१. अन्धविश्वास (Superstition) :– एउटा पद, जसलाई धर्मशास्त्रीय तथा बुर्जुवा साहित्यमा सामान्यतया वास्तविक आस्थाको विरुद्धमा राखिन्छ र आदिम जादूसँग जोडिएको हुन्छ। कुनै पनि धर्मको अनुयायीको दृष्टिकोणबाट अन्य धर्महरुको मत तथा अनुष्ठान अन्धविश्वास हुन्। माक्र्सवादी निरिश्वरवादले धार्मिक आस्था तथा विभिन्न अन्धविश्वासहरुलाई अस्वीकार गर्दछ।
२. अंश र सम्पूर्ण (Part and Whole) :– दार्शनिक प्रवर्ग, जसले वस्तुहरु (अथवा वस्तुका तत्वहरु) को समष्टि तथा त्यो संयोजकको बीचमा सम्बन्धलाई व्यक्त गर्दछन्, जसले यी वस्तुहरुलाई एकीकृत गर्दछ तथा समष्टिलाई यस्ता नयाँ गुणहरु र नियमसंगतिहरु प्रदान गर्दछ, जसलाई वस्तुहरुमा पृथक रुपमा लिँदा पाउन सकिंदैन। यो संयोजकको माध्यमबाट सम्पूर्ण अभिव्यक्त हुन्छ, जसको सम्बन्धमा अलग–अलग वस्तुहरु अंश हुन्छन्। अंश र सम्पूर्ण प्रवर्गले संज्ञानको यस्तो सामान्य गतिलाई पनि लक्षित गर्दछन्, जुन आम रुपमा सम्पूर्णको अखण्ड अवधारणासँग आरम्भ हुन्छ। त्यसपछि सम्पूर्णका अंशहरुमा विभाजित गर्दा विश्लेषणको अवस्थाबाट अगाडि बढ्दछ र मनमा ठोस सम्पूर्णको रुपमा वस्तुको पुनर्सिजनासँग पूर्ण हुन्छ।
अंश र सम्पूर्णको समस्या सबभन्दा पहिले प्राचीन यूनानमा (प्लेटो र विशेषगरी एरिस्टोटलद्वारा) प्रस्तुत गरियो र त्यस बेलादेखि सम्पूर्ण उल्लेखनीय दार्शनिक धाराहरुसँग तिनीहरुको सम्बन्ध रहेको छ। विज्ञानमा आश्रित भौतिकवादी धाराहरु नियमित रुपमा सम्पूर्णको यान्त्रिकवादी अवधारणासँग सम्बन्धित रहे, जसलाई यान्त्रिकविज्ञान (र पछि गएर शास्त्रीय भौतिक विज्ञान) बाट ग्रहण गरिएको थियो। तर आदर्शवादी सिद्धान्त सम्पूर्णलाई त्यसका अंशहरुको समष्टिसम्म सीमित गर्न सकिंदैन भन्ने धारणामाथि आधारित थिए। केवल मानसिक उपजहरुलाई मात्र वास्तविक सम्पूर्णता मानियो, जबकि भौतिक सत्ताहरुको आधारलाई यान्त्रिक समुच्चय मानियो। वैज्ञानिक ज्ञानको विरुद्धमा दार्शनिक ज्ञानको स्थापना यसैमा आधारित थियो।
शास्त्रीय जर्मन दर्शन (शेलिंग, हेगेल) मा अजैविक (यान्त्रिक) सम्पूर्ण र जैविक (स्व–विकासमान) सम्पूर्णमा अन्तर गरियो। तर जैविक सम्पूर्णलाई पदार्थसँग होइन, बरु केवल आत्माको विकाससँग मात्र जोडियो। १९औं–२०औं शताब्दीमा विभिन्न आदर्शवादी धाराहरुले (नवप्राणवाद, साकल्यवाद, अन्तःप्रज्ञात्मकतावाद, आदिले) अंश र सम्पूर्णको सम्बन्धमाथि परिकल्पनाहरुको व्यापक उपयोग गरे। शास्त्रीय जर्मन दर्शनका परम्पराहरुको आलोचनात्मक ढंगबाट मूल्यांकन गर्दै माक्र्सले जैविक सम्पूर्णको अध्ययनको सिद्धान्तहरुको – अमूर्तबाट माथि मूर्ततिर जाने विधि, विश्लेषण र संश्लेषणप्रति द्वन्द्वात्मक दृष्टिकोण आदिको – निरुपण गरे। मार्क्स सम्पूर्णको रुपमा समाजको वैज्ञानिक अध्ययनको विधिको संस्थापक पनि थिए। यसको साथसाथै द्वन्द्वात्मक भौतिकवादले ती सैद्धान्तिक मतहरु तथा विषयहरुको सामग्रीको सामान्यीकरण गर्दछ, जुन वस्तुहरुप्रति सम्पूर्णतामूलक दृष्टिकोणमाथि आधारित हुन्छन्।
