तामाङ समाज युएईले फेब्रुअरी ८ मा सोनाम ल्होछार मनाउने

Tamang society
लाेकपाटी न्यूज

अनिश तामाङ/युएई । तामाङहरुको सामाजिक संस्था ‘तामाङ समाज युएई’ले आगामी फेब्रअरी ८ तारिखमा ‘तामाङ समाज युएईको शान, तामाङ सांस्कृतिक तामाङ पहिचान’ भन्ने मुल नाराको साथ सोनाम ल्होछार २८५५ फाग ल्होको उपलक्ष्यमा सेलो विशेष ल्होछार साँझ-२०१९ आयोजना गर्ने भएको छ ।

एकात्मकवादी राज्य सत्ताबाट सधैं पछाडि छायाँमा पारिएका तामाङहरुको आफ्नो सामाजिक, सांस्कृतिक एवं धार्मिक पक्षहरुलाई संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले सन् २००५ सालमा छत्र लामाको अध्यक्षतामा स्थापना भएको तामाङ समाज युएईले स्थापनाकालदेखि नै विभिन्न रुपले आफ्नो समुदायको लागि ठूलो योगदान दिँदै आइरहेका छन् ।

तामाङहरुको राष्ट्रिय पर्व सोनाम ल्होछार जस्ता चाडहरुमा सांस्कृतिक कार्यक्रम गर्ने, शिक्षाको कारणले पछाडि परेका समुदायलाई माथि उठाउने हेतुले प्रत्येक वर्ष शिक्षाको लागि सहयोगार्थ एस.एम.एस धमाका(सपोर्ट माइ स्कुल) च्यारिटि शोमार्फत उठेका रकम तामाङ बहुलियता भएको दुर्गम गाउँ बस्तीका विद्यालयहरुमा आर्थिक सहयोग गर्ने जस्ता विभिन्न सामाजिक कामहरु गर्दै आएका छन् ।

गत वर्षको एसएमएस धमाका-२०१८ कार्यक्रममा उठेको रकम नुवाकोट जिल्ला मेघाङ-४ स्थित श्री भुमेदेवी माविलाई शैक्षिक सहयोग गरेका छन् भने मृगौला पीडित अमित तामाङलाई उपचारका लागि आर्थिक सहयोग गरेको तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले जानकारी दिएका छन् ।

त्यस्तै तामाङहरुको मौलिक धर्म संस्कृति नै समुदायको पहिचान भएकाले तामाङ समाज युएईले प्रत्येक वर्ष ल्होछार कार्यक्रम आयोजना गरि रोजगारीको शिलशिलामा सात समुन्द्र पारी युएईमा रहेका मेचीदेखि महाकालीसम्मका तामाङ समुदाय र ल्होछार प्रेमीहरुलाई आफ्नो संस्कृतिको झ-झल्को दिँदै आइरहेका छन् ।

मध्यपूर्वको विकसित राष्ट्र युएईको विकसित शहर दुवईस्थित कार्ल्टन टावरमा दिउँसो दुई बजे सुरु हुने उक्त कार्यक्रमका लागि तामाङ कलाकार संघका अध्यक्ष एवं सेलो गायक सन्जिव वाइबा अतिथि कलाकारको रुपमा उक्त कार्यक्रममा सहभागी रहनेछ भने साथमा प्रवासी कलाकारहरुको समेत जोडदार प्रस्तुती रहने कार्यक्रम संयोजक भिम दोङ तामाङले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्