कार्ल मार्क्सको त्यो कष्टकर जीवन

Karl Marx-5
लोकपाटी न्यूज

– लोकनारायण सुवेदी/विश्व प्रसिद्ध महान् कम्युनिस्ट दार्शनिक तथा सर्वहारा वर्गका मुक्तिका मार्गदर्शक कार्ल मार्क्सको सुप्रसिद्ध विश्व ग्रन्थ ‘दास क्यापिटल’ १८६७ मा प्रकाशित भएको हो। त्यसले बिस्तारै बिस्तारै फैलिँदै गएको विश्व समाजवादी आन्दोलनलाई निश्चय नै एउटा अत्यन्तै सबल धरातल र आधार प्रदान गर्‍यो।

त्यो प्रकाशन हुनु तीन–चार वर्षअघि मात्र ‘प्रथम अन्तर्राष्ट्रिय’को स्थापना भएको थियो। त्यसका विश्व शाखा–प्रशाखाले यस पुस्तकलाई लोकप्रिय बनाउन ठूलो मद्दत पुर्‍याए। यो पुस्तक मूलतः जर्मनी भाषामा लेखिएको भए पनि त्यसपछि विभिन्न देशका सक्रिय युवा समाजवादीहरू त्यो महत्त्वपूर्ण पुस्तकलाई आ–आफ्ना मुलुकमा अनुवाद गर्न तम्सिएका थिए। तत्कालीन रुसका समाजवादीहरुले यसको अनुवाद आफ्नो भाषामा गरे।

कार्ल मार्क्सका निमित्त यो सुखद आश्चर्यको कुरा नै थियो। यद्यपि मार्क्सले क्रान्तिकारी संघर्षको दृष्टिले रुसलाई विशेष महत्त्व दिएका थिएनन्, किनभने उनको विचारको निष्कर्ष के थियो भने सर्वप्रथम औद्योगिक देशहरुमा पहिला समाजवादी क्रान्ति हुनेछ। अनि, रुस मुख्यतः एक कृषिप्रधान देश थियो र त्यसलाई उनले क्रान्ति हुने वस्तुगत आधार विकसित भएको देशको रुपमा देखेका थिएनन्। तर कालान्तरमा रुस नै मार्क्सको सिद्धान्तको पहिलो सफल प्रयोगभूमि हुन पुग्यो। मार्क्सको सिद्धान्तका प्रथम प्रयोक्ता रुसी नेता लेनिनले साम्राज्यवादको सबैभन्दा कमजोर कडी भएको ठाउँमा क्रान्ति हुन सक्तछ र त्यो कडी टुट्न सक्तछ भन्ने निष्कर्ष निकालेर समाजवादी क्रान्ति एउटै देशमा पनि हुन सम्भव छ भन्ने तथ्यलाई व्यवहारमा देखाइदिए।

हुन त कार्ल मार्क्सले ‘दास क्यापिटल’को प्रकाशनपछि अर्को कुनै त्यस्तो ठूलो महत्त्वको उल्लेखनीय कृति लेख्न सकेनन्। पेरिस कम्युनको सम्बन्धमा लेखिएका लेखहरू प्रथम अन्तर्राष्ट्रियको बैठकलाई सम्बोधन गर्न तयार गरिएको दस्तावेज थियो। त्यसको केही समयपछि ‘क्रिटिक अफ गोथा प्रोग्राम’ अर्थात् ‘गोथा कार्यक्रमको आलोचना’को रूपमा एउटा सानो टिप्पणी आयो। तर सानो भए पनि त्यो टिप्पणी कार्ल मार्क्सका कृतिहरूमध्ये विशेष महत्त्वको रहेको छ। त्यतिञ्जेलसम्म जर्मनीमा मार्क्स र लासालका अनुयायी बेग्लाबेग्लै पार्टीमा संगठित थिए। गोथा भन्ने ठाउँमा ती दुई पार्टीको एकीकरण भयो र एकीकृत पार्टीले आफ्नो नयाँ राजनीतिक कार्यक्रम पनि प्रकाशमा ल्यायो। तर एक त, मार्क्सलाई लासाल पटक्कै मन पर्दैनथे। दोस्रो कुरा, त्यो गोथा कार्यक्रम अत्यन्त हावादारी छ भन्ने मार्क्सलाई लाग्यो। त्यस कार्यक्रमको उनले कडा आलोचना गरे।

