सरोजदिलु विश्वकर्मा/समावेशिताका सवालमा केपी ओलीभन्दा माधव नेपाल उद्दार भएकाले नै उहाँप्रति उत्पीडित समूहहरुको आस्था र विश्वास बढेको हो। यो समुदायसँग माधव नेपालको भूमिगत कालदेखिकै भावनात्मक सम्वन्धसमेत रहेको छ र २०४७ पछि उहाँबाट सो समवेदनाको उहाहरणसमेत देखिँदैआएको छ।कमलरी शान्ता चौधरीलाई सांसद बनाउनेदेखि बुटवलतिर सिर्फ एउटा वाहुवली खेलाडीका रुपमा चिनिएका छविलाल विश्वकर्मालाई पहिलोपल्ट पार्टी नेतृत्वमा स्थापना गर्ने, मास्टरी काम गरेर ग्रामिण जीवन व्यतित गरिरहेका रामप्रीत पासवानलाई राष्ट्रियसभाको उपाध्यक्ष बनाउने तथा अल्पसंख्यक समुदायका लालबाबु पण्डितलाई राष्ट्रपति बनाउनु पर्छ भनेर पहल गर्ने नेता भएकोले समावेशिताका सवालमा ओलीको तुलनामा नेपाल अधिक सम्वेदनशील छन्। पछिल्लो समयमा ओलीले दलितलाई योग्य नदेख्ने, देखेपनि आफ्नो खेमाका वफादारहरुलाई मात्र पत्याउने तथा आरक्षणविरुद्ध बोलेका शब्दहरु र उनका कार्यकालमा महिला र दलितमाथि थुप्रै अपराधहरु भएकाले पार्टीभित्रका दलितहरुको भरोसा माधव नेपालतिरै देखिन्छ।
ओली सरकारले समावेशी समूहलाई दयानिगाहाको रुपमा मात्र हे¥यो। सातवटा मुख्यमन्त्री बनाउदा मैदानमा उत्रिएकी एक सशक्त महिलालाई समेत पाखा लगायो। कुलमानजस्ता जनताले योग्य घोषणा गरेका व्यक्तिलाई मुल्यांकन गर्न नमानेर आफ्ना नातागोता र सुण्डमुण्डलाई योग्य ठान्यो। कैयौं नियुक्तीहरु भए, आठ्कक्षा योग्यताको अर्थमन्त्रीलाई योग्य देख्यो तर मुख्य मूभिकामा दलितलाई कहीँ पत्याएन। सत्रपटक मन्त्रीपरिषद हेरफेर हुँदा भएको एउटा क्याविनेट मन्त्रीलाई निकाल्यो, दुई दलित महिलाहरुलाई कुनै भूमिका नहुने गरी मन्त्री बनायो। आफ्नो समूहमा समेत दलितलाई योग्य देख्दैदेखेन। राजनीतिक दूराग्रहले भएको एउटा प्रदेश प्रमुख फेर्दा त्यसमा दलितलाई नै राखेको भए हुने, तर त्यो चाहेन। त्यसैले पनि पार्टीप्रति आस्था राखिराख्ने दलितले माधव नेपालबाट धेरै आशाभरोसा गरेका छन् ।
पौष ५ गतेपछि आफूले खाइपाएको पद रक्षा गर्ने र नयाँ लालच राख्ने दलितहरु बाहेक सवै कार्यकर्ताहरु नेपाल समूहमै लागेर आन्दोलनको मैदानमा आए। बालुवाटारमा भोजभेरसहित भकाभक केन्द्रीय सदस्यको नियुक्ती खुलिरहेको बेला दलितहरु पाटी कार्यकर्ता भएको कर्तव्य पूरा गर्नमात्र प्रतिगमनविरुद्धको आन्दोलनमा आएका होइन, केपी ओली पक्षले तिरस्कार, विभेद र अयोग्य घोषित गरेका कारणले समेत तिनले माधव पक्षलाई साथ दिएका हुन्। कतिले यही पार्टीलाई नयाँ कोर्षबाट अगाडि बढाउनु पर्छ र त्यसको अगुवाई अव माधव नेपालले गर्नसक्नु हुन्छ, त्यस नेतृत्वले दलित उत्पीडित उपेक्षित समुहलाई समान रुपको अवसर दिनेछ, सम्मान गर्नेछ भन्ने विश्वास गर्दै आन्दोलनमा साथ दिएका हुन्।
