कर्णाली प्रदेशका तीन मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

Karnali_3_Minister
लोकपाटी न्यूज

सुर्खेत। कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज (मंगलबार) संयुक्तरुपमा राजीनामा दिएका छन्। माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन्।

उनीहरु नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन्। राजीनामा दिएपछि उनीहरूले सर्वोच्चको फैसलापछि बदलिँदो परिस्थितिमा आफूहरूले पार्टीको निर्णय मानेको बताए। प्रमुख सत्ता साझेदार नेकपा (एमाले)का तीन जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ।

तीनजना मन्त्रीले पार्टी निर्देशनअनुसार संयुक्तरुपमा राजीनामा घोषणा गरेका हुन्। मंगलबार मुख्यमन्त्री शाहीलाई राजीनामा बुझाएपछि उनीहरूले मन्त्रीका हैसियतले पाएको सेवा सुविधा पनि त्यागेका छन्। गाडी पनि बुझाएपछि अहिले केहीबेरमा बस्न लागेको एमाले संसदीय दल बैठकमा पनि उनीहरू मुख्यमन्त्री कार्यालयबाट पैदल गएका छन्।

यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर माधव नेपाल समूहका सांसदहरुले आफूहरुले समर्थन फिर्ता नलिएको बताउँदै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्