तर, त्यस आलोचनाका बिचमा उनले पहिलोपटक भावी समाजको आफ्नो तस्बीर या रुपरेखा पनि प्रष्ट रूपमा अगाडि ल्याए। यद्यपि यसअघिसम्म कार्ल मार्क्स सामान्तः भावी समाजबारे कुरा गर्न इच्छुक रहँदैन थिए। तर, योपल्ट भने उनले सरल रूपमा भोलिको समाजवाद र साम्यवादसमेतको तस्बिर पेश गर्ने जमर्को गरे। साम्यवाद एक दिनमा आउँदैन। साम्यवादभन्दा पहिला समाजवाद आउँछ। त्यस समाजवादमा सबैले कामअनुसारको दाम पाउँछन्। योग्यताअनुसारको काम पाउँदछन्। विद्यमान श्रमको शोषण यस्तो चर्को हुँदैन। तर, त्यहाँ पनि योग्यताअनुसारको काम हुने भएपछि विभेद कायम रहने कुरा भयो। यद्यपि सबैलाई आ–आफ्नो प्रतिभाअनुसार योग्य बनाउने क्रमको काम पनि त्यसमा निरन्तर जारी रहन्छ। शोषण नै नहुनेचाहिँ होइन। आखिर त्यहाँ राज्य रहन्छ। राज्यका निकायहरूलाई श्रमको अतिरिक्त मूल्यबाट नै पोस्नुपर्ने हुन्छ।

त्यसैले समाजवादको उच्चतम विन्दुको संक्रमणबाट गुज्रेपछि मात्र साम्यवादमा पुगिन्छ। साम्यवाद एक सर्वोतोमुखी स्वतन्त्र व्यवस्था हुन्छ। त्यहाँ काम र श्रमको बन्देज हुँदैन। अथवा भनौँ काम र श्रमको तात्पर्यसमेत फेरिन्छ। काम, श्रम र आत्मोपलब्धि एकअर्काका पर्याय हुन्छन्। उत्पादन चरमोत्कर्षमा पुग्छ। खान–लाउन नपाउने कोही हुन्नन्। मानिसले आफूखुसी योग्यताअनुसारको काम गर्छ र आवश्यकताअनुसार पाउँदछ। उदाहरण्का लागि एउटै मानिसले एकसाथ विभिन्न काम गर्न पाउँदछ। तरकारी रोप्ने हुन सक्छ, दिउँसो माछा मार्ने, अपरान्हतिर ट्युसन पढाउने र बेलुका अभिनय गर्ने जस्ता अनेक काम गरेर आफूखुसी मानिसले उच्चस्तरीय वैज्ञानिक जीवन गर्न सक्छ। मार्क्सले साम्यवादी समाजको साँच्चै स्वर्ग जस्तै मनोहारी वर्णन गरेका छन्। भारतका प्रसिद्ध साहित्यकर्मी राहुल साङ्कृत्यायनले पनि ‘बाइसौँ शताव्दी’ त्यही मार्क्सको मान्यतामा आधारित भएर लेखेका हुन्।

