‘उसका बा’को इतिहास (कविता)

Suraj Upadyaya
बाबा कम्युनिस्ट भनेको के हो ? उसले मुसुक्क मुस्कुराउँदै भनेको थियो नानु तिमी बुझ्ने भए पछि यही झुपडीमा कम्युनिस्टलाई भेट्ने छौ ।
लाेकपाटी न्यूज

सुरज उपाध्याय

ऊ अझै जीवित छ
अझै जीवितै छन् उसका आस्थाहरु
धेरै वर्षपछि उसलाई भेट्दा
लाग्यो अझै यो देशमा कम्युनिस्टहरु छन् ।
भर्खरै स्कुल जाने उमेर भएकी उसकी सानी छोरीले
उसैलाई सोधेकी थिई एकपल्ट
बाबा कम्युनिस्ट भनेको के हो ?
उसले मुसुक्क मुस्कुराउँदै भनेको थियो
नानु तिमी बुझ्ने भए पछि यही झुपडीमा
कम्युनिस्टलाई भेट्ने छौ ।

आज उसकी छोरी पनि कम्युनिस्ट भएकी छ
कम्युनिस्टलाई आफनै घरमा भेटेकी छ ।
हो, उसले पहिला
मार्क्स पढी, लेनिन पढी
माओ पढी , चारु मजुमदार पढी ।
पढी म्याक्सिम गोर्की
पुष्पलालदेखि मोहनबिक्रम पढी,
प्रचण्डदेखि बाबुराम भट्टराई पढी
युद्ध प्रसाद मिश्रदेखि पारिजात पढी ।

के पढिन र ?
भेटे जति सबै पढी
दर्शनमा चुर्लुम्ब डुबी
आजैजस्तो लाग्छ उसलाई
झण्डाको गीत गाएको
हिजै जस्तो लाग्छ उसलाई
म्याक्सिम गोर्कीको आमा पढेको
उस्को निजी लाइब्रेरीमा सजिएर बसेका छन्
अनिदो पहाड
नयाँ घर
रातो आकाश
देवासुर सङ्ग्राम ।

आज आएर
आफ्नै बाबुको इतिहास पढ्दै छे
हो उसलाई थाहा थिएन
थाहा होस् पनि कसरी ?
ऊ आमाको गर्भमै हुँदा
उसका बा बेपत्ता थिए
उसका बाको टाउको काटेर ल्याउनेले
पुरस्कार पाउथ्यो ।
देशैभरि बाको टाउकाको खोजी थियो ।

आज घरमै भेटेकी छ उसले माओलाई
उसका लागि
आफ्नो बाको स्वाभिमान
आफ्नो बाको विचार
आफ्नो बाको जीवनशैली
आफैले मान्दै आएका आदर्शभन्दा महान् देखी ।
अब उसलाई सेतै दारी फुलेका
मार्क्सको जीवनी पढी राख्नु पर्दैन
आफ्नै बाबुको मुहार पढे पुग्छ ।।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्