काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीमा उत्पन्न विवादबारे आज भेटवार्ता हुने भएको छ। आइतबार दिउँसो दुवै अध्यक्षबीच बालकुमारीस्थित पार्टी कार्यालयमा भेटवार्ता हुन लागेको जसपाका नेता डा. सुरेन्द्र झाले बताए।
सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने विवाद चुलिएपछि जसपा विभाजनको डिलमा छ। ठाकुर र यादव दुवैले फरक फरक समूहको नेतृत्व गरेका छन्। ठाकुर पक्षले एमाले अध्यक्ष केपी ओलीको सरकारलाई समर्थन गर्न चाहन्छ। तर यादव पक्ष भने ओलीविरोधी गठबन्धनलाई सघाएर नयाँ सरकार गठनको कसरत गरिरहेको छ।
यसअघि ठाकुरले ओलीलाई सघाउन तटस्थ बस्ने निर्णय गरेपछि विपक्षी गठबन्धनको सरकार बनाउने प्रयास असफल भएको थियो। त्यसपछि जसपामा विवाद थप बढेको छ। विवादकै बीच ठाकुर पक्षले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई आफ्नो भेला गरेर संसदीय दलको नेता घोषित गरेपछि टकराव चुलिएको छ।
हिजो यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चोरबाटोबाट महतोलाई संसदीय दलको नेता बनाउनु अवैधानिक भएको ठहर गरेको थियो। यही अवस्थामा दुई अध्यक्षबीच सघन वार्ता हुन लागेको हो।



लोकपाटी न्यूज

