एजेन्सी। बलिउड अभिनेता अजय देवगन र रणवीर कपुर बाबु–छोराको भूमिकामा देखिने भएका छन्। उनीहरुलाई बलिउड निर्देशक लव रञ्जनले आफ्नो नयाँ फिल्ममा बाबु–छोरा बन्ने साइत जुराएका हुन् ।
लव रञ्जनले यसअघि ‘सोनु के टिटु की स्विटी’ र ‘प्यारका पञ्चनामा’जस्ता दुई वटा सिरिजको सफल निर्देशन गरिसकेका छन्।
वर्ष २०१८ मा रिलिज भएको फिल्म ‘सन्जु’ को अपार सफलतापछि रणवीरप्रति निर्देशकको आकर्षण झन् बढेको छ । सन्जु २०१८ को सबैभन्दा हिट फिल्म थियो ।
अजय र रणवीरलाई लिएर फिल्म बनाउने घोषणा लव रञ्जनले धेरै पहिले गरिसकेका थिए । रञ्जनले आगामी फिल्ममा अजयले बाबुको र रणवीरले छोराको भूमिकामा अभिनय गर्ने घोषणा गरेका छन्। यो फिल्मका लागि बाबु–छोराबीचको कमेडी रचिसकेको पनि उनले बताए ।
यसअघि अजय र रणवीर फिल्म ‘राजनीति’ मा एकसाथ देखिएका थिए । उनीहरुको यो फिल्म बलिउडमा सुपरहिट भएको थियो ।



लाेकपाटी न्यूज