नयाँ दृष्टिकोणले अंश र सम्पूर्णको तर्कसंगत स्पष्टीकरण गर्न सम्भव बनाउँदछ। सैद्धान्तिक रुपले मात्र होइन, बरु प्रयोगात्मक रुपले पनि यो सिद्ध गरियो कि जटिल रुपमा संगठित विषयहरुको रुपमा सम्पूर्णलाई त्यसका भागहरुको समष्टिसम्म सीमित गर्न सकिंदैन। सम्पूर्णले नयाँ गुण तथा विशेषताहरु ग्रहण गर्दछ, जुन त्यसका अंशहरुमा विद्यमान हुँदैनन्, तर सम्बन्धहरुको कुनै निश्चित प्रणालीमा तिनीहरुको पारस्परिक क्रियाको फलस्वरुप उत्पन्न हुन्छन्। कुनै पनि सम्पूर्ण गठनको यो विशेषता, जसलाई समाकलनीयताको गुण भन्न सकिन्छ। यस्ता सम्पूर्ण गठनहरुको सबभन्दा महत्वपूर्ण सामान्य लक्षण हो, जसले सम्पूर्णका बाँकी सबै विशिष्ट गुणहरुलाई बुझ्न सम्भव बनाउँछन्। यसमा निम्न कुराहरु पर्दछन् : विकासको प्रक्रियामा नयाँ पक्षहरुको उत्पत्ति, सम्पूर्णताका नयाँ प्रकारहरु प्रकट हुुनु; नयाँ संरचनात्मक स्तरहरुको गठन र तिनीहरुको क्रमिक अन्तर्निभरता; सम्पूर्ण प्रणालीहरुको जैविक तथा अजैविक रुपमा यस आधारमा विभाजन, जसबाट अजैविक प्रणाली (परमाणु, अणु, आदि) का अंशहरुका गुणहरु सम्पूर्णलाई परावर्तित गर्नुको बावजूद मुख्यतया अंशहरुको आन्तरिक स्वरुपबाट निर्धारित हुन्छन्, जबकि जैविक प्रणाली (जैविक तथा यान्त्रिक प्रणालीहरु) मा, उदाहरणको लागि जैविक तथा सामाजिक विषयहरुमा, अंशहरुका गुणहरु पूर्णतया सम्पूर्णका गुणहरुबाट निर्धारित हुन्छन्।
जैविक सम्पूर्णका अंशहरुलाई त्यसको विकासको उपजको कारण सम्पूर्णबाट बाहिरी रुपमा स्वतन्त्र अंशहरुको रुपमा, तिनीहरुको नयाँ प्रकृतिलाई नष्ट नगरीकन अलग गर्न सकिंदैन। समकालीन संज्ञान यो पारस्परिक संज्ञानात्मक विरोधाभासलाई समाधान गर्न समर्थ छ। यदि यसले अंशहरुको ज्ञानको पूर्वापेक्षा गर्दछ भने, सम्पूर्णको संज्ञान कसरी प्राप्त गर्न सकिन्छ ? यो विरोधाभाषको समाधान विश्लेषण तथा संश्लेषणको एकताको द्वन्द्वात्मक बोधमा आधारित छ। सम्पूर्ण र अंशहरुको संज्ञान सँगसँगै हुन्छ : अंशहरुलाई पृथक गरेर हामी तिनीहरुको सम्बद्ध सम्पूर्णका तत्वहरुको रुपमा अध्ययन गर्दछौं, जबकि तत्वहरुको संश्लेषणको फलस्वरुप सम्पूर्ण अंशहरुबाट बनेको द्वन्द्वात्मक संरचनाको रुपमा प्रकट हुन्छ।
३. अकाट्य (Apodictic) :– अन्तिम रुपमा सिद्ध, एउटा अवधारणा, जसको अर्थ सर्वथा प्रमाणित ज्ञान हो। एरिस्टोटलद्वारा प्रयुक्त शब्द, जुन नितान्त सत्य पूर्वाधारहरुबाट निगमित पूर्णतया आवश्यक प्रमाणको द्योतक हो। उनी हेत्वनुमानलाई अकाट्य ज्ञानको साधन मान्दथे। अकाट्य शब्द आवश्यकताका कथनहरुलाई सम्भावनाका कथनहरु तथा यथार्थका कथनहरुबाट अलग गर्नको लागि उपयोगमा ल्याइन्छ।