गोथा कार्यक्रमको आलोचना लेखिसक्दासम्म मार्क्स अपेक्षाकृत चर्चित र प्रसिद्ध भइसकेका थिए। उनको आर्थिक अवस्था पनि केही सुध्रिएको थियो। मार्क्सकी सहधर्मीणी जेनीकी एक जना धनाढ्य नातेदारले गतिलो सम्पत्ति बकस दिएकी थिइन्। उता, एङ्गेल्स पनि अब बाबुको बन्देज हटेर आफै कारखानाका मालिक भएका थिए। अब मार्क्स र जेनी स्वभावैले पहिलाभन्दा केही राम्रो डेरामा समेत सरे। तर, उनीहरू दुवै समयमा खानाको अभाव, औषधि उपचारको अभाव आदिले गर्दा उमेर नपुग्दै बृद्ध भइसकेका थिए। रोगले गर्दा उनीहरूको बाँकी जीवन पनि सुख–शाान्तिका साथ बित्न पाएन।

अझ जेनीलाई त पछि गएर क्यान्सरले गाँज्यो। मार्क्सको पनि खटिराको रोग चर्किंदै गयो। यसप्रकार दुवै क्रान्तिकारी दम्पतिको दुःखको कुनै अन्त्य थिएन। यसै जीवन क्रममा सन् १८८१ मा जेनीको मृत्यु भयो। मार्क्सलाई थप चिन्ता थपियो। त्यसपछि उनी पनि धेरै बाँचेनन्। दुई वर्षपछि नै उनको पनि मार्च १८८३ मा निधन भयो। त्यतिबेला उनको मलामीमा मुस्किलले १०–१२ जना मानिस मात्र थिए भनिन्छ। उनको समाधिस्थलमा एङ्गेल्सले एउटा अत्यन्तै मार्मिक श्रद्धाञ्जली दिए। त्यसमा एङ्गेल्सले उनको तुलना विश्वप्रसिद्ध जीव वैज्ञानिक चार्ल्स डार्बिनसँग गरेका छन्। तर, मार्क्स सबैभन्दा उच्च क्रान्तिकारी हुन् भन्ने यथार्थ पनि त्यतिबेला फ्रेडरिक एङ्गेल्सले उल्लेख गर्न चुकेनन्।

दुर्भाग्यवशः कार्ल मार्क्सको मृत्युपछि उनको सिद्धान्त र उत्तराधिकारीलाई लिएर समाजवादी आन्दोलनमा ठूलो विभाजन भयो। उनको लेखनको शब्द शब्द केलाइए। यस्तो केलाइ उस्तो महत्त्वपूर्ण थिएन, महत्त्वपूर्ण उनको भावना थियो। भावनाको हकमा एङ्गेल्सले भनेकै थिए – उनी सर्वप्रथम र सर्वोपरि एक क्रान्तिकारी थिए। तदरूप क्रान्तिकारी परिस्थितिको विकासका साथ उनका आग्रह पनि तल–माथि हुन्थे। क्रान्तिकारीले कुनै रुढ सिद्धान्तलाई अजर–अमर मान्दैन। त्यसो त धर्म र अन्धविश्वासले मात्र गर्छ। कालान्तरमा कतिपय कम्युनिस्टहरूको आग्रहले गर्दा मार्क्सवादलाई झन्डै धर्मको रूपमा खडा गर्न पनि खोजियो। यद्यपि कार्ल मार्क्स इतिहासको विकासको साथ विचार र विश्लेषणमा परिष्कार ल्याउनुपर्छ भन्ने कुरामा विश्वस्त थिए। तर, उनका कतिपय कम्युनिस्ट अनुयायीहरूले त्यस्तो गरेनन्। सोसल डेमोक्र्याट्स पनि केही निश्चित सूत्रबाट बाँधिए। एउटा मतान्तर राख्नै नहुने किसिमको विचारधाराको साँघुरो भोटो बनाएर ती दुवै धारालाई हिँडाइयो।

अनि मार्क्सवादलाई केवल एउटा भौतिक विज्ञानको नियमसरह सूत्रबद्ध गर्ने एउटा प्रयत्न पनि भयो। जबकि यो गतिमान दर्शन, विचार, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यनीतिको समुच्च दृष्टिकोण र भौतिक स्थितिअनुरुप शतत् परिवर्तनको गतिमान समाज विज्ञानको अत्याधुनिक वैज्ञानिक विचार थियो। एकातिर यसलाई धार्मिक ग्रन्थजस्तो बनाउन खोजियो भने अर्कोतिर मार्क्सवादको क्रान्तिकारी सार तत्त्वलाई तिलाञ्जली नै दिइयो।

