काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सरिक हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। असन्तुष्ट पक्षका एमाले सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला ओलीले त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका हुन्।
आइतबार प्रेस वक्तव्य जारी गरेर उनले पार्टीमा कसैलाई पनि काखापाखा वा पक्षपात नगरिने बताए। उनले भनेका छन्, ‘पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन्।’
उनले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त नभएको पनि उल्लेख गरेका छन्।
यस्तो छ ओलीको विज्ञप्तिको पूर्णपाठ
राणा शासनको अन्धकार युगमा सुन्दर भविष्य र संकल्पका साथ स्थापित, संगिठत र सक्रिय भई अघि बढेको बामपन्थी आन्दोलन धेरै शहीदको बलिदान, धेरै अग्रजका मार्गदर्शन र योगदानबाट आज यस ठाउँमा आइपुगेको छ । राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ । जनताको आशा भरोसा र विश्वासको केन्द्र यो पार्टी नेकपा (एमाले) लाई अझ सुदृढ र एकताबद्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमुख दायित्व आजको पुस्ताको हो । कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन ।
आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन् । कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन् । के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ?
सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु । यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन । म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबूत पार्दैअघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।




लोकपाटी न्यूज

