स्वर्ण जयन्तीका लागि शनिबार पशुपतिको भूपू विद्यार्थी भेला

Pashupati school
लाेकपाटी न्यूज

काठमाडौं, १९ माघ । पर्वत जिल्लाको राम्जामा अवस्थित पशुपति माविको स्वर्ण जयन्ती सफल पार्नका लागि आउँदो शनिबार भूपू विद्यार्थीको भेला हुने भएको छ ।

शनिबार काठमाडौंमा उपलब्ध भूपू विद्यार्थीको बैठकले आउने शनिबार बृहत भेला बोलाउने निर्णय गरेको हो । भेला आउने शनिबार बिहान ११.०० बजे बालुवाटारस्थित नेपाल हाउसमा हुने भूपू विद्यार्थी मञ्चका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

भेलामा यसै वर्ष सम्पन्न हुने पशुपति माविको स्वर्ण जयन्तीको तयारीका विषयमा छलफल हुनेछ । भेलामा विद्यालयले प्रकाशित गर्ने स्मारिका, स्मारिकामा समावेश हुने लेख रचना र अन्य सामग्री, स्मारिका प्रकाशनको व्यवस्थापन, सहयोग संकलन र स्वर्ण जयन्ती सम्बन्धि अन्य सम्पूर्ण विषयमा छलफल गरी निर्णय लिइने भूपू विद्यार्थी मञ्चका सचिव भीम गौतमले बताए ।

विद्यालयले आउने चैत–वैशाखमा स्वर्ण जयन्ती आयोजना गर्न लागेको हो । पर्वत जिल्लामा अब्बल र जेठो मानिने पशुपति माविले स्वर्ण जयन्तीपछि प्राविधिक शिक्षा पढाउने गरी गृहकार्यसमेत थालेको छ । यद्यपि, प्राविधिक शिक्षामा कुन विषय पढाउने भन्नेबारे अन्तिम निर्णय भइसकेको छैन ।

शनिबार हुने भेलामा विद्यालयले छनोट गर्ने प्राविधिक विषयमा समेत छलफल हुने भूपू विद्यार्थी अनिरुद्र गौतमले बताए । ‘स्थानीय आवश्यकता, स्कोप, विद्यालयको सामर्थ्य, विद्यार्थी र अभिभावकको रुचि लगायत कुराहरु हेरेर हामी अन्तिम निर्णयमा पुग्छौं’ गौतमले भने ।

भेलामा पशुपति माविबाट उत्तीर्ण भई हाल काठमाडौंमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने सबै भूपू विद्यार्थीलाई आमन्त्रण गरिएको छ । ‘हामीले सबैलाई सूचना गर्छौं, जुनसुकै स्रोतबाट सूचना पाए पनि भेलामा आइदिनुहोला’ भेलामा सहभागी हुन अपील गर्दै भूपू विद्यार्थी तेजमणि तिमिल्सिनाले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्