यी तमाम प्रयत्नहरु हुँदाहुदै पनि सौभाग्यवश यस्ता प्रयासका निमित्त कार्ल मार्क्सलाई कुनै दोष दिने ठाउँ भने किञ्चित पनि छैन। उनलाई एकपटक अनुयायीमार्फत् आफ्ना विचारलाई ‘मार्क्सवाद’ भन्ने गरेको थाहा भयो। तर उनले बेलैमा यसको जबर्जस्त प्रतिवाद गरेका थिए। उनले कुगल यान भन्ने एक मित्रलाई लेखेको एउटा पत्रमा स्पष्ट लेखेकै छन् कि ‘अरु जेसुकै होला म भने मार्क्सवादी होइन।’ यो मार्क्सको विनम्रता र आफू साधारण व्यक्तिजस्तै रहने उत्कट इच्छाको अभिव्यक्ति थियो र हो।

निश्चय पनि मार्क्स स्वयं ‘मार्क्सवादी’ थिएनन् र उनले त्यस्तो आग्रह राख्ने कुरा पनि थिएन। कुनै पनि व्यक्तिको नामका आधारमा वाद बनाउने कुरा सोच्दैन पनि थिए होला। तर विश्वलाई नयाँ दृष्टिबोध गराउने र संसारलाई हेर्ने, ब्याख्या गर्ने र फेर्ने त्यो महान विचार आज मार्क्सवादकै नाममा छ। त्यसमा मार्क्सका अनन्य मित्र एङ्गेल्सको पनि ठूलो र अतुलनीय योगदान छ। मार्क्सका धेरै अधुरा रहेका र अपूरा कृतिहरुलाई एङ्गेल्सले नै पूर्णता प्रदान गरेका हुन्। तर उनले कुनै तोडमोड गर्ने र एङ्गेल्सवाद चलाउने कुनै संकेतसम्म पनि गरेनन्। यो उनले मार्क्सबाटै सिकेको चिन्तन र चरित्र हो।

मार्क्सको व्यक्तित्वको एउटा गतिलो सुत्र उनकी छोरीले एकपटक उनलाई दिएको एउटा प्रश्नावली र त्यसमा मार्क्सले दिएको उत्तरबाट पनि मार्क्सको चिनारी हुन्छ। उनले त्यस प्रश्नावलीमा मार्क्सको व्यक्तित्वको चिनारीलाई प्रस्ट गर्ने कुराहरू सोधेकी थिइन्। त्यो प्रश्नावलीले मार्क्सको बानी–व्यहोरा, रूचि–अरूचिसमेतको दिग्दर्शन गराएको छ। तपाईंको जीवनको आदर्श वा प्रमुख मान्यता के हो ? मार्क्सको उत्तर थियो – ‘सबै थोकलाई प्रश्न गर !’ ग्रीक भाषाको लोकोक्तिमा उनले यो कुरा भनेका थिए। गौतम बुद्ध ‘अप्प दीपो भव’ भन्थे। यी दुवै कथनमा कुनै फरक देखिँदैन।

अफसोच, मार्क्सीय दृष्टिकोण र विचारलाई छोडेका तर उनको अनुयायी हुन दावी गरिरहेका कथित अनुयायीले मार्क्सको यस्तो प्रवोधनलाई पूरै ओझेलमा पारिदिएका छन्। मार्क्स र मार्क्सवादको विचार यात्रालाई सही किसिमले नबुझ्नु या बुझ पचाउनु यो नै आज मार्क्सका कथित उत्तराधिकारको सबैभन्दा ठूलो विडम्बना बनेको छ। यी कुराहरुलाई आत्मसात गर्दै महान् कार्ल मार्क्सप्रति शतत् नमन !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्