४. अकोस्टा, यूरियल (जन्म १८८५ – ९० को बीचमा, मृत्यु – १६४०) (Acosta, da Costa) :– डच दार्शनिक, तर्कबुद्धिवादी, उनको जन्म पोर्चुगलमा भएको थियो, कोइम्बा विश्वविद्यालयमा शिक्षा प्राप्त गरेका थिए। उनी सन् १६१४ मा भागेर हल्याण्ड गए। त्यहाँ इसाई धर्मलाई छोडेर यहूदी धर्म अंगीकार गरे। तर शीघ्र नै यहूदी धार्मिक सूत्रहरुको विरोध गर्न लागे र उनले फरीसिहरु (रब्बीहरु) लाई मूसाको धर्मसिद्धान्तलाई विकृत बनाएकोमा दोषी माने। सन् १६२३ मा उनले ‘मानवको नश्वर आत्मा’ शीर्षकको निबन्ध लेखे, जसमा उनले आत्माको अनश्वरता तथा चिहानभन्दा परको जीवनलाई अस्वीकार गरे। आफ्ना विचारहरुको लागि उनलाई दुईपटक (१६२३ र १६३३) सिनेगाग (यहूदी प्रार्थना भवन) बाट बहिष्कृत गरियो। रब्बीहरु र डच अधिकारीहरुले दुःख दिइरहेको कारण उनले आत्महत्या गरे। अकोस्टाको कृति ’मानवजीवनको उदाहरणमा प्रकृतिको नियमको त्यो विचार निहित छ, जुन मानौं मानिसहरुमा जन्मदेखि नै विद्यमान रहन्छ। यो नियमले मानिसहरुलाई पारस्परिक प्रेमद्वारा जोड्दछ तथा असल र खराबमा अन्तर गर्ने आधारको काम गर्दछ। अकोस्टाका विचारहरुको प्रभाव स्पीनोजामाथि परेको थियो।
५. अग्रिप्पा (Agrippa) :- (पहिलो–दोस्रो शताब्दी) – प्राचीन रोमन दार्शनिक, सबभन्दा पछिल्ला संशयवादका प्रतिनिधि। उनको जीवनको बारेमा केही पनि थाहा छैन। जगतको अज्ञेयताको बारेमा पाँच तर्क (ट्रोप) उनका हुन् भनिन्छ। अग्रिप्पाका ट्रोपले तर्कबुद्धिपरक संज्ञानका समस्याहरुलाई स्पर्श गर्दछन् र तिनीहरुमा द्वन्द्ववादका तत्वहरु छन्।
६. अचेतन (Unconscious) :– १) यस्तो क्रिया, जुन अचेतन रुपले, यन्त्रवत गरिन्छ, जब त्यसको कारण चेतनासम्म पुग्न सक्दैन (उदाहरणको लागि, प्रतिरक्षात्मक अनुक्रिया) अथवा जब चेतनाका ढोकाहरु प्राकृतिक वा कृत्रिम ढंगले बन्द हुन्छन् (निद्रा, सम्मोहन, नसा, निद्राभ्रमण, आदि)। २) सक्रिय मानसिक प्रक्रियाहरु, जसले यथार्थसँग व्यक्तिको चेतनसम्बन्धमा प्रत्यक्ष रुपले भाग लिंदैननन् र त्यसकारण स्वयं सम्बद्ध समयमा बोधगम्य हुँदैनन् (अवचेतन)। ३) अमार्क्सवादी दर्शन तथा मनोविज्ञानको साहित्यमा अचेतन अधिकांशतः मनको त्यो विशेष क्षेत्रलाई लक्षित गर्नको लागि उपयोगमा ल्याइन्छ, जसमा सहजवृत्तिहरु तथा चेतनाको लागि अवोधगम्य शाश्वत व्यवहार, उत्प्रेरक तथा आकांक्षाहरु विद्यमान छन्। अचेतनको यो धारणाको फ्रायडवादमा सर्वाधिक पूर्ण रुपले विकास भएको थियो।
