सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका नेता यमलाल कँडेलको निवासमा बसेको संसदीय दलको बैठकले विपक्षमा मतदान गर्न ह्वीप लगाएको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए।
‘ह्वीप लगाउने निर्णय भएको छ,’ उनले भने, ‘संसदीय दलको बैठक जारी छ।’ अहिले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा शाहीले विश्वासको मत लिँदै छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि अल्पमतमा परेका शाहीले विश्वासको मत लिन लागेका हुन्।
प्रदेशसभामा ठूलो दलका रुपमा रहेको एमालेको २० सांसद छन् भने सत्तारुढ माओवादी केन्द्रको १२ सांसद छन्। प्रदेशसभामा नेपाली काँग्रेसका ६ र राप्रपाका एक सांसद छन्। राप्रपाले विश्वासको मतका सन्दर्भमा तटस्थ भूमिका निर्वाह गर्ने जनाइसकेको छ।



लोकपाटी न्यूज
