काठमाडौं। नेकपा एमालेले चार जना सांसदलाई कारबाही गरेको पत्र कर्णाली प्रदेशसभामा दर्ता गराएको छ। फ्लोर क्रस गरी मतदान गरेका कर्णालीका चार जना सांसदलाई कारबाही गरेको पत्र एमालेले प्रदेशसभामा दर्ता गराएको हो।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावको मतदानमा पार्टीको ह्वीप उल्लंघन गरी चार सांसदले फ्लोर क्रस गरेर मतदान गरेका थिए। फ्लोर क्रस गरेका चार सांसदलाई निष्काशन गरिएको पत्र संसदीय दलका नेता यमलाल कँडेलले आइतबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन्।
कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले भोलिको प्रदेशसभामा त्यो सूचनाबारे जानकारी गराइने बताए। ‘सांसदहरूलाई निष्काशन गरिएको पत्र सभाको सचिवालयमा दर्ता भएको छ। भोलि बस्ने प्रदेशसभाको बैठकमा त्यस सूचना जानकारी गराइनेछ,’ बुढाथोकीले भने।
पार्टीको ह्वीप उल्लंघन गर्नेहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा थिए। महाधिवेशन आयोजक कमिटीको १० वैशाखमा बसेको बैठकले पनि उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो।



लोकपाटी न्यूज