नेताहरुले विगतमा जानअन्जानबश् धेरै गल्ती भए, गणतन्त्रको मुलमर्मलाई हामीले पनि अंगाल्न सकेनौं, अब सवै जाति, समुदाय, लिंग, क्षेत्र भाषीहरुको पार्टी निर्माण गरौं भन्ने आब्हान हुँदा हामीले पनि अब परम्परागत रुपको बाहुनवादी पार्टी होइन, दलित उत्पीडित वर्ग समुदायसहितको केन्द्रीय नेतृत्व स्थापित हुने आशा देख्यौं। सोही भएमुताविक यही पार्टी नेतृत्वलाई नयाँरुप दिने आशासहित विश्वास गरेका हौं। यतिवेला एमाले पार्टीमा एकताको वहस चलिरहेको छ। तर एकताका आधार के हुन् त ? दलित तथा उत्पीडित समावेशी समूह स्पष्ट हुनसकेका छैनन्। कि त नेताहरु मिलिदिँदा वा नेताहरुको पद सुरक्षित हुनेहुँदा यो समुदाय केवल साक्षी मात्र बसिदिनु पर्ने हो कि एकताभित्र समृद्धि र समावेशिताको आधार खोजिनु पर्ने हो ? हाम्रो प्रश्न यहाँ छ।
उत्पीडित समुदायलाई दयाँ निगाह देखाउदै आएको यो परम्परावादी पार्टीभित्र नेताहरु साविकको स्थानमा फर्किने, सरकार बनाउने, मन्त्रीको भागवण्डा लिने तर चरित्र चैं नबल्ने हो भने उत्पीडित समूहलाई यो एकताको कुनै आवश्यकता छैन। एकता नै भइहाल्यो भनेपनि त्यसपछिको एकढिक्का एमालेप्रति अव मरिमेट्नु छैन। उही ओली चरित्रअनुसार उत्पीडित समुदायलाई योग्य नदेख्ने, संविधानले निर्दिष्ट गरेको समावेशीतालाई मिच्दै खाइपाई आएकै वर्ग जातिहरु सत्तामा रमाउने हो भने पार्टी एकताको सार्थक अर्थ छैन नत त्यस्तो एकताबाट पार्टीले उही रुप नै प्राप्त गर्दछ। तर जसरी माधव नेपाल, झलनाथलगायतका नेताहरु भृकुटीमण्डप अगाडि गर्जिएर हामी गल्ती सुधार्छौ भन्नुभयो सोहीअनुसार समावेशी समूहको भावनालाई अबको एकताले सम्वोधन गर्दछ भने यो समुदाय पक्कै एकताको पक्षमा छ।
तथापि एकताको वहस यो समुदायको भावनाभन्दा आआफ्ना स्वार्थमा केन्द्रित भएको देखिन्छ। एकता प्रयासमा लाग्ने नेताहरु आआफ्नो विरासत जोगाउन लागि परेको देखिन्छन्। अघिल्लोपल्ट ओलीका दूत बनेर आउने सुभाष नेवांग र विष्णु पौडेलहरु आफ्नो पदलाई केन्द्रमा राखेर माधव नेपालका ढोकामा धेरैपल्ट आए। अहिले भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल तथा योगेश भट्टराईहरु दोश्रो पुस्तामा नेतृत्व सर्नुपर्दछ, त्यसको नेतृत्व हामीले गर्ने हो भन्नेमा केन्द्रित भएका देखिन्छन्। तर दोश्रो पुस्ताको नेतृत्वभित्र उहाँहरु नै रजाइ गर्ने होकी यी उपेक्षित तथा समावेशी समूहलाई समेत अटाउने हो ? उहाँहरुले नेतृत्व गर्ने पार्टी वा भोलीको सरकारमा यो समुदायलाई उही पुरानै दयानिगाहले बारीका डीलमा राखेर दुनाटपरामा दिने हो कि संगसंगै भान्सामा छिराउने हो ? त्यसमा कुनै अन्तरक्रिया भएको देखिदैन। तसर्थ आफ्नै विरासतका लागि मात्रै एकता हुँदैछ भने चेतनशील दलित उत्पीडितहरुले अब त्यस्तो नेतृत्वलाई टेर्दैनन् पनि।
