निगम सुधार्न प्रबन्ध निर्देशक पौडेलको यस्तो रणनीति

surendra-poudel01
लाेकपाटी न्यूज

काठमाडौं, १३ माघ । डिपोमा हुने चोरी, नोक्सानीलाई रोक्न आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले नयाँ कार्यशैली अपनाएका छन् । यसका लागि प्रबन्ध निर्देशक पौडेल केही दिनका लागि डिपोमै बसेर तेल वितरण गर्ने योजनामा छन् ।

उदयपुर सिमेन्टलाई नाफामा लैजान सफल पौडेल निगममा पहिलोपटक खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्त भएका हुन् । उनले निगमभित्रका बेथितिहरुलाई अन्त्य गर्ने बताउँदै आएका छन् । उनले सहज ढङ्गबाट तेल वितरण गर्न कर्मचारीहरुलाई निर्देशन दिइसकेका छन् । प्रबन्ध निर्देशक पौडेल डिपोमै बसेर काम गर्नुलाई एक कर्मचारीले पनि स्वभाविक मानेका छन् । उनी भन्छन्, ‘जहाँ बसे पनि उहाँले निगमको नै काम गर्ने हो । त्यसैले डिपोमा बसेर इन्धनको लोड–अनलोडिङलाई नियाल्नु पनि स्वाभाविक हो ।’

उता निर्देशक पौडेलले आफूले जसरी भएपनि निगमलाई सुधार गर्दै लाने बताउँछन् । उनले आफू अधिकारभित्रै रहेर निगमलाई सुधार गर्न तर्फ अघि सर्ने बताए ।

डिपोमा आइओसीबाट लोड भएका ट्यांकर समयमै नल्याई बीचबाटोमै रोक्ने, चालक र ढुवानी व्यवसायीसँग मिलेर तेल चोरी गर्ने, प्राविधिक नोक्सानीको तोकिएको दरभन्दा बढी लक्ष्य देखाइ अनियमिता गर्ने निगमका मूख्य समस्या हुन् । उनले यी समस्यालाई पनि समाधान गर्दै लैजाने उल्लेख गरे ।

निगममा पौडेल आएपछि कर्मचारीको शैलीलाई पनि नियन्त्रण गर्न थालेको एक कर्मचारीले बताए । उनका अनुसार खाजा खाने समयबाहेक अरुबेला कर्मचारीलाई गेटबाट बाहिर जानसमेत रोक लगाइएको छ ।

उनले बिदामा पनि कडाइ गरेका छन् । स्रोतका अनुसार विभिन्न बहाना बनाएर घर बिदामा बस्ने कर्मचारीहरु अहिले तह लागेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्