धादिङ, ८ माघ । गणेश हिमाल आरोहणको ६४ वर्षपछि ‘गणेश हिमाल आरोहण दिवस’ मनाउन लागिएको छ ।
गणेश हिमाल पर्यटन विकास समितिको आयोजनामा माघ १० गते आरोहण दिवस मनाउन लागिएको हो । गणेश हिमालमा कहिले र कसले पहिलो पटक आरोहण गरे भन्ने केही थाहा नहुँदा अहिलेसम्म आरोहण दिवस मनाउन सकेको थिएन ।
नेपाल पर्यटन बोर्डको सहयोगमा गणेश हिमाल पर्यटन विकास समितिले यसको खोज गरी सन् १९५५ जनवरी २४ मा पहिलो पटक गणेश हिमाल आरोहण गरेको तथ्य पत्ता लगाएको गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिए । सन् १९५५ जनवरी २४ मा स्वीजरल्याण्डका ४ जनाको पर्यटकको टोलीले उक्त हिमालको पहिलो पटक आरोहण गरेको हो । जसमा रेमंड लम्बर्ट, पियरे भिट्टाज, एरिक गौचर र क्लाउड कोगनले पहिलो पटक आरोहण गरेका थिए ।
स्थानीय भाषामा यांग्रा भनेर चिनिने गणेश हिमालको उचाई ७ हजार ४ सय २२ मिटर रहेको छ । पर्वतीय पर्यटनलाई प्रर्वद्धन गर्नको लागि गणेश हिमाल आरोहण दिवस कार्यक्रमको आयोजना गरिएको गुरुङले बताए । उनका अनुसार कार्यक्रममा संघिय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमूख आतिथ्यता रहने छ भने धादिङ जिल्लाका संघीय संसद र प्रदेश संसदको साथै पूर्व गृहमन्त्री बुद्धिमान तामाङ, पूर्व पर्यटन राज्यमन्त्री पर्शुराम तामाङसँगै जिल्लाको १३ वटै स्थानीय तहका प्रमूखहरुको उपस्थिति रहने छ ।
कार्यक्रममा स्थानीय संस्कृति रितिरिवाज झल्कने खालको प्रस्तुति रहने छ भने गणेश हिमालसँग सम्बन्धित विषय वस्तु राखिनेछ । १ देखि ६ वटासम्म रहेको गणेश हिमाल धादिङ जिल्लाको एक महत्वपूर्ण पर्वतीय पर्यटन गन्तव्य हो ।



लाेकपाटी न्यूज