यो सिद्धान्तानुसार मन तीन “तहहरु”बाट बन्दछ : अचेतन, अर्धचेतन र चेतन। अचेतन मनको गहिरो आधार हो, जसले मानिसको चेतन जीवन र मानिसहरु तथा सम्पूर्ण राष्ट्रहरुको भाग्यलाई समेत निर्धारित गर्दछ। आनन्द तथा मृत्युप्रति अचेतन व्यवहार (आक्रमकताको सहजवृत्ति) सम्पूर्ण संवेगहरु र अनुभवहरुको सार हो। अर्धचेतन (अथवा पूर्वचेतन) चेतन र अचेतनको बीचमा विशेष सीमावर्ती प्रदेश हो। यो क्षेत्रमा अचेतन इच्छाहरु वेगपूर्वक आउँछन् र यहाँ तिनीहरुले मानिसको सामाजिक जीवनमा उत्पन्न विशेष मानसिक विभागको, उसको पराअहं (अथवा अन्तःकरण) को तीव्र अवरोधक काटछाँटको सामना गर्नुपर्दछ। चेतना यथार्थ जगतसँग सम्पर्कबिन्दुमा मनको सतही अभिव्यक्ति हो र त्यो सबभन्दा पहिले अचेतन शक्तिहरुमाथि निर्भर हुन्छ। अचेतन हेर्बार्ट, शोपेनहार तथा अन्य आदर्शवादीहरुका सिद्धान्तहरुमा सम्पूर्ण सचेत क्रियाहरुको रहस्यवादी आधारहरुको रुपमा विद्यमान छ।
७. असल र खराब (Good and Evli) :– नीतिशास्त्रीय प्रवर्ग, जसले मानिसहरु (समूह, वर्ग) का आचरण र साथसाथै सामाजिक परिघटनाहरुको निश्चित वर्गस्थितिहरुबाट नैतिक मूल्यांकन व्यक्त गर्दछन्। असल त्यसलाई मानिन्छ, जसलाई समाजले नैतिक, अनुकरणयोग्य मान्दछ। त्यसको विपरीत खराब हो, अर्थात् त्यो, जसलाई समाजले अनैतिक, निन्दनीय मान्दछ। अधिभूतवादी व्याख्यामा यी दुई प्रवर्गहरुको विशेषता शाश्वत र अपरिवर्तनीय आधारहरुको खोज हो। आदर्शवादीहरुले यिनीहरुलाई ईश्वरीय इच्छा वा परमचित्तमा हेर्दछन्। कान्टको नीतिशास्त्रीय सिद्धान्तानुसार असल त्यो हो, जुन नैतिक नियमसँग मिल्दछ, जुन (नियम) प्रत्येक विवेकशील सत्तामा अन्तर्निहित हुन्छ र ती परिस्थितिहरुमा निर्भर हुँदैन, जसमा मानिस रहन्छ। माक्र्सभन्दा पहिलेका भौतिकवादीहरुले असल र खराबको स्रोत प्रायः मानिसको अमूर्त स्वभावमा आनन्दको उपयोग गर्ने र सुखी हुने उसको इच्छामा पाउँदथे। उनीहरुमध्ये ती मानिसहरुले पनि, जसले नैतिकतालाई मानिसको जीवन, शिक्षा–दीक्षाका परिस्थितिहरुसँग जोड्दथे, असल र खराबका अवधारणाहरुलाई शाश्वत तथा अपरिवर्तनीय घोषित गरे। वास्तवमा “अनैतिहासिक मानवस्वभाव”को तात्पर्य सदा नै सामाजिक रुपले प्रतिबन्धित गुणहरुसँग रहेको छ, जुन मानिसहरुका कैयौं ठूला समूहहरु वा वर्गहरुका प्रतिनिधिहरुको विशेषता रहेका छन्। त्यसकारण असल र खराबका परिभाषाहरुमा वास्तवमा प्रत्येक चिन्तकले यो वा त्यो वर्गको नैतिक स्थितिको पक्षपोषण गरेका थिए। वर्तमानकालीन बुर्जुवा नीतिशास्त्रको विशेषता यो छ कि उसले एकातिर पूँजीवादी समाजको आधिकारिक नैतिकतामा व्याप्त असल र खराब विषयक विचारहरुलाई शाश्वत र सार्वभौमिक रुपमा प्रस्तुत गर्ने प्रयत्न गर्दछ र अर्कोतिर, असल र खराबको वस्तुगत कसीलाई अस्वीकार गर्दछ।
