एजेन्सी । फेब्रवरी १४ अर्थात भ्यालेन्टाइन्स डेका दिन बहिनी दिवस मनाउने घोषणा भएको छ । पाकिस्तानको एक विश्वविद्यालयले उक्त दिन प्रणय दिवसको साटो बहिनी दिवस मनाउने घोषणा गरेको हो ।
विश्वविद्यालयले इस्लामिक परम्परा तथा संस्कृतिलाई बढावा दिनका लागि भन्दै हरेक वर्ष फेब्रवरी १४ मा सिस्टर्स डे मनाउने फैसला गरेको हो ।
फैसलावादस्थित कृषि विश्वविद्यालयले यस्तो निर्णय गरेको विश्वविद्यालयका उपकुलपतिले जानकारी दिएका छन् । विश्वविद्यालयले बहिनी दिवसको दिन छात्राहरुलाई स्कार्फ तथा कपडाहरु उपहारको रुपमा दिने नियम पनि बनाएको छ । विश्वविद्यालयका अनुसार यस्तो दिवस मनाउनु पाकिस्तानको हीत तथा इस्लाम कानूनको पक्षमा छ ।
सन् २०१७ मा इस्लामावाद उच्च अदालतले एक आदेश जारी गर्दै भ्यालेन्टाइन्स डे माथि प्रतिबन्ध लगाएको थियो । प्रणय दिवस मनाउन मात्र होइन यस सम्बन्धी समाचार तथा समाग्रीहरु प्रकाशन प्रशारण समेत नगर्न सञ्चार माध्यमहरुलाई अदालतले आदेश दिएको थियो ।



लाेकपाटी न्यूज

