दमक, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशको चिन्ता लिनुपर्ने दिन नआउने बताएका छन् ।
सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रधानमन्त्री ओलीले कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका हुन् ।
उनले भने, “सरकारले चौतर्फी तीव्रगतिले काम गरेको छ, त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन आउँदैन ।” झापाको दमक नगरपालिकाले यहाँ आजदेखि आयोजना गरेको पाँचदिने प्रदेशस्तरीय बृहत् बालमहोत्सवको उद्घाटन गर्दै प्रम ओलीले वर्तमान सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीँबाट नेपालले फड्को मार्ने स्पष्ट पारे ।
देशको अहिलेको आवश्यकता पूरा गर्न सरकार स्पष्ट र जिम्मेवारीका साथ अगाडि बढेको उल्लेख गर्दै उनले विकास र समृद्धिको महान् यात्रामा अब सबै नेपाली एक ढिक्का हुनुपर्ने खाँचो औँल्याए । उनले देशको साझा लक्ष्यप्राप्तिका लागि कसैले बाधक बन्न नहुने धारणा पनि राखे ।
सरकारले ‘सुखी नेपाली र समृद्धि नेपाल’को परिकल्पना सरकारको लक्ष्यमात्र नभएर देशकै योजना भएको उनको जिकिर थियो । प्रधानमन्त्री ओलीले देशको विकाससँगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रुपान्तरितको दिशामा अगाडि बढेको बताए ।
उनले बालमहोत्सवले बालबालिकाभित्रका लुकेका प्रतिभालाई उजागर गर्ने अवसर भएको बताउँदै यस्ता महोत्सव आफ्ना क्षेत्रको पहिचानसँगै देशको आर्थिक विकासमा सघाउ पु¥याउन सहयोग पुग्ने माध्यम भएकोे भनाइ भनाई राखे । यसै अवसरमा उहाँले नगरपालिकाद्वारा प्रकाशित ‘प्रोफाइल’को समेत विमोचन गरे । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देशको विकास र समृद्धिको महान् लक्ष्यप्राप्तिका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकामा जोड दिए ।
नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको बालमहोत्सव उद्घाटनमा नगरउपप्रमुख तथा बालमहोत्सव मूल समितिका संयोजक गीता अधिकारीले बालमहोत्सव बालमैत्री नगर बनाउन यसले सघाउ पु¥याउने बताए ।
बालमहोत्सवको उद्घाटनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भौतिक योजनमन्त्री रघुवीर महासेठलगायत प्रदेशका मन्त्रीको उपस्थिति थियो । महोत्सवमा स्थानीय जातिका झाँकी, नृत्यसमेत प्रस्तुत गरिएको थियो ।



लाेकपाटी न्यूज