मार्क्सवादी नीतिशास्त्रले असल र खराबका अवधारणाहरुको सबभन्दा पहिले वैज्ञानिक आधार प्रस्तुत गरेको थियो। “असल र खराबको सम्बन्धमा जाति र जातिको, युग र युगका विचारहरुमा अन्तर यति प्रबल रहेको छ कि तिनीहरु प्रायः परस्पर टकराउँछन्” (फ्रे. एंगेल्स)। तर ती अन्तरहरु स्वेच्छाचारिताको परिणाम होइनन्, तिनीहरु मानिसहरुको रायमा मात्र निर्भर हुँदैनन्। तिनीहरुका आधारहरु त समाजको जीवनका परिस्थितिहरुमा हुन्छन्, र त्यसैकारण तिनीहरुको वस्तुगत स्वरुप हुन्छ। मानिसहरुको क्रियाकलापको मूल्यांकन असल र खराबको रुपमा यो कुराअनुसार हुनुपर्दछ कि उनीहरु समग्र रुपमा समाजका ऐतिहासिक आवश्यकताहरुको, अर्थात् यी आवश्यकताहरुलाई व्यक्त गर्ने सम्बद्ध प्रगतिशिल वर्गका हितहरुको पूर्तिलाई बढावा दिन्छन् वा त्यसमा अबरोध पुर्याउँदछन्। नैतिकताको कम्युनिष्ट नियममा असल र खराबका अवधारणाहरु ठोस नैतिकतासम्बन्धी मागहरुद्वारा अभिव्यक्त हुन्छन्। ती मागहरुले मानिसहरुको यस्तो आचरणको अपेक्षा गर्दछन्, जसले श्रमजीवीहरुको शोषणबाट मुक्तिमा, समाजवाद तथा साम्यवादको निर्माणमा, शान्ति तथा सामाजिक प्रगतिको लक्ष्यमा सक्रिय सहायता दिन्छ।
८. अज्ञेयवाद (Agnosticism) :– एउटा मत, जसले जगतको संज्ञानको सम्भावनालाई पूर्ण रुपमा वा आंशिक रुपमा अस्वीकार गर्दछ। भी. आई. लेनिनले अज्ञेयवादका ज्ञानशास्त्रीय मूलहरुलाई प्रकाशमा ल्याउँदै यो बताएका थिए कि अज्ञेयवादीले मूल तत्वलाई त्यसको आभासबाट अलग गर्दछ, ऊ संवेदनहरुभन्दा अगाडि जाँदैन। अज्ञेयवादको सम्झौतावादी स्थितिले त्यसका समर्थकहरुलाई आदर्शवादमा पुर्याउँछ। अज्ञेयवाद यूनानी दर्शन (पिरो) मा संशयवादको रुपमा उत्पन्न भयो र त्यसलाई ह्यूम तथा कान्टको दर्शनमा शास्त्रीय रुपमा प्राप्त भयो। अज्ञेयवादको एउटा प्रकार चित्रलिपिहरुको सिद्धान्त हो। बुर्जुवा दर्शनमा नवप्रत्यक्षवाद र अस्तित्ववाद तथा अन्य धाराहरुका प्रतिनिधिहरुले जगत तथा मानिसलाई जान्न असम्भव छ भन्ने कुरा सिद्ध गर्ने प्रयत्न गर्दछन्। उनीहरुको अज्ञेयवाद विज्ञानलाई सीमित गर्ने, तार्किक चिन्तनको अस्वीकृति, प्रकृति र विशेषगरी समाजका वस्तुगत नियमहरुको ज्ञानको अस्वीकृतिको आधारमा सम्बर्धित हुन्छ।
व्यवहार, वैज्ञानिक प्रयोग तथा भौतिक उत्पादन अज्ञेयवादको सर्वोत्तम खण्डन हुन्। यदि मानिसहरुले यी वा ती परिघटनाहरुको ज्ञान प्राप्त गर्दछन् र सोचविचार गरेर तिनीहरुको पुनर्उत्पादन गर्दछन् भने, तब अज्ञेय “वस्तु–निजरुप” को लागि स्थान रहँदैन। तर संज्ञान एउटा जटिल प्रक्रिया हो र यस क्रममा उचित संशय उत्पन्न हुन सक्दछन्। यो पक्षको निरपेक्षीकरण केही आधुनिक विद्वानहरुको अज्ञेयवादको कारण हो।
(रमेश सुनुवार र नारायण गिरीद्वारा संकलित एवं अनुवादित पुस्तक दर्शन विश्वकोशबाट।)



लोकपाटी न्यूज

