काठमाडौं । प्रहरीको प्रमुख काम शान्ति सुरक्षा गर्नु हो । शान्ति सुरक्षासँगै प्रहरी मानव सेवामा पनि जुटेको छ । काठमाडौं उपत्यकाभित्र मन्दिर, पाटी र सडकमै रात विताउदै आएका असहायलाई जाडोबाट बचाउन नेपाल प्रहरीले उद्धार गरेर आश्रमसम्म पुर्याउने कामलाई तीव्रता दिएको छ ।
सडकमा बेवारिसे अवस्थामा बस्ने नागरिकको जीवन रक्षा गर्न प्रहरीले उपत्यकाभित्र अभियानकै रुपमा बृद्धबृद्धा र बालबालिकाको उद्धार गरेर आश्रमसम्म पुर्याउँदै आएको छ । राजधानीमा रहेका मानव सेवा आश्रमसँगको समन्वय गरेर प्रहरीले रातको समयमा सडकमा रहेका बेवारिसे र असहायलाई उद्धार गर्ने कार्यलाई तीन सातादेखि निरन्तरता दिएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले असहाय नागरिकको जीवन रक्षा गर्नका लागि उद्धार गरेर आश्रम लैजाने अभियान सञ्चालन गरिएको बताए । उनले भने, ‘जाडोको समयमा मात्र होइन, यो अभियानलाई निरन्तरता दिएर सकेसम्म सडकलाई असहाय नागरिकबिहीन वातावरण सिर्जना गर्छौ ।’
काठमाडौं, ललितपुर र भक्तपुरमा तीन सातादेखि रातिको समयमा असहायको उद्धार गर्ने अभियान हुँदै आएको छ । प्रमुख थापाले भने, ‘उपत्यकाको तीनवटै जिल्लामा रातीको समयमा असहायको खोजी गर्दै उद्धार गरेर आश्रमसम्म पुर्याएका छौं ।’
महानगरी प्रहरी कार्यालयले सञ्चालन गरेको अभियान अन्तर्गत काठमाडौंमा १ सय १७, भक्तपुरमा ३४ र ललितपुरमा ७ जना असहायको उद्धार गरिएको छ । प्रहरीले दुई महिनाको बालिकादेखि ९० वर्षको बृद्धाबृद्धासम्मलाई उद्धार गरेको छ ।
उद्धार गरिएकालाई सधैका लागि बस्न पाउने गरी आश्रमले लिने गरेको बताउँदै डिआईजी थापाले उद्धार गरिएका असहायको जीवन रक्षासँग बसोबासको दीगो व्यवस्थापन समेत भएको बताए ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्र धानुकले ललितपुर जिल्लाभर अहिलेसम्म ७ जना असहायको उद्धार गरेर मानव सेवा आश्रम हात्तिबनमा पठाइएको बताए । उनले भने, ‘असहायहरुलाई कठाङग्रिदो जाडोबाट बचाउने अभियान निरन्तर रुपमा चलाइरहेका छौं ।’
प्रहरीले सडकबाट उद्धार गरेका असाहयलाई हिमालय बृद्धाश्रम, वरिष्ठ नागरिक समाज लैनचौर, मानव सेवा आश्रम बुढानिकण्ठ, मानव कल्याण समाज (सेवा घर) खरिपाटीमा राखिएको छ । उद्धार गरिकालाई आश्रमहरुले खान बस्नेको व्यवस्थापन गर्ने गरेको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सह–सचिव वीरबहादुर राईले सडकमा अलपत्र अवस्थामा रहेका असहायको उद्धार गर्नका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताए ।
उनले भने, ‘सडकमा रहेका असहायको उद्धार र व्यवस्थापनमा मन्त्रालयले नीतिगत योजना बनाएर नै काम गरिरहेको छ ।’ उपत्यका भित्रका मन्दिर, पार्टी लगायतको स्थानलाई नै असहायले आफ्नो आश्रम बनाउँदै आएका छन् ।



लाेकपाटी न्यूज

