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपाका नेता खेम लोहनीले सरकारले यो समस्याको समाधान गर्नेमा आफू विश्वस्त रहेको सुनाए । उनले भने, ‘म निर्वाचित जनप्रतिनिधि भएको नाताले यो समस्या समाधान गर्नु मेरो कर्तव्य हो, सरकारलाई यो समस्या समाधान गर्नको लागि म पनि झकझकाउँछु । सरकारले समाधान गर्नेमा म पूर्ण रुपमा विश्वस्त छु ।’

लोहनीले अहिले ऐन संशोधन गर्ने बेला पनि परेकोले आफूले उक्त समस्या समाधानको लागि विभागीय मन्त्रीसँगपनि यसअघि नै छलफल गरिसकेको जनाए । उनले भने,‘मन्त्रीजी यो समस्या समाधान गर्नतर्फ गम्भिर हुनुहुन्छ ।’

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस धादिङ जिल्ला सभापति रमेश धमलाले सरकारले यो निर्णय तत्काल नसच्याए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । धमलाले भने, ‘२४ दिनभित्र सरकारले यो गलत निर्णय नसच्याए बाध्य भएर नगरपालिकाले नै जनताको समस्या समाधान गर्छ । म नगरपालिकाका मेयरलाई आग्रह गर्न चाहन्छु–तपाईले २४ दिनभित्र पनि सरकारले समस्या समाधान गरेन भने नगरपालिकाको अधिकार प्रयोग गर्दै जनतालाई पुर्जा दिनुहोस् ।’

कार्यक्रममा नयाँ शक्ति नेपालकी नेतृ एवम् पूर्व मन्त्री कल्पना धमलाले अहिले पनि सरकारले आफूहरुको ध्यानाकर्षणलाई गम्भिर रुपमा नलिएको गुनासो पोखिन् । उनले भनिन्, ‘यो समस्याको समाधान दुई तिहाई बहुमतको सरकारले गरेन भने सरकारविरुद्ध हामी आन्दोलनको नेतृत्व लिन तयार छौं । सरकारले बेलैमा सोचोस्।’

राप्रपाका नेता एवं पूर्व राज्यमन्त्री पर्शुराम तामाङले संघर्ष समितिले उठाएका मागहरु जायज रहेको भन्दै यसमा आफ्नो पाटीको पूर्ण ऐक्यबद्धता रहेको स्पष्ट पारे । तामाङले आफू पूर्व भुमिसुधार मन्त्री बुद्धिमान तामाङको प्रतिनिधिको रुपमा आएको पनि जनाए। उनले भने, ‘बुद्धिमानजी यो समस्या समाधानको लागि जस्तोसुकै सहयोग गर्नपनि तयार हुनुहुन्छ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिनले पनि तुरुन्त निर्णय सच्याउन सरकारलाई आग्रह गरेका छन् । उनले यो समस्या समाधानको लागि बेलैमा सोच्नुपर्ने पनि धारणा राखे ।

गुठी संस्थाका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपाका नेता लक्ष्मण ज्ञवालीले पुर्जा पाएका र पुर्जा नपाएकाहरु दुवैको समस्या रहेकोले यो समस्या समाधानका लागि आफूले पनि मन्त्रीलाई पटक–पटक आग्रह गरिसकेको जनाए । ज्ञवालीले भने, ‘अब सुतेर बस्ने समय छैन । गुठी ऐन संशोधनको अन्तिम चरणमा छ, सरकारले बेलैमा यी सबै समस्याहरुको समाधान गर्नुपर्छ । त्यतातिर ध्यान दिन म आग्रह गर्छु ।’

कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले आफूले यो समस्यालाई गम्भिर रुपमा लिएको बताए । उनले भने, ‘संघीय सांसद खेम लोहनीजीको नेतृत्वमा आन्दोलन कमिटी बन्नुपर्छ । सबै शीर्ष नेताहरुलाई भेटेर यो समस्या समाधानका लागि दवाव दिनुपर्छ ।’

ढुंगानाले आफू यो समस्या समाधानका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेर लविङ गर्न तयार रहेको सुनाए । उनले भने, ‘आगामी विद्येयकमा यो समस्या समाधान गर्नेगरि स्पष्ट रुपमा समावेश गर्नको लागि पनि म प्रतिपक्षी दल कांग्रेसका सबै सांसदहरुलाई भेटेरै आग्रह तथा लविङ गर्छु ।’

यद्यपि उनले संघर्ष समितिले उठाएका जायज मागप्रति केन्द्रीय सरकार गम्भिर नबने बाध्य भएर नगरसभा राखेर बास्तविक जग्गा धनी प्रमाण पुर्जा भएकाहरुलाई नै वितरण गरिदिने पनि स्पष्ट पारे । उनले भने, ‘पञ्चायतमा पनि जग्गा मालिक बनेकाहरु यो गणतान्त्रिक व्यवस्थामा कदापि मोही बन्न सक्दैनन् ।’

कार्यक्रममा संघर्ष समितिका उपाध्यक्ष भूमिनन्द धमला, निलकण्ठ–११ का वडाअध्यक्ष तीलक बहादुर थापा, नेपाली कांग्रेस वडा नम्बर ११ सभापति रामबहादुर श्रेष्ठ, विष्णु बोहरालगायतले समस्या समाधानको लागि सरकारले तत्काल पहल गर्नुपर्ने धारणा राखे । अन्यथा आफूहरु बाध्य भएर सिंहदरबार घेर्न र चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्