यी उत्पीडित समुदायले चाहेको एकता भनेको ओली चरित्रमा आमुल सुधार हुनु हो। विगतमा यो समुदायमाथि गरिएको अपमानप्रति क्षमायाचना गर्नु हो। समावेशी समूहलाई हरेक तहको संरचनामा उत्तिकै हैसियतमा राख्नुपर्दछ, राज्यका संरचनाहरुमा समेत समानुपातिक हिस्सा दिन तयार हुनपर्दछ भन्ने हो। तर यस्ता विषयहरुलाई कार्यदलको १० बुँदे सममmदारीपत्रमा कतै समेटेको छैन न त भुषाल कमरेडको नयाँ जनवादी वहसमा समेत यो समुदायको मुद्दालाई अबको नेतृत्वमा कसरी सम्वोधन गर्ने भन्ने उल्लेख छ।
अघिल्लो निर्वाचनमा वृहत कम्युनिष्ट एकता, कम्युनिष्टको नेतृत्वमा स्थीर सरकार र राष्ट्रको समृद्धिको मुद्दासहित जनतामा गयौ, जित्यौंैं। अहिले यो एजेण्डाविना जनतामा कसरी जाने ? हामीले भ्रटाचार र गरीविको अन्त्य, रोजगारीको ब्यापक सिर्जना, उत्पादनशील युवा, समावेशी संरचना र त्यसका लागि घरघरमा सिंहदरवारको नारा लिएर निर्वाचन जितेका हौं। यी मुद्दाहरुलाई ओली नेतृत्वले कप्लक्कै खाइदियो। अनि यी मुद्दाहरुलाई बिर्सेर उही ओलीज्यूको नेतृत्वमा पार्टी एकता भनिरहँदा कार्यकर्ताहरु त एकता हुने भयो भनेर केहीवेर रमाउलान् तर एकिकृत पार्टीले विरोधी पार्टीसंग यिनै फोस्रा थुतुना लिएर कसरी सामना गर्न सकौंला ? कि त फेरी मतदातालाई डाँट्ने छौं, पद प्राप्तीका लागि मत किन्ने छौं, त्यो पनि नसके हाम्रा युवा फोर्सह? परिचालन गरी विपक्षी उमेदवारलाई बाटो छेकेर, जनताको डाड् भाचेर भए पनि हाम्रा आआफ्ना पद हत्याउने छौं भन्ने आसयमा एकता खोजिएको हो भने त्यो क्षणिक आनन्दका लागि मात्र हुनेछ।
त्यसैले गल्तीको याचना, नयाँ नेतृत्व र नयाँ जनसवालसहितको एकता अहिलेको आवश्यकता हो। किनकी ओलीका कारणले कम्युनिष्ट आन्दोेलन धेरैवर्ष पछि परिसकेको छ। यो जटील समयलाई कि नयाँ नेतृत्वले व्यवस्थापन गर्नसक्छ कि त कम्युनिष्ट पार्टीहरुबीचको एकतालाई पुनःब्युताउँनु पर्दछ। अतः पार्टीको सुरक्षित भविश्य, उत्पीडित समुदायको हित र हिस्सेदारीका लागि माधव नेपाल अडिनुभएको धरातल नै बलियो छ। उहाँ ओली चरित्रमा सुधार हुँदैन र त्यही पात्रले नेतृत्व गर्दछ भने सारमा एकताको अर्थ छैन भन्ने मान्यतामा हुनुहुन्छ, कम्युनिष्ट पार्टीहरुको पुनर्गठन हुनुपर्दछ र ओलीले भताभुंग पारि पछाडि धेकेलेको कम्युनिष्ट शासनलाई पुस्र्थापित गर्नुपर्दछ भन्ने रणनीतिमा हुनुहुन्छ। अब त्यो नयाँशक्ति हाक्ने र जनताको समावेशी विचारलाई समेट्ने नेतृत्व भनेको माधव नेपाल नै हो।



लोकपाटी न्यूज

