नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

लोकपाटी न्यूज

काठमाडौं। वैशाख २२ गतेदेखि विक्री खुला भएको नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ।

कम्पनीले १० वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदरकोे ऋणपत्र विक्री खुला गरेको हो। कम्पनीले उक्त ऋणपत्रको नाम ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ दिएको छ। कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यको रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो। कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ।

सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो। आज (शुक्रवार) बैंकिङ समयसम्म विक्रीमा रहने उक्त ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट यो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ। साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ। ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिंगल ए ग्रेडिङ प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम न्यून भएको संस्था हो भन्ने जनाउँछ।